टाँगियाबस्तीमा ४० वर्षपछि बल्यो बत्ती

आइतबार, ९ असोज, २०७९
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र बाराको टाँगियाबस्तीमा आजबाट बिजुली बत्ती बलेको छ । ४० वर्षदेखि जंगलमाझ रहेको बस्तीमा विद्युतीकरण कार्य सम्पन्नपश्चात् बत्ती बालिएको हो ।

निवर्तमान संघीय सांसद रामबाबुप्रसाद यादवले एक कार्यक्रमबीच स्विच थिचेर बत्ती बालेका थिए । नेपाल सरकार, विद्युत् प्राधिकरण, प्रदेश सरकार, स्थानीय सरकारको सहयोगमा करिब दुई करोड ६५ लाखको लागतमा विद्युतीकरण कार्य सम्पन्न भएको हो ।

एक हजार चार सय ७६ घरधुरी रहेको टाँगियाबस्तीमा नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेसँगै ४० वर्षदेखि कुनै पनि विकास निर्माणका कार्य हुन सकेका थिएनन् । 

भर्खरै मात्र सर्वोच्च अदालतको आदेशअनुसार विज्ञ समूहले प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनले टाँगियाबस्तीलगायत १७ सय हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउन सुझाव दिएको एक हप्तापछि नै सोही क्षेत्रमा विद्युतीकरण हुनुलाई केहीले अर्थपूर्ण रूपमा हेरेका छन् । ‘ढुंगेयुगबाट आज बल्ल मानव युगमा प्रवेश गरेको महसुस गरेका छौँ,’ टाँगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले भने, ‘४० वर्षदेखि लडेको फल आज प्राप्त भएको छ । हामी धेरै खुसी भएका छौँ ।’

विद्युतीकरणले स्थानीयसँगै यहाँ विमानस्थल निर्माणका लागि आवश्यक साइट अफिसलगायत पूर्वाधार निर्माणमा समेत सहजता थपेको छ । यसैगरी, सांसद यादवले टाँगियाबस्तीमा अब विकासको सुरुवात भएको बताए । ‘निकै संघर्षबीच बिजुली बाल्न सफल भयौँ,’ सोही क्षेत्रका संघीय निवर्तमान सांसद यादवले भने ।

सुझावित समाचार