नेपाली पर्यटनले बिस्तारै लय समात्न लागेको वेलामा फैलिएको कोभिड महामारीले पर्यटन नराम्रोसँग थला परेको छ
रकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, वर्षको सुरुदेखि नै कोभिड महामारी फैलिन थालेपछि पर्यटन क्षेत्र नराम्रोसँग थला पर्यो । दोब्बर पर्यटक भित्र्याउन लक्ष्य राखिएको भ्रमण वर्षमै ८० प्रतिशतभन्दा बढीले पर्यटक घटे । कोभिडअघि सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल भ्रमणमा आएकोमा सन् २०२० मा दुई लाख ३० हजार मात्र आए । सन् २०२१ मा पर्यटक आगमन त्यसमा पनि ३४ प्रतिशतले घटेर डेढ लाखमा खुम्चियो ।
नेपाली पर्यटनले बिस्तारै लय समात्न लागेको वेलामा फैलिएको कोभिड महामारीले पर्यटन नराम्रोसँग थला परेको छ । पछिल्लो समय भने महामारी कम हुँदै गएपछि मार्च महिनामा ४२ हजार पर्यटक नेपाल आएका छन् । अब पर्यटक आगमन क्रमशः सुधार हुँदै जाने अनुमान गर्न सकिन्छ । सरकार र पर्यटन व्यवसायीले मिलेर पर्यटन प्रवर्द्धनमा लागेमा सन् २०२३ देखि पर्यटन क्षेत्र लयमा फर्किने वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् ।
नेपाल पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । तर, जतिसुकै सम्भवना भए पनि वर्षमा १० लाख पर्यटक पुर्याउन कठिन भइरहेको छ । त्यसमाथि खर्चालु पर्यटक आगमन अत्यन्तै कम छ । नेपाल साहसिक, धार्मिक, सांस्कृतिक र प्रकृतिमा रमाउने पर्यटकका लागि विश्वमै अग्रणी मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि आठ हजार मिटरभन्दा अग्ला अधिकांश हिमाल मात्र नभई ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदालगायतमा नेपालले वरदान नै पाएको छ । पर्यटन पूर्वाधार अभाव र भएका प्रडक्टहरूको अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्न नसक्दा पर्यटन क्षेत्रबाट लाभ लिन नसकेको स्पष्ट छ ।
एकताका नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘साहसिक गतिविधिमा रमाउन खोज्ने विश्वका नवजवानलाई पागल बनाउने तागत नेपालसँग छ, साहसिक पर्यटनमा नेपालभन्दा उत्कृष्ट अर्को मुलुक हुनै सक्दैन ।’ नेपाललाई नजिकबाट बुझेका मोदीले साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य यसै भनेका थिएनन् । मोदीले भनेजस्तै नेपाल साहसिक मनोरञ्जनात्मक खेलका लागि विश्वकै पहिलो रोजाइको गन्तव्य बन्न सक्थ्यो । तर, हामीले त्यो सम्भावना पहिचान गर्नै सकेनौँ ।
पछिल्लो समय बन्जी, स्विङ, र्याफ्टिङ, स्काई डाइभिङ, जंगल सफारीलगायत साहसिक गतिविधि चर्चामा छन् । तर, त्यहाँ डलर भित्र्याउने विदेशी पर्यटक त्यति देखिँदैनन् । आन्तरिक पर्यटककै भरमा चल्नुपरेको छ । हिमाल आरोहण र ट्रेकिङमा मात्र विदेशी पर्यटक ल्याउन सकेका छौँ ।
पर्यटनको इतिहास
