म्यानचेस्टरदेखि ट्रिनिडाडसम्म नियमित उडानतालिका नहुँदा बिसिसिआईले आफ्ना खेलाडीलाई चार्टर्ड जहाजमा पठाउँदा साढे पाँच करोड रुपैयाँ खर्चियो
भारतीय क्रिकेट टोली इंग्ल्यान्डबाट सीधै वेस्ट भ्रमणमा निस्किएको छ । भारतले वेस्ट इन्डिजमा तीन एकदिवसीय तथा पाँच अन्तर्राष्ट्रिय टी–२० खेल्ने कार्यक्रम रहेको छ । यसपटक भारतीय टोलीको वेस्ट इन्डिज भ्रमण महँगो साबित भएको छ । इंग्ल्यान्डबाट वेस्ट इन्डिजसम्मको सीधा हवाई सेवा लिँदा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले नसोचेको रकम खर्चनुपरेको छ ।
भारतीय टोलीले म्यानचेस्टरदेखि ट्रिनिडाडसम्मको सीधा हवाई यात्रा गर्दा बिसिसिआईले साढे पाँच करोड रुपैयाँ खर्चिएको भारतीय एजेन्सीले जनाएको छ । इंग्ल्यान्डसँगको सिरिज समाप्त भएको एक दिनपछि नै भारतीय टोली वेस्ट इन्डिज पुग्नुपर्ने थियो । इंग्ल्यान्डबाट ट्रिनिडाडमा नियमित उडान नभएका कारण बिसिसिआईसमक्ष हवाईजहाज चार्टर्ड गर्नुबाहेक विकल्प नै रहेन ।
समयमै नपुग्दा खेल कार्यक्रमसमेत प्रभावित हुने डर बिसिसिआईलाई थियो । यसै कारण बिसिसिआईले खेलाडी, उनीहरूका परिवार र कर्मचारीलाई हवाईजहाज चार्टर्ड गरी ट्रिनिडाड पठायो । हवाईजहाज नै चार्टर्ड गरी पठाउँदा बिसिसिआईको तीन करोड ५० लाख भारु खर्च भयो ।
म्यानचेस्टरदेखि वेस्ट इन्डिजसम्म नियमित उडानको एक व्यक्तिको टिकट दुई लाख भारु पर्न आउँछ । नियमित उडानमा पनि बोर्डको लगभग दुई करोड भारु खर्च देखिन्थ्यो । समयमै पुग्नुपर्ने बाध्यताका कारण बोर्डले महँगोमा टिकट किनी खेलाडी र अफिसियललाई वेस्ट इन्डिज पठाएको भारतीय एजेन्सीले जनाएको छ । ‘म्यानचेस्टरदेखि पोर्ट अफ स्पेनसम्मको बिजनेस क्लासको टिकट दुई लाख भारु हो,’ भारतीय एजेन्सीले भन्यो, ‘यो सम्भव नभएपछि बोर्डले हवाईजहाज नै चार्टर्ड गरेको छ, जसका कारण बोर्डको तीन करोड पाँच लाख भारु खर्च भएको हो ।’
बिसिसिआईले आफ्ना खेलाडीलाई हवाईजहाज चार्टर्ड गरी विदेश भ्रमणमा पठाएको यसपटक होइन । यसअघि कोभिड–१९ को महामारीको समयमा भारतले इंग्ल्यान्डको भ्रमणमा निस्किँदा पनि यस्तै हवाईजहाज चार्टर्ड गरेको थियो । कोरोनाबाट बच्नका लागि गत वर्ष बोर्डले खेलाडीलाई अधिकांश विदेश भ्रमणमा चार्टर्ड हवाईजहाजमै यात्रा गराएको थियो ।