काठमाडौं मात्र होइन, बाहिर पनि स्वघोषणाबाट सार्वजनिक प्रयोजनमा आउन थाले शौचालय
काठमाडौं महानगरपालिका क्षेत्रमा शौचालय सार्वजनिक प्रयोजनका लागि खुला हुन थालेका छन् । महानगरको नगर कार्यपालिकाको १६ जेठको बैठकले काठमाडौंभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेर आह्वान गरेपछि अभियानमा साथ दिने बढ्न थालेका छन् ।
यसअघि स्वघोषणा गरेर शौचालय सार्वजनिक प्रयोजनमा खुला गर्न थालिएकामा नबिल बैंकले बुधबार महानगरसँग सम्झौता नै गरेको छ । यो पहिलो सम्झौता हो ।
नबिलले काठमाडौं महानगरभित्रका आफ्नो केन्द्रीय कार्यालय र १७ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो । सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले १३ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेका अनुुसार शौचालय सार्वजनिक प्रयोजनका लागि खुला गर्न थप १८/१९ वटा निवेदन परेका छन् । ‘यसअघि स्वघोषणा गरेकालगायत थप निवेदन परेका छन् । हामी क्रमशः सम्झौता गर्दै जानेछौँ,’ काफ्लेले भने, ‘यस्ता ६० वटा शौचालय सार्वजनिक प्रयोजनमा ल्याउन सकिने आकलन गरिएको छ ।
महानगरले सोमबार मात्र सार्वजनिक सूचना जारी गरेर शौचालय सार्वजनिक प्रयोजनमा ल्याउन इच्छुकलाई निवेदन दिन आह्वान गरेको थियो । ठमेलमा रहेको छायाँ सेन्टरले बिहीबार विज्ञप्ति जारी गर्दै भवनमा रहेका १२ वटै शौचालय सार्वजनिक प्रयोजनका लागि खुला गर्ने जनाएको छ । सेन्टरका सञ्चालक सुमन पाण्डेले महानगरको ‘निशुल्क शौचालय’ अभियानलाई साथ दिन यस्तो घोषणा गरिएको बताए ।
ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले ग्रुपअन्तर्गतका होन्डा सोरुममा शौचालय निःशुल्क प्रयोग गर्न दिने घोषणा गरिसकेका छन् । होन्डा सोरुमका देशभर एक सय सात शौचालय रहेको र ती शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने उनले सामाजिक सञ्जालमा लेखेका थिए । महानगरका सहायक प्रवक्ता काफ्लेका अनुसार सम्झौताका लागि ज्योति समूहसहित विभिन्न बैंक, होटेल, रेस्टुरेन्ट, अस्पतालले निवेदन दिएका छन् ।
कसरी चल्छन् शौचालय ?
महानगरका अनुसार सार्वजनिक शौचालय भएका भवनमा प्रस्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्नेछ । शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी सम्बन्धित पक्ष (शौचालयको भोगाधिकार भएको)को हुनेछ । महानगरले हाल पाँच वर्षका लागि सम्झौता थालेको हो । त्यसपछि फेरि सम्झौताको अवधि थप्न सकिने जनाइएको छ । शौचालय प्रयोगबापत सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क लिन पाइनेछैन भने आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्ने सम्झौतामा उल्लेख गरिन थालिएको छ ।
महानगरका सहायक प्रवक्ता काफ्लेका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने रकमबाट यो काम भइरहेको हो । ‘आम्दानीको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्चनुपर्ने हुन्छ, अहिले विभिन्न अभियानमा सहयोग, वृक्षारोपण, टोपी, ज्याकेट सहयोगको काम भइरहेको छ,’ उनले भने, ‘अब ज–जसले सम्झौता गर्नुहुन्छ, उहाँहरूले यो रकम सार्वजनिक शौचालय प्रयोजनका लागि खर्च गर्नुहुन्छ ।’
काठमाडौं मात्र होइन, बाहिर पनि स्वघोषणाबाट सार्वजनिक प्रयोजनमा आउन थाले शौचालय
