सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलको सहयोगमा नेपालले महिला साफ च्याम्पियनसिप २०२२ को पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सहज जितसँगै नेपालले समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने बलियो सम्भावना बनाएको छ । नेपालले दोस्रो खेल २७ भदौमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । अचानक मंगलबार साँझ परेको पानीले रंगशालामा पानी जमेको थियो ।
भारी वर्षाबीच नै नेपाल र भुटानबीच खेल सुरु भयो । मैदानमा पानी भएका कारण दुवै टोलीका खेलाडीले स्वाभाविक प्रदर्शन गर्न सकेनन् । भुटानले नेपालविरुद्ध गोलका लागि निकै प्रयास गर्यो । नेपालले पहिलो हाफमा एक गोल मात्रै गर्यो । दोस्रो हाफमा वर्षा रोकिएसँगै नेपालले लय समात्यो । मध्यान्तरपछि नेपालले थप तीन गोल गर्न सफल भयो ।
भारी वर्षाबीच खेल सुरु हुँदा नेपाल र भुटानका खेलाडीले पहिलो हाफमा स्वाभाविक प्रदर्शन गर्न सकेनन् । नेपालले पहिलो हाफमा एक गोल मात्रै गर्यो । दोस्रो हाफमा वर्षा रोकिएसँगै नेपालले थप तीन गोल गर्न सफल भयो ।
खेलको १२औँ मिनेटमा सावित्राले नेपाललाई अग्रता दिलाइन् । डेब्यु खेलाडी अमिषा कार्कीको प्रहार भुटानी गोलरक्षक संगीता मोन्गेरबाट डिफ्लेक्ट भएको थियो । गोलरक्षक संगीताबाट रिबाउन्ड बललाई सावित्राले बक्सभित्रबाट सहज गोल गरिन् । खेलको ६७औँ मिनेटमा सावित्राले नेपाललाई २–० को अग्रता दिलाइन् । वैकल्पिक स्ट्राइकर रेखा पौडेलले मैदानको मध्यभागबाट निकालेको बलमाथि नियन्त्रण लिँदै सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् ।
खेलको ७३औँ मिनेटमा अनिता बस्नेतले नेपालाई ३–० को बलियो स्थितिमा पुर्याइन् । पोस्टभन्दा २५ यार्ड टाढाबाट अनिताले गरेको शक्तिशाली प्रहार सीधै जाली चुमेको थियो । खेलको ८८औँ मिनेटमा प्लेयर अफ दी म्याच अनिताले व्यक्तिगत दोस्रो गोल गरिन् । अनिता केसीले मैदानको दायाँ भागबाट गरेको क्रसलाई अनिताले बक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरिन् । यसअघि भुटानले खेलको दश मिनेटजति नेपाललाई दबाबमा राख्यो । खेलको नवौँ मिनेटमा सावित्राको प्रहार पोस्टनजिकैबाट बाहिरियो । खेलको ११औँ मिनेटमा डिफेन्डर हिराकुमारी भुजेलले २५ यार्ड टाढाबाट प्रहार गरेको बल पहिलो बारमा लाग्यो ।
सावित्राको ४० अन्तर्राष्ट्रिय गोल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्राले भुटानविरुद्ध दुई गोल गरेसँगै व्यक्तिगत अन्तर्राष्ट्रिय गोलसंख्या ४० पुर्याएकी छिन् । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सावित्राले पूर्वकप्तान अनु लामाको नाममा रहेको सर्वाधिक ३८ गोलको कीर्तिमान तोडेकी थिइन् । भुटानविरुद्ध सावित्राले खेलको १२औँ र ६८औँ मिनेटमा दुई गोल गरेकी थिइन् ।
प्रशिक्षक कुमार थापाले सावित्रालाई खेलको ८३औँ मिनेटमा विश्राम दिएका थिए । सावित्राको स्थानमा रश्मिकुमारी घिसिङ मैदान प्रवेश गरिन् । सावित्राले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी हुन् ।
