सन्दीप आइएल टी–२० मा अनुबन्धित

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने युएईमा हुने अन्तर्राष्ट्रिय टी–२० लिग (आइएल)मा अनुबन्धित भएका छन् । युएई क्रिकेटको सर्वोच्च निकाय इमिरेट्स क्रिकेट बोर्डले लिगमा सहभागिता जनाउने ५० खेलाडीको नाम सोमबार सार्वजनिक गरेको हो । सोही सूचीमा नेपालका कप्तान सन्दीप समावेश भएका हुन् । 

लिगमा टेस्ट राष्ट्र तथा एसोसिएटका खेलाडी विभिन्न टोलीमा अनुबन्धित भएका हुन् । मार्की खेलाडी सूचीमा नेपालका सन्दीपसँगै वेस्टइन्डिजका सुनिल नारायण, आन्द्रे रसल, एभिन लेविस, फाबियन एलेन, सिम्रन हेटमायर, अकिल होसेन र रोभ्म्यान पावेल छन् ।

यसैगरी इंग्ल्यान्डका मोइन अली, दविद मलान, स्याम बिलिंग्स, टम करन, एलेक्स हेल्स, क्रिस जोर्डन र टम बयान्टन पनि छन् । अस्ट्रेलियाबाट क्रिस लिन, श्रीलंकाका वानिन्दु हसरंगा, दुस्मन्था चमिरा र भानुका राजपाक्षे, न्युजिल्यान्डका कोलिन मुनरो तथा अफगानिस्तानका मुजिब रहमान मार्की खेलाडीको सूचीमा छन् ।

आइएल टी–२० मा ६ टोलीले सहभागिता जनाउँदै छन् । नाइट राइडर्सको अबुधाबी नाइट राइडर्स, जिएमआरको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्स लाइनको गल्फ जायन्ट्स फ्रेन्चाइज टोलीका रूपमा छन् । यस लिगमा सहभागी टोलीले १८ खेलाडी अनुबन्धन गर्न पाउँछन् । चारजना युएईका खेलाडीसँगै दुईजना एसोसिएट खेलाडी हुनुपर्ने नियम छ । हरेक खेलको प्लेइङ ११ मा दुईजना युएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ । 

सुझावित समाचार