महानगरले शौचालय सार्वजनिक प्रयोजनका लागि दिन आह्वान गरेपछि उपत्यका र बाहिर पनि स्वस्फूर्त घोषणा हुन थालेको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिह्न तयार पारेर सार्वजनिक गरिसकेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिह्न तयार पारिएको हो । तर, स्वघोषणा गर्नेहरूमध्ये कतिपयले ‘बालेन फर अस, वी फर बालेन’को बोर्ड टाँगेर शौचालय सार्वजनिक प्रयोजनमा ल्याउन थालेका छन् ।
महानगरभित्र पर्ने बालुवाटारस्थित टाइम्स स्क्वायर रेस्टुराँ लाउन्ज एन्ड बार, नरसिंह चोकमार्गमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटु एन्ड बार, नयाँ बानेश्वरको अक्टोवियर रेस्टुरेन्ट, वसन्तपुरको डाक गाल्बी कोरियन हाउस रेस्टुरेन्ट, ठमेलको केटिएम हान्कुक साराङ, सानोपुलको बर्गर किङ एन्ड क्रन्ची फ्राइड चिकेन, न्युरोडको कफीघर, महाराजगन्जको थ्री ब्रदर रेस्टुरेन्ट, बुद्धनगरको एमआर किचेन, गोंगबुको गुरुजी मोटर ड्राइभिङ सेन्टर र सीतापाइलाको माया लाउन्जले स्वघोषणा गरेर शौचालय सर्वसाधारणको प्रयोगका लागि खुला गरेको बताएका छन् । महानगरका सहायक प्रवक्ता काफ्लेका अनुसार स्वघोषणा गरिएकामध्ये धेरैजसोबाट सम्झौताका लागि निवेदन परेको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले निजी शौचालय सार्वजनिक प्रयोजनमा ल्याउन प्रोत्साहन गरिने घोषणा चुनावी अभियानमा गरेका थिए । सोहीअनुसार कार्यपालिकाबाट निर्णय भएको हो । यो अभियानमा महानगरबाहिरका प्रतिष्ठानले पनि साथ दिएका छन् । ललितपुर महालक्ष्मीस्थानमा रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनले ‘हामी जिम्मेवार नागरिक, अब पालो ललितपुरको’ नारासहित शौचालय सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेको छ । बिर्तामोडको शिखर साकोस, इलामको कन्याम इन होटेल, विराटनगरको तिरुपति अटो प्यालेस, बन्दीपुरको हेरिटेज गेस्ट हाउस, कपिलवस्तुको न्यु सुगम होटेल, भैरहवाको बिएफसी फुडल्यान्ड, तुलसीपुरको द लन्डन करी रेस्ट्रो र बुटवलको रोयल फुड कोर्टले पनि शौचालय सार्वजनिक प्रयोजनमा ल्याउने घोषणा गरेका छन् ।
महानगरसँग ५९ सार्वजनिक शौचालय, थप निर्माणको योजना
काठमाडौं महानगरभित्र सशुल्क र निःशुल्क गरी एक सय ५१ वटा सार्वजनिक शौचालय छन् । महानगरअन्तर्गत भने ५९ वटा सार्वजनिक शौचालय छन् । तर, तीमध्ये कैयौँ शौचालय सञ्चालनमा नरहेको महानगरको सार्वजनिक र निजी साझेदार एकाइका प्रमुख नुरनिधि न्यौपाने बताउँछन् ।
महानगरले सार्वजनिक शौचालय निर्माणका लागि ०७६ मा गठन गरेको कार्यदलले तत्काल ५० गरी दुई सय ८४ शौचालय आवश्यक रहेकोे सिफारिस गरेको थियो । महानगरका सहायक प्रवक्ता काफ्लेले भएका सार्वजनिक शौचालय व्यवस्थित गर्दै थप निर्माण गरिने बताए । काठमाडौं जिल्लालाई २८ भदौ ०७६ मा खुला दिसामुक्त घोषणा गरिएको थियो ।
‘सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन २०७५’ भित्र समेटिएका धार्मिक स्थल, सरकारी भवन, पार्क पेट्रोल पम्प, मल तथा व्यावसायिक भवन र अस्पतालका शौचालय पनि पर्छन् । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डअनुसार जनसंख्याको चापअनुसार भिडभाड रहने सहरी क्षेत्रमा प्रत्येक तीन सय मिटरको दूरीमा शौचालय हुन आवश्यक छ । महानगरले सार्वजनिक शौचालय प्रयोगबापत निश्चित शुल्क लिने गरेको छ । अब कसरी अगाडि बढ्ने भनेर कार्यपालिकाले नै निर्णय गर्ने काफ्लेले बताए ।