अमेरिकालाई पत्राचार गरिने
सरकारले अमेरिकाले सम्झौताका लागि प्रस्ताव गरेको विवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर सम्झौताको प्रक्रिया अगाडि नबढाउने जानकारी दिने निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा प्रक्रिया पूरा गरेर सम्झौता अस्वीकार गर्ने प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीले एसपिपी सम्झौता अगाडि नबढाउने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘यो पास भएको छ, अब सरकारले अमेरिकालाई सम्झौता प्रक्रिया अगाडि नबढाउनेबारे पत्र लेखेर जानकारी गराउँछ ।’
विरोध खतिवडा, स्वास्थ्यमन्त्री
प्रधानमन्त्रीले एसपिपी सम्झौता अगाडि नबढाउने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो, यो पास भएको छ । अब सरकारले अमेरिकालाई सम्झौता प्रक्रिया अगाडि नबढाउनेबारे पत्र लेखेर जानकारी गराउँछ ।
सत्तागठबन्धनमै रहेका दलहरूले एसपिपी सम्झौता अस्वीकार गर्ने गरी अमेरिकालाई पत्राचार गर्न र मुलुकभित्र देखिएको अन्योल चिर्न श्वेतपत्र जारी गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । प्रधानमन्त्री देउवाले पनि राष्ट्रिय हितविपरीतको कुनै पनि सम्झौता नहुने र सर्वदलीय बैठक आह्वान गरेर एसपिपीमा राष्ट्रिय धारणा बनाउने बताएका थिए ।
कांग्रेसभित्रैबाट पनि प्रधानमन्त्री देउवालाई एसपिपी सम्झौता अस्वीकार गर्ने गरी प्रक्रिया अगाडि बढाउन सुझाव थियो । सोमबार नै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भेटेर सरकारलाई संस्थागत निर्णय गरी एसपिपीको ‘च्याप्टर क्लोज’ गर्न सुझाव दिएका थिए ।
एसपिपी इन्डो–प्यासेफिक रणनीतिको अंग रहेको र यसमा नेपाल सहभागी हुँदा स्वतन्त्र परराष्ट्र नीतिमा गम्भीर धक्का लाग्ने भन्दै संसद्बाट पनि सरकारको खबरदारी गरिएको थियो । सदनमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले कुनै पनि हालतमा एसपिपी अगाडि नबढाउन माग गरेका थिए । संसदीय समितिले समेत यसबारे जवाफ दिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको थियो ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कात्तिक ०७२ मा एसपिपीमा सहभागिता जनाउनेबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेका सार्वजनिक भएपछि यसले सिंगो देश तरंगित भएको थियो । यस विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपसमेत भएको थियो ।
त्यसैबीच स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्ने निर्णय नभएको बताए । ‘एसपिपी सम्झौता अघि नबढाउने निर्णय मात्रै भएको हो । यसबाट प्रधानमन्त्रीको भ्रमण रोकिने सम्भावना छैन । यसबारे मन्त्रिपरिषद्बाट कुनै निर्णय पनि भएको छैन,’ उनले भने ।
बालुवाटार स्रोतले भने अमेरिका भ्रमणको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । स्रोतका अनुसार असार अन्तिम साता या साउन पहिलो साता भ्रमणको सम्भावना छ । ‘भ्रमणको मिति नै तय भइसकेको छैन । यस्तो अवस्थामा भ्रमण रद्द हुने सम्भावना छैन क्याबिनेटले एसपिपी सम्झौताका विषयमा मात्रै निर्णय गरेको हो, भ्रमणको विषयमा होइन,’ स्रोतले भन्यो, ‘केही विषय मिल्न बाँकी छ । असार अन्तिम साता या साउन पहिलो साता प्रधानमन्त्री अमेरिका भ्रमण जानुहुने सम्भावना छ ।’
प्रधानमन्त्रीले एसपिपी सम्झौता अगाडि नबढाउने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो, यो पास भएको छ । अब सरकारले अमेरिकालाई सम्झौता प्रक्रिया अगाडि नबढाउनेबारे पत्र लेखेर जानकारी गराउँछ ।