चारवटा हिमाल क्षेत्रबाट निकालियो ३४ टन फोहोर

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट झन्डै ३४ टन फोहोर निकालिएको छ । तीनवर्षे अभियानमा यसपटक सबैभन्दा बढी फोहोर संकलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहोर निकालिएको थियो ।  

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत २२ चैतदेखि यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो । विश्व वातावरण दिवसका अवसरमा आइतबार अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो ।  

हिमाली क्षेत्रमा देखिएको फोहोरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालका हिमशृंखलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो । त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ ।  

यस वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल क्षेत्रमा अभियान चलाइएको थियो । ती हिमाली क्षेत्रबाट कुहिने फोहोर सात हजार दुई सय २७ किलो र नकुहिने २६ हजार ६ सय ५० किलो गरी कुल ३३ हजार आठ सय ७७ किलो (३३.८ टन) फोहोर संकलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले कञ्चनजंघा हिमालबाट दुई मानव अस्थिपन्जरसमेत संकलन गरेको छ ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिए । संकलित फोहोरमध्ये कुहिने फोहोरलाई तततत स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहोरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । केही भने हस्तान्तरण गर्न बाँकी छ । 

अभियानको नेतृत्व गरेका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन  र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए । समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताए । 

सन् २०१९ मा सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गरेका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताए । उनले वातावरणलाई प्राकृतिक रूपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गरे । मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उहाँले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता बताए । 

सुझावित समाचार