विश्वमा सबैभन्दा रुचाइएको खेल फुटबल हो । मैदानभित्र खेलाडीहरूले विपक्षी पोस्टमा गोल गर्न निकै मिहिनेत गर्छन् । मैदानभित्र प्रतिस्पर्धामा उत्रिने दुवै क्लब एकै स्तरका हुँदा गोल हुने मौका थोरै मिल्छ । अक्सर एकै किसिमका प्रतिद्वन्द्वी मैदानमा भिड्दा गोलरहित नतिजा आउने गर्छ ।
हालैका केही दिन दुई खेलमा एक सय ९७ गोल भए । सम्भवतः फुटबल इतिहासमा दुईको यो नतिजा अविस्मरणीय रूपमा हेरिएको छ । फुटबल विश्लेषकहरूले यस नतिजालाई खेल इतिहासकै ठूलो म्याच फिक्सिङ भनी प्रतिक्रिया दिएका छन् । अब यस्तो फोहोरी खेल कहाँ भएको भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ? दक्षिण अफ्रिकाको प्रिमियर लिग छनोट प्रतियोगितामा ९५–० र ९१–१ गोलअन्तर नतिजा निस्किएका हुन् ।
कान्हुला रेन्जर्स र गल्फ एफसीले विपक्षीविरुद्ध समग्रमा एक सय ९७ गोल गरेका थिए । कान्हुलाले लुम्बेवु युनाइटेडलाई ९५–० र गल्फ एफसीले कोक्विमा लेबननमाथि ९१–१ को कीर्तिमानी जित निकाले । सिरेरा लिओनेन फुटबल संघमा यसलाई अहिलेसम्मकै विशाल अन्तरको जित भएको जनाइएको छ ।
रमाइलो पक्ष के रह्यो भने दुवै खेलको पहिलो हाफमा क्रमशः २–० र ७–१ गोल भएका थिए । कान्हुलाले दोस्रो हाफमा ९३ गोल तथा गल्फ एफसीले ८९ गोल गरे । एसएलएफएका अध्यक्ष थोमास ड्याडीले प्रिमियर लिगको नतिजाले विश्व फुटबल समुदायमा लिगलाई अपमानित तथा लज्जास्पद गराएको बताएका छन् ।
‘हामी स्वयं यो नतिजाबाट अपमानित भएका छौँ, समग्र दक्षिण अफ्रिकी फुटबलको छवि नै नराम्रो पारेको छ,’ निराश हुँदै थोमासले भने, ‘हामी तत्कालै दुई खेलको अनुसन्धानमा छौँ, खेल दौरानमा भएका सबै गतिविधि प्रमाणका रूपमा राखेका छौँ ।’ खेलमा मिलेमतो गर्ने जोकोही खेलाडी कारबाहीको क्षेत्रभित्र पर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
‘प्रमाणका आधारमा दोषी खेलाडीमाथि कडा कारबाही हुनेछ,’ उनले भने, ‘हामीले अनुसन्धानको जिम्मा एन्टी कर्पोसन कमिटीलाई दिएका छौँ ।’ फुटबल संघले कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाउने घोषणा गर्दा कान्हुला रेन्जर्स र गल्फ एफसीले आफूमाथिका आरोप अस्वीकार गरेका छन् ।
कान्हुला रेन्जर्सले फुटबलको नतिजा स्वाभाविक रहेको जनाएको छ । ‘यस किसिमको नतिजा स्वाभाविक नै हो,’ रेन्जर्सले विज्ञप्तिमार्फत भनेको छ । यसैगरी, लुम्बेवुका जनरल म्यानेजरले प्रतिस्पर्धाको नतिजाबाट आफूहरू नडराएको बताए । ‘हामीले नतिजा स्वीकार गरेका छौँ, अनुसन्धानको निर्णयसँग डराएका छैनौँ,’ उनले भने । एसएलएफले खेलाडी र अफिसियलविरुद्ध अनुसन्धान हुने बताएको छ । लिगका आयोजकले अहिलेसम्म कुनै पनि प्रितिक्रिया दिएको छैन ।
म्याच फिक्सिङमा संलग्न नभएको दाबी
लुम्बेवुका जनरल म्यानेजर मोहमेद जान जोलाहले प्रतिस्पर्धामा खेलाडी तथा अफिसियलले खेल मिलेमतो नगरेको दाबी गरेका छन् । प्रतिस्पर्धामा लुम्बेवुका प्रशिक्षक अनुपस्थित थिए । यस खेलमा लुम्बेवु ९५–० ले पराजित भएको थियो ।
‘मलाई लाग्दैन, यो खेलमा म्याच फिक्सिङका रूपमा सकिएको थियो,’ जान जोलाहले भने, ‘दोस्रो हाफमा अनपेक्षित धेरै गोल खायौँ, केही हदसम्म हामी पनि नतिजाबाट दुःखी छौँ,’ जोलाहले भने, ‘हाम्रो डिफेन्स कमजोर बनेको थियो, विपक्षीले एकपछि अर्को गोल थप्दै गए, त्यसपछि मैले गोल गन्न नै छाडेँ ।’