बढे आन्तरिक हवाई यात्रु

सन् २०२१ को पहिलो तीन महिनामा पौने नौ लाखले आन्तरिक हवाई यात्रा गरेकामा यो वर्षको सुरुवाती तीन महिनामा ११ लाख ४० हजार यात्रुले हवाई यात्रा गरेका छन्

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

नेपालमा आन्तरिक हवाई यात्रुको वृद्धि उत्साहजनक देखिएको छ । सन् २०२२ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै ११ लाख ४० हजार ६ सय ३२ यात्रुले आन्तरिक हवाई सेवा प्रयोग गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २३.२८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा करिब पौने नौ लाख यात्रुले हवाई यात्रा गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

 त्रिभुवन विमानस्थल भएर जनवरीमा तीन लाख ४८ हजार पाँच सय ८६ यात्रुले आन्तरिक यात्रा गरेका थिए भने फेब्रुअरीमा तीन लाख ६१ हजार एक सय ४९ र मार्चमा चार लाख ३० हजार आठ सय ९७ यात्रुले हवाई यात्रा गरेका छन् । जबकि गत वर्षको जनवरी, फेब्रुअरी र मार्च महिनामा क्रमशः दुई लाख ४९ हजार, दुई लाख ८६ हजार र तीन लाख ४६ हजार यात्रुले जहाजबाट विभिन्न गन्तव्यमा यात्रा गरेका थिए । 

कोभिडअघि सन् २०१९ मा एक वर्षमा झन्डै ४२ लाख आन्तरिक यात्रुले हवाई यात्रा गरेका थिए । तर, २०२० मा कोभिड महामारी फैलिएपछि सरकारले लकडाउन तथा निषेधाज्ञा गरेका कारण वायुसेवाको उडानसँगै यात्रु संख्या पनि घटेर ११ लाखमा खुम्चियो भने सन् २०२१ मा कोभिडकै बीच यात्रु बढेर साढे १४ लाख पुगेका थिए । यो वर्ष यही गतिमा हवाई यात्रुहरू बढ्दै गए ५० लाख आन्तरिक यात्रु पुग्ने अनुमान वायुसेवा कम्पनीहरूको छ । त्रिभुवन विमानस्थलबाट मात्र होइन, पोखरा, नेपालगन्ज र विराटनगरलाई बेस बनाएर पनि विभिन्न गन्तव्यहरूमा दैनिक उडान भइरहेको छ । 

 बुद्ध एयरमार्फत ६ लाखभन्दा बढी यात्रु
तीन महिनाको अवधिमा बुद्ध एयरले मात्रै ६ लाख आठ हजार आठ सय ८८ यात्रु बोकेर अग्रणी बनेको छ । बुद्धले तीन महिनामा यात्रा गरेका कुल यात्रुमध्ये ५३.३८ प्रतिशत यात्रुलाई सेवा प्रदान गरेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांकले देखाउँछ । जनवरीमा एक लाख ८० हजार, फेब्रुअरीमा एक लाख ९४ हजार र मार्चमा दुई लाख ३४ हजार यात्रु बोकेको छ ।

अहिले बुद्धसँग आन्तरिक उडानका लागि १६ वटा जहाज छन्, जसले औसतमा दैनिक ६ हजार सात सय ६५ यात्रु बोकेको देखिन्छ । बुद्धले दैनिक ७३ उडान गरिरहेको छ । पोखरालाई बेस बनाएर धनगढी, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरलगायत गन्तव्यमा प्रादेशिक उडान पनि गरिरहेको छ । तीन महिनामा त्रिभुवन विमानस्थल हुँदै दुई लाख ५२ हजार सात सय २५ यात्रु बोकेर यती एयरलाइन्स दोस्रो नम्बरमा छ । यो कुल यात्रुको २२.१५ प्रतिशत हिस्सा हो । यतीले जनवरीमा ८५ हजार, फेब्रुअरीमा ७८ हजार र मार्चमा ८९ हजार यात्रुलाई सेवा प्रदान गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । श्री एयरलाइन्सले तीन महिनामा एक लाख ६४ हजार ६ सय २५ यात्रु बोकेको छ, जुन कुल यात्रु संख्याको १४.४३ प्रतिशत हिस्सा हो ।

