राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भिडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै वेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरु हुन्छ । साँझको बढ्दो सवारी चाप, यात्रुको भिड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । वास्तवमा भन्दा यतिवेला फुटपाथमा जाम हुन्छ । नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन् ।
सडकमा झोला बोकेर, सिक्री,लकेट र पालिसलगायत शृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ । फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्नसमेत कठिन हुने गरेको चालक बताउँछन् । दैनिक दुई तीन घन्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन् । सटरमा व्यापार गर्नेहरूले पुराना र स्टक सामान, बासी तरकारी बेच्न फुटपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याइँ गर्नुहुँदैन । प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै ।

सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यहीँ पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको वेला चोक पुगे हुन्छ । काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् । नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने सहरिया गरिबहरूको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पनि सकेको छैन । तर, दिनभर भने सडक व्यापार प्रतिबन्धित छ । हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुला हुन्छ । साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन् । र, त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागि पर्छन् ।








