म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरूमा नेपाल टेलिकमको पहुँच विस्तार भएको छ। टेलिकमको सेवा विस्तार भएपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रूखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीय हर्षित भएका छन्।
चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रूपमा विद्युतकाे पोलमा बिटिएस जडान गरेर सेवा सुचारु गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए। ‘तत्कालका लागि बिजुलीको पोलमा उपकरण जडान गरेका छौँ। टावर निर्माणका लागि ठेक्का लगाइसकिएको छ। फाउन्डेसनको काम पनि सकिएको छ, छिट्टै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ,’ उनले भने। समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ।
तत्कालका लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आउने रघुगंगा गाउँपालिका– ७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिए। उनका अनुसार टावरका महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिकामार्फत टावर परिसरमा भवनसमेत निर्माण भैसकेको छ।
टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामुनी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानीलगायतका दुर्गम बस्तीहरूमा मोबाइल फोनको सहज पहुँच पुगेको छ।
दुर्गम बस्तीहरूमा मोबाइलका लागि नेटवर्क खोज्दै अग्डा डाँडा र रूखमा चढ्नुपर्ने बाध्यता टेलिकमको सेवा विस्तारपछि हटेको रितुङ मावि कुइनेमंगलेका शिक्षक याम घर्तीमगरले बताए। सञ्चार सेवा नहुँदा निकै कठिनाइ झेल्दै आउनुपरेको थियो। अब अधिकांश बस्तीका नागरिकले घरबाटै मोबाइल फोनको प्रयोग गर्न पाउने भएका छन्।