 नेवानिको हिस्सा ०.६० प्रतिशत मात्रै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को आन्तरिक उडान हिस्सा भने दयनीय देखिन्छ । तीन महिनामा निगमले ६ हजार आठ सय ५५ यात्रु बोकेको छ, जुन कुल यात्रुको ०.६० प्रतिशत हिस्सा हो । निगमले जनवरीमा दुई हजार दुई सय १६ यात्रु बोकेको थियो भने फेब्रुअरीमा दुई हजार एक सय ३० र मार्चमा दुई हजार पाँच सय नौ यात्रु बोकेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक छ । अहिले निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज छन् । चीनबाट ल्याएका ६ वटा जहाजको आम्दानीभन्दा खर्च धेरै भएपछि निगमले एक वर्षदेखि उडान गरेको छैन ।

 निगमले पछिल्लो समय पर्याप्त जहाज नहुँदा र भइरहेका जहाज पनि पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा बजार हिस्सा गुमाउँदै गइरहेको छ । चीनबाट ल्याएका ६ वटा जहाज निगमलाई घाँडो बनेका छन् । दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र आन्तरिक उडान गर्ने चिनियाँ जहाजहरू खरिद गर्न ल्याएको ऋणको साँवा र ब्याजको दायित्व साढे ४७ अर्ब पुगेको छ । निगमले आन्तरिक उडानका लागि जहाज किन्ने योजनाहरू बनाउँदै आए पनि अस्थिर–अक्षम नेतृत्वका कारण कुनै पनि योजना सफल हुन सकेका छैनन् ।

हालै मात्र उडान सुरु गरेको गुण एयरलाइन्सले तीन महिनामा ४७ हजार यात्रु बोक्न सफल भएको छ, जुन ४.१२ प्रतिशत बजार हिस्सा हो । गुणले यती एयरलाइन्सका साना जहाज खरिद गरेर आन्तरिक उडान गरिरहेको छ । यस्तै, समिट एयरले ६ हजार (०.५२ प्रतिशत), ताराले पाँच हजार नौ सय २१ (०.५१ प्रतिशत) र सीताले दुई हजार ३६ (०.१७ प्रतिशत) यात्रु बोकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । दयनीय अवस्थामा रहेका सडकमा बसबाट असहज यात्रा गर्नुभन्दा जहाजको यात्रा अत्यन्तै सहज, सुरक्षित र समयको पनि बचत हुने भएका कारण यात्रु बढ्दै गइरहेको वायुसेवा कम्पनी बताउँछन् ।

 हेलिकोप्टर लयमा फर्किंदै 
अहिले पर्यटकीय सिजन र स्थानीय तहको निर्वाचनका कारण कोभिडले थलिएका हेलिकोप्टरको बिजनेस पनि लयमा फर्किएको छ । वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीका अनुसार अहिले हेलिकोप्टरको बिजनेस रिकभरीउन्मुख रहेको छ । विदेशी पर्यटक र चुनावी अभियानमा देश दौडाहामा निस्किने नेता–उम्मेदवारहरू बोक्न हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याई छ । सन् २०२२ को पहिलो तीन महिनामा ११ कम्पनीका हेलिकोप्टरले नौ हजार सात सय ११ यात्रु बोकेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक छ । 

मतदानको दिन आन्तरिक उडान बन्द गरिने
३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन आन्तरिक उडानहरू बन्द हुने भएका छन् । स्थानीय निर्वाचनको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द हुने भएकाले निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९’ बमोजिम आन्तरिक वायुसेवा कम्पनीहरूले पनि आफ्नो नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघले निर्णय गरेको हो । तर, मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानहरू भने नरोकिने बताइएको छ । 

सुझावित समाचार