महिला भलिबलमा विभागीय टोलीको वर्चस्व

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

बेनीमा जारी महिला भलिबल खेलमा शुक्रबार नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ र बागमती प्रदेशले जित निकालेका छन् । खुलामञ्चमा भएको खेलमा विभागीय टोलीले प्रभाव जमाएका छन् । समूह ‘ए’को खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५–६ जितेको एपिएफले दोस्रो सेटमा २५–२ को सहज जित निकाल्यो । निर्णायक तेस्रो सेटमा एपिएफ २५–७ ले विजयी भयो । 

दोस्रो खेलमा समूह ‘बी’मा बागमती प्रदेशले १ नम्बर प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेटमा २५–७ ले जितेको बागमतीले दोस्रो सेटमा २५–१२ को जित निकाल्दा तेस्रो खेल २५–१२ ले जित्यो । महिलातर्फको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेटमा २५–११ को जित निकाल्यो । सहज जित निकाल्ने क्रममा तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो । समूह ‘सी’मा दुई टोली रहँदा पराजित बाबजुद लुम्बिनी उपविजेता र विजेता पुलिस शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

पुरुषतर्फ गण्डकी समूह विजेता
पुरुष भलिबलको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । पोखरा रंगशालापरिसरको कोर्टमा साबिक विजेता पुलिसले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ को सोझो सेटमा पराजित गर्यो । दोस्रो खेलमा बागमतीमाथि ३–१ को सेटमा जित निकाल्दै समूह ‘डी’मा गण्डकी विजेता बनेको छ । गण्डकीले पहिलो सेट २५–२० ले जित्दा दोस्रो सेट १५–२५ ले बागमतीलाई सुम्पियो । तेस्रो र चौथो सेटमा भने गण्डकी क्रमशः २५–१८ र २५–१४ ले विजयी भयो । 

सुझावित समाचार