सरकारले स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्न लागेको एमाले सांसद अधिकारीको आरोप

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाए । सरकारी अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बिमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको उनकाे आराेप थियाे ।

सांसद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक तथा एचआइभी/एड्स संक्रमितहरूले लाभ लिइरहेकाले उनीहरूको स्वास्थ्यमाथि खेलबाड नगर्न चेतावनीसमेत दिए । ‘स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपांगता भएका जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन । ज्येष्ठ नागरिकमाथि खेलबाड गर्न पाइँदैन । एचआइभी/एड्स संक्रमितहरूमाथि खेलबाड गर्न पाइँदैन’, उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सबैलाई स्वास्थ्य बिमा कार्यक्रममा समाहित गर्नका निम्ति जोडदार माग संसदीय दलको तर्फबाट गर्न चाहन्छु ।’
 

सुझावित समाचार