नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेसँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा पछिल्लोपटक दुईवटा भ्रमण गरेको टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका रूपमा आएका प्रभाकरका लागि चुनौती भने धेरै छन् । 

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर, नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुनेछैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् । साथै उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दै छन् । नेपाली क्रिकेट सुधारका लागि प्रभाकरका अगाडि देखिएका चुनौतीहरू के–के हुन् त ? 

पछिल्लोपटक नेपालले स्कटल्यान्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेन । चार खेलमध्ये एक खेलमा मात्र सुखद नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारणहरू केलाउन थालिएको छ । मुख्यतः टोलीको एकता तथा ब्याटिङ समस्या सतहमा देखिन थालेका छन् । यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । 

क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए । प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने उनको विश्वास छ । ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौँ । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज  प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौँ । उहाँलाई हाराहारी १४–१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ,’ उनले भने, ‘उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानिस्तानलाई टेस्ट नेसन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आउँदै छन् । उनीमाथि खस्किएको नेपाली क्रिकेटलाई सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी नतिजा निकाल्ने पहिलो चुनौती रहेको छ । प्रभाकर क्रिकेटका लागि कुनै पनि कन्जुस्याइँ नहुने क्रिकेटमा अब्बल देश भारतका खेलाडी हुन् । तर, उनलाई नेपालमा भएको सीमित साधनको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । अहिले टोलीमा नयाँ युवा खेलाडीको वर्चश्व रहेको छ । टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन् । क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए । ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले नयाँ प्रशिक्षकको नयाँ योजनालाई क्यानले सम्बोधन गर्ने उनको भनाइ छ । 

‘अहिले नेपाली टोली ब्यालेन्स टिम छ । युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ । नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ । सिनियर खेलाडीले बिस्तारै विश्राम लिने अवस्था पनि छ,’ उनले भने, ‘अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ । क्रिकेटको स्तर अघि बढाउन प्रशिक्षकसँग हामीले योजना माग्छौँ । उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गर्छौँ ।’

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रस्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसिएटका शीर्ष टोलीका रूपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशबीच आकाश–पातालको फरक छ । तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । 

यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोलीभित्रको गुट–उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ । मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन । 
वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङकेन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताए । टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एकजुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताए । ‘सबैभन्दा पहिलो र महत्वपूर्ण चुनौती भनेको नेपाली क्रिकेट टोलीको ब्याटिङ पक्ष हो । नेपालको ब्याटिङमा परम्परागत कमजोरी छ । धेरै खेलमा नेपाली टोली ब्याटिङकै कारण पराजित हुन पुगेको छ । सोही कारण ब्याटिङ पहिलो चुनौती हो । सुधारका लागि अन्य विकल्प खोज्नुपरे पनि क्यान तयारी हुनुपर्छ । एक दिवसीय, दुईदिवसीय अथवा तीनदिवसीय खेलाउने पर्ने हो,’ उनले भने, ‘ब्याटिङकेन्द्रित हुनुपर्नेछ । अर्को चुनौती नेपाली क्रिकेट टोलीभित्र एकताको अभाव छ भनिएको छ । सबै खेलाडीलाई एकताबद्ध बनाउन क्यानले भूमिका खेल्नुपर्नेछ । साथै एकदिवसीय जोगाउनुपर्ने चुनौती पनि अर्को छ ।’

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकरको जिम्मेवारीमा हुनेछ । विश्वकप क्रिकेट लिग– २ को शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।

सुझावित समाचार