विश्वकप फुटबलको खेलतालिका परिवर्तन

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण
विश्वकप फुटबलको खेलतालिका परिवर्तन

कतारले नोभेम्बर–डिसेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । विश्वकप आउन सय दिन बाँकी रहेको सन्देश दिने क्रममा शुक्रबार दोहामा विश्वकपको रिप्लिका ट्रफी प्रदर्शन गरिएको छ । तस्बिर : एजेन्सी

विश्वभरका फुटबल खेलप्रेमीले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेलतालिका परिवर्तन भएको छ। कतारमा आगामी मंसिर ५ गतेदेखि प्रारम्भ हुने भनिएको फिफा वर्ल्डकप २०२२ एक दिन अगाडि अर्थात् मंसिर ४ गतेदेखि हुने भएको छ।

निर्धारित मितिभन्दा एक दिनअगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले घोषणा गरेको छ।

मूल खेल तालिकाअनुसार मंसिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्यान्डसबीचको खेल सोही दिन हुनेछ। तर, उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्वकप प्रतियोगिताको पहिलो खेल भने अब मंसिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ। यसअघि मंसिर ५ गतेका लागि सेनेगल र नेदरल्यान्डस तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो।

फिफाले विश्वकप फुटबल प्रतियोगिताको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल–तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ। बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ। रासस

सुझावित समाचार