नेपालको पर्यटन हिमाल आरोहणबाट सुरु भएको मानिन्छ । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले पहिलोचोटि आठ हजार मिटर अग्लो हिमाल (अन्नपूर्ण)मा आरोहण गरेपछि त्यो सफलता संसारभरि चर्चाको विषय बन्यो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि नेपाल संसारभरि हिमालयको देश भनेर चिनिएको मिश्र बताउँछन् । सन् १९६० को दशकमा जिम्मी रोबर्टस्ले नेपालमा ट्रेकिङ व्यवसाय चलाउन थाले । सोही दशकमा हिप्पी मुभमेन्ट पनि सुरु भइहाल्यो, जसले नेपाललाई संसारभरि चिनाउने काम गर्यो । चितवन राष्ट्रिय निकुञ्जमा खुलेको टाइगर टप्सले त नेपाललाई सफारीका लागि पनि उत्कृष्ट गन्तव्यका रूपमा विश्वभर चिनायो । महँगो मूल्य तिरेर अफ्रिकाको जंगलमा रमाउन जाने पर्यटकलाई निकुञ्जभित्र तान्न सफल भएका लजहरू एक दशकदेखि बन्द हुँदा भग्नावशेषमा परिणत हुँदै छन् । यसका साथै नेपालले जंगल सफारी गन्तव्यको एउटा परिचय पनि गुमाउन पुगेको छ ।
१५औँ आवधिक योजनाले कुल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत हाराहारी रहेको पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, ०८०/८१ सम्म विदेशी पर्यटक आगमन ३५ लाख पुर्याउने योजना छ।
अन्नपूर्ण हिमाल आरोहणलाई आधार मान्ने हो भने नेपाली पर्यटनको इतिहास सात दशक पुगिसकेको छ । तर, अझै हामी त्यतिवेलै विकास गरिएका हिमाल आरोहण, ट्रेकिङ र सफारीमै अडिएका छौँ । नयाँ पर्यटकीय प्रडक्ट विकास गरे पनि त्यसमा विदेशी पर्यटक आकर्षित गर्न सकेनौँ । नेपालको पर्यटन विकासमा विदेशी नागरिकको अहं भूमिका छ । हिमाल आरोहणदेखि ट्रेकिङ, सफारी, र्याफ्टिङ, बन्जी, स्विङलगायत सबै प्रडक्ट विदेशी नागरिकले नै विकास गरिदिएका हुन् । भ्रमणमा आएका पर्यटक/अनुसन्धाताले किताब लेखेर नेपाललाई विश्वमा एक्स्पोलर गरिदिए । अहिले पनि विदेशी मिडियाले नै काठमाडौं विश्वकै घुम्नै पर्ने सहर, नेपालको बन्जी विश्वकै उत्कृष्ट, स्काई डाइभ पनि नेपालकै उत्कृष्ट भनेर प्रचार गरिदिएका छन् । हामी विश्वबजारमा आफ्ना प्रडक्टहरूको सशक्त मार्केटिङ गर्न चुकिरहेको पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशी स्वीकार गर्छन् ।
तीन अन्तर्राष्ट्रिय विमानस्थल
विदेशी पर्यटक भित्र्याउने मुख्य ‘गेटवे’ अन्तर्राष्ट्रिय विमानस्थल ७२ वर्षदेखि एउटा मात्र थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरिँदै जाँदा उडान थपेर पर्यटक भित्र्याउन पनि कठिन थियो । ‘त्रिभुवन विमानस्थलबाट मात्रै वार्षिक १२–१५ लाखभन्दा बढी पर्यटक भित्र्याउन गाह्रै हुन्थ्यो,’ जोशीले भने, ‘हामीलाई एयरपोर्ट, सडकलगायत पर्यटन पूर्वाधारको अभाव थियो ।’ दुईवटै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएपछि आगामी तीन वर्षभित्र २० लाख पर्यटक भित्रिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको आकलन छ । नयाँ विमानस्थलबाट नयाँ–नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान हुने र ती ठाउँबाट पनि पर्यटक आउन थाल्ने उनको ठम्याइ छ ।