१३औँ सागपछि भएको घरेलु लिगमा चोट बोकेका कारण सावित्राले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण र एएफसी एसियन कप छनोट प्रतियोगिता गुमाएकी थिइन् । भुटानविरुद्धको खेलसँगै सावित्राले आफू स्वाभाविक लयमा फर्किएको जनाएकी छिन् ।
नेपालको प्लेइङ सेट
- गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
- डिफेन्डर : अमृता जैशी, गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल
- मिडफिल्डर : अनिता केसी, सरु लिम्बु, दीपा शाही, अनिता बस्नेत
- स्ट्राइकर : अमिषा कार्की, सावित्रा भण्डारी
वर्षाले पहिलो हाफ गाह्रो भयो : कुमार थापा प्रशिक्षक
नेपालका प्रशिक्षक कुमार थापाले पहिलो हाफ वर्षाले प्रभावित हुँदा गोल निकाल्न गाह्रो भएको प्रतिक्रिया दिए । भुटानका सहायक प्रशिक्षक टंकमाया घलेले बलियो नेपाललाई कडा प्रतिस्पर्धा दिएको बताइन् । नेपाली टोलीको फिटनेस र रनिङ राम्रो हुँदा भुटान पराजित भएको प्रशिक्षक घलेले जनाइन् ।
नेपालका प्रशिक्षक थापाले वर्षका कारण सोचेजस्तो खेल हुन नसकेको स्वीकार गरे । ‘मौसमका कारण अलि गाह्रो भयो । पहिलो हाफ सोचेजस्तो भएन । राम्रो समयमा गोल निस्कँदा सहज भयो,’ थापाले भने, ‘योन्जन बिरामी हुँदा केही समस्या भयो । तर पनि मिडफिल्डरमा राम्रो भयो । खेलबाट म खुसी छु । दोस्रो हाफको प्रदर्शनमा म खुसी छु ।’ प्रशिक्षक थापाले पहिलो खेलमा स–साना गल्ती भएको बताए ।
‘हामीले केही गल्ती गर्यौँ, त्यसलाई सुधार गर्छाैं,’ उनले भने, ‘सात हप्ता तयारी गरेका थियौँ । डेब्यु गरेका खेलाडीले समेत राम्रो गरेका छन् । त्यसैले पनि धेरैभन्दा धेरै ‘चेन्ज’ गरेँ ।’
अमिषा, दीपा र समीक्षाको डेब्यु
भुटानविरुद्धको प्रतिस्पर्धामा स्ट्राइकर अमिषा कार्की, मिडफिल्डर दीपा शाही र डिफेन्डर समीक्षा घिमिरेले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । नेपालको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका तीनै खेलाडीले पहिलोपटक बन्द प्रशिक्षणमा स्थान बनाएका थिए ।
उदयपुरकी १७ वर्षीया अमिषा र हुम्लाकी १६ वर्षीया दीपाले प्लेइङ सेटमै डेब्यु पाए । रौतहटकी २१ वर्षीया समीक्षा खेलको ७४औँ मिनेटमा अमृता जैशीको स्थानमा मैदान प्रवेश गरिन् । अमिषालाई अर्की स्ट्राइकर रेखा पौडेलले स्थानान्तरण गरिन् । दीपाले पूरा समय मैदानमा बिताइन् ।
प्रशिक्षक थापाले भुटानविरुद्धको खेलमा तीन खेलाडीसहित बाँकी दुई गरी पाँच खेलाडीलाई परिवर्तन गरेका थिए । उनले ८३औँ मिनेटमा कप्तान एन्जिला तुब्बाप्पो सुब्बाको स्थानमा वैकल्पिक गोलरक्षक अन्जना रानामगरलाई मौका दिए । प्रीति राईले खेलको ७४औँ मिनेटमा सरु लिम्बुको स्थानमा मौका पाइन् । सुरुवाती प्लेइङ सेटमा स्थान पक्का गरेकी मिडफिल्डर तथा विंगर मन्जलीकुमारी योञ्जन बिरामी भएसँगै टोलीबाट बाहिरिइन् ।