कोकाकोला कम्पनीले स्थापनाको एक सय ३६औँ वार्षिकोत्सव मनाएको छ । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोकाकोला कम्पनीले आफ्नो एक सय ३६औँ वार्षिकोत्सव मनाएको हो । कोकाकोला उत्पादनको परिकल्पना एट्लान्टाका फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले सुरु गरेका थिए । कम्पनीले हाल कोकाकोला, कोकाकोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्लेलगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको छ ।
कोकाकोलाले नेपालमा करिब पाँच दशकअघि बालाजु (बोटलर्स नेपाल लिमिटेड) र भरतपुर (बोटलर्स नेपाल तराई लिमिटेड)मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सुरु गरेको थियो । नेपाली उपभोक्तासँगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध रहेको दाबी गर्दै कम्पनीले नेपालमा पेय पदार्थका किफायती विकल्पहरू उपलब्ध गराउँदै उनीहरूलाई आफ्नो आवश्यकताअनुसारका प्याकहरू छनोट गर्न सजिलो बनाएको जनाएको छ ।
कम्पनीले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सञ्चालन गर्ने प्रयासस्वरूप सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डसिप र महिला सशक्तीकरणलाई ध्यानमा राखेर सञ्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘वल्र्ड विदाउट बेस्ट’को विश्वव्यापी उद्देश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रक्रियामा प्लास्टिकको प्रयोग कम गर्दै आएको जनाएको छ । साथै, रिड्युस्, रिप्लेनिस र रियुजसहितको पानी कम गर्ने रणनीतिको सफल कार्यान्वयनको परिणामस्वरूप वाटर न्युट्रल कम्पनीका रूपमा स्थापना भएको कम्पनीको दाबी छ ।
कम्पनीले आफ्नो सिस्टममा आबद्ध महिलाहरूलाई सशक्त बनाउने उद्देश्यसहित सक्षम थिमको रिटेल तालिम सञ्चालन गरेको जनाएको छ । जसअन्तर्गत २०२२ को अन्त्यसम्म खुद्रा पसल र साना खाजा घरहरू सञ्चालन गर्दै आएका एक हजार महिलालाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको जनाइएको छ ।