भारतका पूर्वकप्तान विराट कोहलीको फर्म खराब छ । जतिवेला उनी उत्कृष्ट फर्ममा हुन्छन्, त्यसवेला धुरन्धर बलरले पनि उनलाई रोक्न सक्दैनन् । सन् २०१९ यता कोहलीको ब्याटिङबाट शतक निस्केको छैन । तीन वर्ष उनी टेस्ट, टी–२० तथा एकदिवसीय खेलमा शतकविहीन छन् । कोहलीले उत्कृष्ट फर्ममा एकपटक अर्को शतकीय इनिङ्स खेल्दा भारतीय क्रिकेटर सचिन तेन्दुलकरका रेकर्ड तोडिने आशा गरिएको थियो । तर, अहिले कोहलीको ब्याट शान्त छ ।
एउट रमाइलो पक्ष के छ भने कोहलीले हरेक खेलका आफ्ना व्यक्तिगत रेकर्ड ल्यापटपमा राख्ने गर्छन् । यद्यपि, क्रिकेट विशेषज्ञहरूले क्रिकेटरका डाटा नराख्ने होइनन् । तर, कोहली आफ्नो रेकर्ड आफैँ सुरक्षित राख्न चाहन्छन् । यसको अर्थ हो, विशेषज्ञहरूले कतिपय अवस्थामा रेकर्ड तलमाथि गर्दा कोहली आफ्नो ल्यापटपमा क्रस गर्छन् । कसले डाटामा गल्ती गरेको उनी सच्याउँछन् ।
कोहली अक्सर भन्छन्, ‘एक खेलाडीले खेलको रेकर्ड आफूसँगै संगृहीत हुँदा भविष्यमा मूल्यांकन गर्न सजिलो हुन्छ, साथै रेकर्ड कसैसँग माग्नुपर्दैन ।’ वर्तमान भारतीय क्रिकेटमा निजी रेकर्ड राख्ने कोहली मात्र हुन् । कोहलीले आफ्ना सहकर्मीहरूलाई पनि व्यक्तिगत रेकर्ड ल्यापटपमा वा अन्य माध्ययद्वारा सुरक्षित राख्न सल्लाह दिन्छन् ।
‘म मात्र होइन, अरू साथीहरूले पनि आफ्नो खेलबारे डाटा संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘जसबाट अरूलाई नभएर आफैँलाई फाइदा पुर्याउँछ ।’ कोहलीले आफू शून्य रनमा आउट भएको रेकर्ड पनि राख्छन् । कुन प्रतिद्वन्द्वीविरुद्ध कस्तो प्रदर्शन भयो भनी उनी विश्लेषण गर्छन् । भन्छन्, ‘फुर्सदमा हुँदा म आफ्नो ल्यापटप अन गर्छु, कुन समयमा कोविरुद्ध कस्तो प्रदर्शन भयो भनी पुनर्विचार गर्छु ।’
यसैबीच कोहलीले टेस्ट करिअरमा डेब्यु गरेको ११ वर्ष भएको छ । २०११ को २३ जुनमा कोहलीले टेस्टमा डेब्यु गरेका थिए । कोहलीले सामाजिक सञ्जालमा टेस्ट क्रिकेटमा बिताएको ११ वर्ष सेयर गरेका छन् । ‘मेरो ११ वर्षको टेस्ट करिअर रमाइलोसँगै बित्यो,’ उनले भने, ‘मैले पहिलो टेस्टदेखि अन्तिमपटक खेलेको टेस्टको सबै रेकर्ड राखेको छु ।’ कोहलीले वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए ।
भारतका लागि कप्तानीका रूपमा टेस्टमा धेरै जित दिलाउने कोहली नै हुन् । उनले भारतका लागि ६८ टेस्टमा कप्तानी गर्दा ४० खेलमा जित दिलाएका थिए । महेन्द्रसिंह धोनीले ६० टेस्टमा भारतलाई २७ मा जित दिलाए । तेस्रो स्थानमा भारतीय क्रिकेट बोर्डका अध्यक्ष तथा पूर्वकप्तान सौरभ गांगुली आउँछन् । उनले भारतलाई २१ टेस्टमा विजयी गराए । कोहलीको कप्तानमा भारत ४२ महिनासम्म टेस्ट वरीयताको शीर्ष स्थानमा थियो ।
भारतबाट सबैभन्दा धेरै टेस्ट खेल्ने खेलाडीमा कोहली १२औँ खेलाडी हुन् । कोहलीले एक सय एक टेस्टमा २७ शतकका साथ आठ हजार ४३ रन बनाएका छन् । उनको टेस्टमा सर्वोत्कृष्ट प्रदर्शन दुई सय ५४ रन रहेको छ ।
टेस्ट इतिहासमा कप्तानीका रूपमा दक्षिण अफ्रिकाका ग्रेम स्मिथले ५३ खेल जितेका छन् । अस्ट्रेलियाका रिकी पोन्टिङले ४८ र अस्ट्रेलियाकै स्टिभ वाँले ४१ टेस्ट जितेका छन् । कोहली चौथो स्थानमा छन् ।