नवौँ राष्ट्रिय खेलकुदमा कमजोर व्यवस्थापन

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

गण्डकी प्रदेशमा शुक्रबारदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । औपचारिक रूपमा उद्घाटनअघि नै सात प्रदेश, एक एनआरएन तथा तीन विभागीय टोलीका खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उद्घाटनअघि नै आयोजकको कमजोर व्यवस्थापन बाहिरिएको छ । प्रदेशबाट सहभागी हुन आएका खेलाडीहरूको जर्सीदेखि प्रशिक्षणसम्म उचित व्यवस्थापन खासै भएको देखिँदैन ।

 हातले लेखेको जर्सी नम्बर
मधेस प्रदेशबाट प्रतिनिधित्व गरेको ह्यान्डबलका खेलाडीहरूको जर्सी नम्बर हातले लेखिएको थियो । खेलअघि आयोजकबाट प्राप्त जर्सी लगाएर खेलाडीले प्रतिस्पर्धा गर्छन् । तर, प्रदेश ह्यान्डबलका खेलाडीले लगाएको जर्सीमा नम्बर नै थिएन । सामान्य साइनपेनले लेखेको नम्बर लगाएर नै प्रतिस्पर्धा भयो । यसैगरी, आयोजकले खेलअगाडि खेलाडीलाई एकै रङको जर्सी दिलाउँदा समस्या नै पर्यो । 

 दुवै टोलीको एकै रङको जर्सी
मैदानमा टिम इभेन्ट खेलमा दुई समूहबीच प्रतिस्पर्धा भइरहँदा फरक–फरक जर्सी हुनुपर्छ । एकै रङको जर्सीमा खेल्दा खेलाडी एकआपसमा अलमलिन सक्छन् । यसै कारणले हरेक प्रतियोगिताका आयोजकले खेलाडीहरूलाई फरक रङको जर्सी दिइने प्रावधान छ । नवौँ राष्ट्रिय खेलकुदमा बुधबार यस्तो भएन । दुवै टोलीले एकै रङको जर्सी लगाएर कोर्टमा उत्रिएका थिए । उनीहरूले फरक रङको बिब्स लगाए । 

सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदै छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्री पाएनन् ।

 हक्की मैदानको माटो बल्ल सम्याइँदै
पुरुष हक्की खेल तत्काल हुन सक्ने अवस्था छैन । हक्कीको खेलस्थल नै तयार नहुँदा खेलाडी प्रतिस्पर्धा गर्न अन्योलमा परेका छन् । ह्याम्जास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुने भनिएको छ । तर, मैदानको अवस्थाअनुसार खेल गराउने सम्भावनै देखिएन । प्रतियोगिताको उद्घाटन एक दिन मात्र बाँकी रहँदा हक्की खेल सञ्चालन गर्न मैदानमा कर्मचारीहरूले घाँस काटिरहेका थिए । घाँस घाट्ने मेसिन अनाचक बिग्रिएका कारण कर्मचारीहरूले नै काटिरहेका थिए । परिषद्को स्रोतअनुसार तत्कालका लागि मैदानमा घाँस काट्ने र मैदान सामान्य सम्याएर प्रतिस्पर्धा गराउने तयारीमा आयोजक लागेको छ । 

 बन्द प्रशिक्षणविनै खेल्दै 
कञ्चनपुरबाट विभिन्न खेलमा खेलाडीहरू सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागिता जनाउन सहभागी खेलाडीले छनोट चरण पार गरेका छन् । अन्तिम चरणको तयारीका लागि राखेपले बन्द प्रशिक्षणको बन्दोबस्त गरेको थियो । तर, कतिपय खेलका खेलाडी बन्द प्रशिक्षणमै सहभागी नभई प्रतिस्पर्धा गर्न लागेका छन् । रमाइलो पक्ष के रह्यो भने कञ्चनपुरका विभिन्न खेलका पदाधिकारी भने खेलाडीभन्दा अघि नै पोखरा पुगेका छन् । ‘बन्द प्रशिक्षणविना राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको यो पहिलोपटक हो,’ एक पदाधिकारीले भने, ‘जिल्ला छनोटपछि प्रदेशस्तरीय बन्द प्रशिक्षण राख्ने विषयमा सुदूरपश्चिम प्रदेश मौन रह्यो । खेलाडी नियमित प्रशिक्षणबाट राष्ट्रियका लागि गण्डकी प्रदेशतर्फ गइरहेका छन् ।’

