नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा तीन करोड खर्च हुने भएको छ । दोस्रोपटक गण्डकी प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता २८ असोजमा उद्घाटन हुनेछ । उद्घाटनअघि नै विभिन्न खेल सुरु भइसकेका छन् । लगभग चार दशकअघि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर पाउँदा पोखराले उद्घाटन समारोहलाई भव्य बनाउने समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले बताएका छन् ।
खेलकुद प्रतियोगिताको उद्घाटन र समापन समारोह सबै स्थानमा भव्य हुने कुँवरले बताए । ‘हामीले उद्घाटन र समापन समारोह भव्य बनाउँछौँ, यसकारण खर्च बढ्ने सम्भावना छ,’ कुँवरले भने । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने योजना बनाएको छ । तर, राष्ट्रपति भण्डारी कोरोना संक्रमित भएका कारण उद्घाटनमा उनी उपस्थित हुने वा नहुने अन्योल छ । राष्ट्रपति भण्डारी मंगलबार मात्रै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।
‘स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति उद्घाटन समारोहमा आउने वा नआउने जानकारी प्राप्त भएको छैन,’ संयोजक कुँवरले भने, ‘यस सम्बन्धमा अन्तिम निर्णय बुधबार (आज) हुनेछ ।’ मुख्य आयोजना स्थल पोखरा रंगशालालाई सिँगारिएको छ । उद्घाटनमा सहभागी हुने सेना, प्रहरी, विद्यार्थीसँगै अन्य टोलीले रंगशाला परिसरमा विभिन्न अभ्यास गरिरहेका छन् ।
यस्तो हुनेछ उद्घाटन समारोह
पोखरा रंगशालामा २८ असोजमा उद्घाटन समारोह अपराह्न ४ बजेदेखि हुनेछ । यो साढे दुई घन्टासम्म चल्नेछ । सुरुमा तीन सयजना नेपाली सेनाले मार्चपास गर्नेछन् । त्यसपछि सलामी अर्पण कार्यक्रम हुनेछ । त्यसपछि २० जना सेनाको एक टुकडीले हुड्केली नाच प्रस्तुत गर्नेछ । नेपाली सेनाका १८ जना महिलाको टोलीले खेलकुदका संघ, प्रदेश, विभागको झन्डासहित मार्चपास्ट गर्नेछन् । त्यसपछि १२ विभिन्न संघसंस्थाका झाँकी प्रदर्शन हुनेछ । शिव परियार र रोजिना रिमालले ४० जनाको समूहमा गीत प्रस्तुति दिनेछन् । चार सय विद्यार्थीको तीन समूहले फरक–फरक गीतमा नृत्य गर्नेछन् । प्रतियोगिताको उद्घाटन समारोह सकेपछि आतसबाजी गरिने संयोजक कुँवरले जानकारी दिए । उद्घाटनमा लाइटिङ र साउन्ड सिस्टमका लागि ६० लाख खर्च हुनेछ ।
खेलस्थल व्यवस्थापनमा एक करोड
प्रतियोगिताका लागि सुरुमा ९० करोडको खर्च अनुमान गरिएको थियो । अहिले ६० करोडको हाराहारीमा बजेट निकासा भएको छ । कुल बजेटमध्ये प्रतियोगिता आयोजनाका लागि महत्वपूर्ण मानिएको खेलस्थल व्यवस्थापनमा एक करोड विनियोजन गरिएको छ । प्रति एक खेलस्थलले दुई लाख ७७ हजार रुपैयाँ बजेट पाउनेछन् । राखेपका बोर्ड सदस्यसमेत रहेका राजेश गुरुङले खेलस्थलका लागि विनियोजन भएको रकम के–कसरी खर्च भयो भन्नेमा अनभिज्ञता जनाए । ‘खेलस्थलका लागि एक करोड विनियोजन भएको छ, यो कसरी खर्च भयो, केही जानकारी छैन,’ गुरुङले भने, ‘समितिका लागि विनियोजन भएको रकम समितिमार्फत खर्च हुनुपर्ने हो, तर रकम कता, कति खर्च भयो, त्यसबारे मलाई जानकारी छैन ।’ उनले प्रतियोगिताका लागि भएको खर्चसम्बन्धमा केन्द्रबाट जानकारी लिने बताए ।
थपिएनन् खेल पूर्वाधार
०७६ सालमा आठौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियो । गण्डकीले निर्धारित समयअनुसार दुई वर्षभित्र प्रतियोगिता आयोजना गर्नुपर्ने थियो । तर, कारोनाका कारण गण्डकीले निर्धारित समयमा प्रतियोगिता गर्न सकेन । गण्डकीले प्रतियोगिता आयोजना गर्न अवसर पाए पनि आवश्यक खेल पूर्वाधार निर्माणमा खासै ध्यान दिएन । गण्डकीले कुनै नयाँ खेल पूर्वाधार तयार गरेको छैन । पुरानै पूर्वाधारमा प्रतियोगिता हुँदै छ । राखेपले गण्डकीका ११ वटै जिल्लामा कम्तीमा पनि एक–एक खेल आयोजना घोषणा गरेको थियो । पछि आठ जिल्लामा मात्र प्रतियोगिता हुने भनियो । पोखरामा हुने २९ मध्ये १५ खेल पोखरा रंगशालामा हुनेछ ।
फेन्सिङमा तीन स्वर्णको छिनोफानो
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार फेन्सिङमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ । एकल सेवरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला फोयलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक हात पारेका छन् । सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत जितेका छन् । महिलातर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँमा रजत जितेकी थिइन् । पुरुषतर्फका इपीमा स्वर्ण जित्ने सिंहले आठौँमा स्वर्ण पदक हात पारेका थिए । इपीमा आर्मीका राम थापाले रजत पदक जिते । फेन्सिङको पदक तालिकामा आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, तीन रजत र चार कांस्य हात पारेको छ । बागमतीले दुई स्वर्ण, एक रजत र एक कांस्य जितेको छ । एपिएफले एक स्वर्ण, दुई रजत र ६ कांस्य हात पार्यो ।
एपिएफ र सुदूरपश्चिम विजयी
महिला क्रिकेटअन्तर्गत मंगबार एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । एपिएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको बागमतीले २० ओभरमा सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । एपिएफले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमले घरेलु टोली गण्डकीलाई ६ विकेटले पराजित गर्यो । गण्डकीले २० ओभरमा पाँच विकेटको क्षतिमा ५९ रनको झिनो योगफल तयार पार्यो । सुदूरपश्चिमले १०.२ ओभरमा चार विकेट गुमाउँदै ६० रन जोड्यो ।