नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अस्ट्रेलियामा हुने टी–२० फ्रेन्चाइज बिग बास लिग(बिबिएल) नयाँ सिजनको ड्राफ्टमा परेका छन् । बिग बासले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप नेपालबाट पर्ने एक मात्र खेलाडी हुन् ।
बिग बासको विदेशी खेलाडीमध्ये सन्दीप चर्चित मानिन्छन् । उनले लगातार बिग बासमा खेल्दै आइरहेका छन् । सन्दीपले यसअघिका दुई संस्करणमा होबार्ट हरिकेन्सबाट प्रतिस्पर्धा गरेका थिए । सन् २०२१÷२२ को सिजनमा सन्दीपले १४ खेलबाट १४ विकेट लिएका थिए । सन् २०२०÷२१ को सिजनमा उनले हरिकेन्सका लागि आठ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले सुरुका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले सन् २०१९÷२० को संस्करणमा मेलबर्न स्टार्सबाट १३ खेलबाट १५ विकेट लिएका थिए । उनले पहिलोपटक सन् २०१८ मा मेलबर्नबाटै बिग बास खेलेका थिए । पहिलो सिजनमा उनी आठ खेलमा ११ विकेट लिन सफल भए ।
सन्दीपले बिग बासका ४३ खेलबाट हालसम्म ४८ विकेट लिएका छन् । बिग बासमा सन्दीपले १५९.५ ओभर बलिङ गर्दै ७.४२ को औसत राखेका छन् । बिग बास लिगले यसपटकदेखि ड्राफ्टबाट विदेशी खेलाडी भिœयाउन लागेको हो । क्रिकेट अस्ट्रेलियाका अनुसार सन्दीपलाई यसपटक पनि होबार्ट हरिकेन्सले ‘रिटेन’ गर्न सक्छ । बिग बासमा उनले २६ रन खर्चेर तीन विकेट लिएका छन् । यो नै सन्दीपको उत्कृष्ट प्रदर्शन हो ।
बिग बासले सार्वजनिक गरेको ड्राफ्टमा एसोसियट राष्ट्रबाट नामिबियाका डेबिड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट, युएईका अरविन्द, अमेरिकाका अली खान, उन्मुक्त चन्द र हम्रितसिंह बधान रहेका छन् । यसैगरी, नेदरल्यान्ड्सबाट ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, रोलेफ भान मर्वे र पउल भान मिर्किन पनि ड्राफ्टमा परेका छन् । सिड्नीमा बिग बासको ड्राफ्ट २८ अगस्टमा हुनेछ । डाफ्टमा १३ राष्ट्रबाट एक सय ६९ खेलाडीले नाम दर्ता गराएका छन् ।