कतिपय जिल्ला छनोटमा सहभागी प्रशिक्षक र रेफ्रीले पाउनुपर्ने दैनिक भत्तासमेत नपाएको उनले बताए । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले खेलकुदको समग्र जिम्मेवारी प्रदेश खेलकुद परिषद्लाई दिएको छ । मन्त्रालयबाट नवौँ राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि खटिएका नायब सुब्बा डम्बर रावलले प्रदेश सरकारबाट रकम निकासामा ढिलाइ हुनु र दसैँका कारण प्रदेशको बन्द प्रशिक्षण हुन नसकेको जनाए । ‘प्रदेश खेलकुद परिषद्ले एक महिना बन्द प्रशिक्षण गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो,’ उनले भने, ‘जिल्ला छनोट समयमा भए पनि प्रदेशबाट रकम निकासा ढिलो हुँदा व्यवस्थापनमा समस्या आएको हो ।’ सुदूरपश्चिम प्रदेश सरकारले खेलकुदका लागि चार करोड ९० लाख र राष्ट्रिय खेलकुद परिषद्ले ४९ लाख रकम निकासा गरेको छ । 

 नेपाल प्रहरी सेमिफाइनलमा 
महिला क्रिकेटको समूह ‘बी’मा चार अंकसहित नेपाल प्रहरी सेमिफाइनल प्रवेश गरेको छ । पोखरास्थित क्रिकेट रंगशालामा पुलिसले प्रदेश १ लाई एक सय १८ रनको विशाल अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको पुलिसले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो । पुलिसकी सम्झना खड्काले ४३ बलमा १० चौका प्रहार गर्दै ६० रन बनाइन् । कविता कुँवरले ३७ रन बनाउँदा काजोल श्रेष्ठले ६ रन बनाइन् ।

पुलिसकी कप्तान रुविना क्षेत्रीले १६ रन र अप्सरी बेगमले २१ रनको योगदान दिए । प्रदेश १ ले २० ओभरमा आठ विकेटको क्षतिमा ४० रन मात्र बनायो । अर्को खेलमा लुम्बिनीले कर्णालीलाई एक सय चार रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिला ब्याटिङ गरेको लुम्बिनीले पूरा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन जोडेको थियो । १ सय २८ रनको लक्ष्यसहित मैदानमा उत्रेको कर्णाली ८.३ ओभरमै सबै विकेट गुमाउँदा मात्र २३ रनमा समेटिन पुगेको थियो । 

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाइन् । सरस्वती घर्तीमगरले २० तथा सुस्मिता बजगाईं र आश्मा पुलामीमगरले समान १२ रनको योगदान गरे । कर्णालीका लागि अन्जु गुरुङले दुई तथा एन्जिला क्षेत्रीले एक विकेट लिइन् । कर्णाली ८.३ ओभरमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । कर्णालीका किरण कुँवरले पाँच रन, बिना थापाले चार, यमुना थारू र नितिका धमलाले समान दुई रन बनाए ।

 बागमतीले जित्यो दुई स्वर्ण
बागमती प्रदेशले फेन्सिङ खेलमा थप दुई स्वर्ण हात पारेको छ । बागमतीले अहिलेसम्म फेन्सिङमा चार स्वर्णसहित पदक तालिकामा शीर्ष स्थानमा कब्जा जमाएको छ । बुधबार भएको पुरुष टिम फ्वइलतर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण हात पार्यो । सुदूरपश्चिम र प्रदेश १ ले कांस्य पदक प्राप्त गरे । महिलाको सेवर टिम इभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई चार पुर्याएको हो । 

बागमतीले सेनालाई ४५–३५ अंकले हरायो । एपिएफ र प्रदेश १ ले कांस्य पदक प्राप्त गरे । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फको प्रतिस्पर्धामा सेनाले स्वर्ण हात पार्यो । सेनाले एपिएफलाई ४५–४० ले पराजित गरेको हो । तेस्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रहे । 

 गण्डकीको तेस्रो जित
पुरुष ह्यान्डबलमा गण्डकीले तेस्रो जित निकालेको छ । गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण तीन अंक बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्यान्डबल खेलमा बागमतीले जित निकालेको छ । जितसँगै बागमतीले महत्वपूर्ण तीन अंक हात पारेको छ । मधेसकी सुजाता सिंहले सर्वाधिक चार गोल गरिन् ।

सुझावित समाचार