कोभिड कम हुँदै गएसँगै नेपालमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिँदै छन् । २ जेठदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने तयारीमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लागिपरेको छ । पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल पनि सकिनै लागेको छ । यस्तै, तराईका विराटनगर, नेपालगन्ज, धनगढीलगायत विमानस्थललाई स्तरोन्नति गरेर छिमेकी मुलुकका सहरमा क्षेत्रीय उडान भर्ने गरी स्तरोन्नति गर्ने तयारी छ । अब विदेशी पर्यटक भित्र्याउन एयरपोर्ट पूर्वाधार अवरोधक नहुने पर्यटन व्यवसायी मिश्रको बुझाइ छ । त्यसो त क्यानले निजगढमा ४५ सय मिटर लम्बाइको चारवटा धावनमार्गसहितको विमानस्थल पाँच चरणमा निर्माण गर्ने गरी ५० वर्षको गुरुयोजना तयार पारिसकेको छ । करिब दुई खर्ब लगानी अनुमान गरिएको पहिलो चरण सन् २०२९ सम्ममा सम्पन्न गरिसक्ने गुरुयोजनाको लक्ष्य छ । निजगढ विमानस्थलको पहिलो चरणमै वार्षिक ९० लाख पर्यटकलाई ह्यान्डलिङ गर्न सकिने क्यानको राष्ट्रिय गौरवका आयोजनाको प्रोजेक्ट इम्लिमेन्टेसन एन्ड कोअर्डिनेसन प्रमुख चाँदमाला श्रेष्ठ बताउँछिन् ।
०८०/८१ सम्म वार्षिक ३५ लाख पर्यटक पुर्याउने लक्ष्य

पछिल्लो समय देशमा पर्यटकीय प्रडक्टको विकास राम्रै भइरहेको छ । आन्तरिक पर्यटकका कारण काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, खुम्बु, अन्नपूर्णबाहेक पनि नयाँ नयाँ गन्तव्य थपिएका छन् । खोलाका किनार, डाँडाकाँडा, जंगलदेखि ताल तलैयासम्म आन्तरिक पर्यटकले गुल्जार छन् । ती ठाउँहरूमा विदेशी पर्यटक पनि लैजानुपर्ने जोशी बताउँछन् ।
नेपालमा निजी क्षेत्रले बन्जी, स्विङ, जिपलाइन, केबलकारलगायत प्रडक्टहरू निर्माणमा तीव्रता दिइरहेको छ । हिमाल आरोहण, ट्रेकिङ, सफारी, र्याफ्टिङ, प्याराग्लाइडिङ पुरानै पर्यटकीय प्रडक्ट भइहाले । जिपलाइन, क्यानोनिङ, अल्ट्रा फ्लाइट, रक क्लाइम्बिङ, हाइकिङ, बाइकिङ, साइक्लिङ, माउन्टेन फ्लाइट, स्काई डाइभिङलगायत गविधि पनि लोकप्रिय हुँदै गइरहेका छन् । एक्स्प्लोर हिमालयले केही महिनाअघि एक हप्तासम्म पोखरामा आयोजना गरेको स्काई डाइभिङमा एक सय ८० जनाको सहभागिता थियो, जसमध्ये अधिकांश भारतीय पर्यटक थिए ।
यस्तै, नेपालका ऐतिहासिक सम्पदाहरू, बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरलगायत गन्तव्य धार्मिक पर्यटकका लागि महत्वपूर्ण छन् । स्प्रिचुअल टुरिजमका लागि नेपाल विश्वकै उत्कृष्ट ठाउँ रहेको पर्यटन व्यवसायी मिश्र बताउँछन् । अब यी प्रडक्टको आकर्षक प्याकेज बनाएर अन्तर्राष्ट्रिय बजारमा सशक्त बजारीकरण गर्न सकेमा पर्यटनका लागि आगामी वर्ष सुनौला रहेको उनको भनाइ छ ।
विदेशी पर्यटकको नेपालमा औसत बसाइ अवधि ०८०/८१ सम्ममा १५ दिन पुर्याउने लक्ष्य राखिएकोमा ०७७ मै पूरा भएको छ । ०८६/८७ सम्म पर्यटकको औसत बसाइ अवधि लम्ब्याएर १८ दिन पुर्याउने लक्ष्य राष्ट्रिय योजना आयोगको छ ।
