लक्ष्मण थारूको उम्मेदवारी रद्द

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारूको उम्मेदवारी रद्द भएको छ। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतबाट थारू दोषी ठहर भएकोले उनको उम्मेदवारी रद्द गरिएको कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले जानकारी दिए।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरेको छ वर्षसम्म प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नपाउने निर्वाचन ऐनमा भएको व्यवस्था रहेको तर थारूले कैद भुक्तान पनि नगरेकोले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

थरूहट आन्दोलनका क्रममा २०७२ भदौमा आठ प्रहरी र एक नाबालकको ज्यान गएको घटनामा जिल्ला र उच्च अदालतले थारूलाई दोषी ठहर गरेको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाकाचोरीसम्बन्धी मुद्दामा आजीवन कारावासको सजाय पाएका चौधरी फरार छन्। उनले कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने मुद्दामा थप पाँच वर्ष कैद सजाय हुने फैसला उच्च अदालत दिपायलले पुस, २०७७ मा गरेको थियो।

घटनापछि फरार रहेका चौधरीले वारेसनामामार्फत उम्मेदवारी दिएका थिए। आजीवन कारावासको सजाय पाएका व्यक्तिको उम्मेदवारी खारेज हुनुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। क्षेत्र नम्बर ५ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र नेकपा एमालेका नारदमुनि राना उम्मेदवार छन्।  
 

सुझावित समाचार