फाप्लामा अन्तर्राष्ट्रिय रंगशालाको डिपिआर अगाडि बढाइने

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण
फाप्लामा अन्तर्राष्ट्रिय रंगशालाको डिपिआर अगाडि बढाइने

धनगढीमा बुधबार बसेको खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठक ।

सरकारले धनगढीको फाप्लामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाउने भएको छ । धनगढीमा बुधबार बसेको खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको डिटेल प्रोजेक्ट रिपोर्ट(डिपिआर) निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीसमेतको सहभागितामा बसेको बैठकले पूर्वाधार निर्माण विकास समितिको कार्यालय स्थापना, डिपिआर निर्माण तत्काल अगाडि बढाउने र त्यसका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो । निर्णयसँगै क्रिकेट रंगाशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको समितिका अध्यक्ष सुवास शाहीले बताए ।

‘समितिले पनि औपचारिक रूपमा काम सुरुवात गरेको छ । अब रंगशालाको डिपिआर निर्माण प्रक्रिया अगाडि बढाउँछौँ ।’ अध्यक्ष शाहीले भने, ‘हामीलाई दिएको जिम्मेवारी निर्धारित अवधिमै सम्पन्न गरेर देखाउन चाहन्छौँ ।’ सरकारले समितिलाई पूर्वाधार निर्माण तीन वर्षभित्र पूरा गर्ने कार्यादेश दिएको छ । तोकिएको अवधिमै पूर्वाधार निर्माण पूरा गर्ने गरी समितिले काम गर्ने उनले बताए ।

खेलकुद पूर्वाधार विकास समयमै सकिन्छ भनेर समितिले देखाउन चाहेको अध्यक्ष शाहीले बताए । सरकारले फाप्लामा रंगशाला तथा खेलग्राम निर्माणका लागि निजी क्षेत्रलाई समेटेर समिति गठन गरेको थियो । फाप्लामा रंगशाला निर्माण गर्नुपर्ने माग यहाँका बासिन्दाले एक दशकदेखि गर्दै आएका थिए । रंगशाला निर्माणका लागि निजी क्षेत्रले सरकारसँग पहल गर्दै आएको थियो । ‘अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने १२ वर्षदेखिको प्रयासले अब मूर्त रूप लिँदै छ ।’ अध्यक्ष शाहीले भने, ‘पूर्वाधार निर्माणमा सबैको सहयोगको खाँचो छ ।’

देशकै ड्रिम प्रोजेक्ट हो
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण देशकै ‘ड्रिम प्रोजेक्ट’ हो । यो पूर्वाधार निर्माणमा सरकारले बजेटको हुन दिँदैन । देशका लागि खेलकुद क्षेत्रमा यति ठूलो अर्को योजना सायदै होलान् । धरान, मूलपानीलगायत केही ठाउँमा खेल पूर्वाधार बनाउँदै छौँ, तर अन्तर्राष्ट्रियस्तरको रंगशाला र बहु खेल आत्मसात् गरेको यो एउटै परियोजना हो । यो परियोजनाले सुदूरपश्चिमको समग्र विकासमा आमूल परिवर्तन ल्याउने आशा छ । यहाँको आर्थिक विकास, समृद्धि र खेललाई पर्यटनसँग जोड्ने आधार रंगशालाले तयार गर्छ । 

सरकारले फाप्ला क्रिकेट रंगशाला निर्माणमा देशमै विकासको नयाँ मोडेल अभ्यासमा ल्याउन खोजेको छ । संघीय सरकारसँगै प्रदेश सरकार, स्थानीय तह र जनसहभागिताको नयाँ मोडेलको अभ्यास हामीले गर्न खोजेका छौँ । जनसहभागितासमेत जोडेको योजना भएकाले यसलाई ‘फास्ट ट्र्याक’मा लगेका छौँ । सम्भवतः आगामी आर्थिक वर्षभित्रै बहुवर्षीय ठेक्का लगाउन सकियोस् भन्ने चाहेका छौँ । क्रिकेट खेल हुने विश्वका ११० देशमध्ये नेपाल १२औँ वरीयतामा छ । यो चानचुने कुरा होइन । क्रिकेटको विकासका लागि फाप्ला रंगशाला निर्माण सुदूरपश्चिमका लागि मात्र नभएर देशकै आवश्यकता हो ।

सुझावित समाचार