पछिल्लो समय गाउँ–गाउँमा पनि ग्रामीण पर्यटनको अवधारणा लागू हुँदै छ, तर सबै अवधारणा सफल हुन भने सकेका छैनन् । स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ, भुजुङ, सिन्धुपाल्चोकको हेलम्बु ग्रामीण पर्यटनका उत्कृष्ट नमुना हुन् । देशका अरू ठाउँहरूमा पनि पर्यटकीय पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनुपर्ने जोशीको भनाइ छ । प्रदेश सरकार र स्थानीय तहहरू पनि आ–आफ्नो क्षेत्रमा पर्यटकीय गन्तव्य र प्रडक्ट विकासमा लागिरहेका छन् ।
सरकारले देशभरबाट सय ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरी पूर्वाधार विकास गर्ने भनेको थियो । राजनीतिक स्वार्थसहित छनोट गरिएका गन्तव्य अहिले गुमनाम छन् । एकाध ठाउँमा पूर्वाधार निर्माण गरिए पनि अधिकांश ठाउँ ओझेलमा परेका छन् । सरकारले ती गन्तव्यमा आवश्यक पूर्वाधार विकास गरेर पर्यटकीय केन्द्र बनाउनुपर्ने देखिन्छ । यस्तै, देशका विभिन्न डाँडामा चन्द्रागिरिजस्तै पर्यटकीय हिल्स विकास गर्ने लक्ष्य लिइएको थियो । तर, यसमा पनि अपेक्षित काम हुन सकेको छैन ।
विश्व पर्यटन बजारमा नेपाललाई अग्रेणी स्थानमा स्थापित गर्ने लक्ष्य पन्ध्रौँ अवधिक योजनाको छ । यस्तै, कुल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत हाराहारी रहेको पर्यटन क्षेत्रको योगदान ०८०/८१ सम्म बढाएर १० प्रतिशत, विदेशी पर्यटक आगमन ०८०/८१ सम्म ३५ लाख पुर्याउने पनि लक्ष्य छ । सरकारले पन्ध्रौँ आवधिक योजनामार्फत वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि कोभिड महामारीले सो योजना सफल नहुने करिब निश्चित छ ।
०८०/८१ सम्म आन्तरिक हवाई यातायात प्रयोग गर्ने यात्रु ४६ लाख र अन्तर्राष्ट्रिय यात्रु ६९ लाख ५४ हजार पुर्याउने लक्ष्य छ । कोभिडकै बीच आन्तरिक यात्रु वार्षिक ३५ लाख पुगिसकेका छन्, दुई वर्षमा लक्ष्य भेट्टाउन सम्भव देखिन्छ । तर, कोभिडका कारण अन्तर्राष्ट्रिय यात्रु स्वात्तै घटेको हुँदा पन्ध्रौँ आवधिक योजनाको लक्ष्य भेट्टाउने सम्भवना देखिँदैन । पर्यटन मन्त्रालयले बनाएको १० वर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजनामा पर्यटन क्षेत्रको समग्र विकासका लागि ११ वटा विशेष रणनीतिक लक्ष्य तय गरिएको छ ।
नेपालमा जति पर्यटकीय सम्भवना छ, त्यति पर्यटक ल्याउन नसकेको यथार्थ हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको दशकदेखिको लक्ष्य बल्ल सन् २०१८ मा आएर पूरा भएको थियो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरे पनि कोभिड महामारीले सफल हुन सकेन । कोभिड कम हुँदै गएपछि सन् २०२२ देखि पर्यटक आगमन क्रमशः बढ्दै गइरहेको छ । चीनले आफ्ना नागरिकलाई भ्रमणमा रोक लगाउँदा पनि मार्च २०२२ मा ४२ हजार पर्यटक विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१६ देखि २०२५ सम्मको १० वर्षे मध्यावधिक राष्ट्रिय पर्यटन रणनीतिक योजना बनाएको छ । यस्तै, राष्ट्रिय योजना आयोगको १५औँ आवधिक योजनामा पनि पर्यटन पूर्वाधार र पर्यटक आगमन बढाउने योजना अगाडि सारिएको छ । १५औँ योजनामा ०८०/८१ सम्म प्रतिपर्यटक प्रतिदिन खर्च सय डलर र ०८६/८७ सम्म १५० डलर पुर्याउने लक्ष्य राखिएको छ । विदेशी पर्यटकको नेपालमा औसत बसाइ अवधि ०८०/८१ सम्ममा १५ दिन पुर्याउने लक्ष्य राखिएकोमा ०७७ मै पूरा भएको छ । ०८६/८७ सम्म पर्यटकको औसत बसाइ अवधि लम्ब्याएर १८ दिन पुर्याउने लक्ष्य राष्ट्रिय योजना आयोगको छ ।
पाँच वर्षभित्र निगमसँग एक दर्जन अन्तर्राष्ट्रिय उडान भर्ने जहाज
आगामी पाँच वर्षभित्र नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक दर्जन जहाज पुर्याउने लक्ष्य राखिएको छ । तर, अहिले भइरहेकै चारवटा जहाज पनि नियमित उडाउन नसक्दा निगम जहाज किन्दा लिएको ऋणको चपेटामा पर्दै गइरहेको छ । देशमा ठूलो संख्यामा पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकलाई पनि चुस्त बनाउनुपर्ने पर्यटन व्यवसायी मिश्रको भनाइ छ । आन्तरिक उडानका बुद्ध, यती, तारा, समिट, सीता, सौर्य, श्रीलगायत वायुसेवा कम्पनी जहाज थप्ने प्रतिस्पर्धामा छ । बुद्ध एयरले पर्यटकीय सहर पोखरालाई आधार बनाएर सातै प्रदेशमा उडान सुरु गरिसकेको छ । देशभित्र अन्तरप्रादेशिक उडानले आन्तरिक पर्यटन बढाउन ठूलो सहयोग पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।
सरकारी नीति र निजी क्षेत्रको सक्रियतामा फस्टाएको पर्यटन : माल्दिभ्स, कम्बोडिया र थाइल्यान्ड
माल्दिभ्स

माल्दिभ्स विश्वमा जिडिपीमा पर्यटन क्षेत्रको सबभन्दा धेरै योगदान रहेको मुलुक हो । यो मुलुकको जिडिपीमा पर्यटनको योगदान ७५ प्रतिशतभन्दा बढी छ । यहाँको करिब ३८ प्रतिशत रोजगारीमा पर्यटन क्षेत्रको योगदान छ । पर्यटन क्षेत्रबाट मात्रै पनि माल्दिभ्सले वार्षिक करिब ३ अर्ब डलर आम्दानी गर्छ । निकै सानो र कम जनसंख्या भएको यो टापु मुलुकले पर्यटन क्षेत्रको योगदानबाट अर्थतन्त्रको आकार नौ अर्ब डलर हाराहारी पुर्याएको छ । सन् १९७० सम्म पर्यटकका लागि अपरिचित माल्दिभ्सले सन् १९७२ बाट पर्यटन र मत्स्य व्यवसायलाई मुलुक विकासको मुख्य क्षेत्र बनाएपश्चात् यहाँको अर्थतन्त्रमा कायापलट भएको हो । उसले कोभिड– १९ अघि सन् २०१९ मा १७ लाख पर्यटकलाई स्वागत गरेको थियो । माल्दिभ्सले मानव बसोवास नभएका आफ्ना बाह्र सयभन्दा धेरै टापु, सामुद्रिक कोरल रिफ एवं कोरल आइल्यान्डहरूलाई आकर्षणका रूपमा प्रयोग गरेर पर्यटक भित्र्याइरहेको छ । खर्चिला पर्यटकहरू यहाँका कोरल टापु, रिफ र बिचहरूमा नौकाविहार, स्नोक्र्लिङ, पिकनिकका लागि आउँछन् । केवल साढे पाँच लाख जनसंख्या भएको यो मुलुकको पर्यटन व्यवसाय बर्सेनि निरन्तर वृद्धिमा देखिन्छ ।
कम्बोडिया

भूगोलमा नेपालभन्दा केही ठूलो, तर जनसंख्यामा झन्डै आधा सानो कम्बोडियाको जिडिपी नेपालको भन्दा लगभग दोब्बर ठूलो छ । सन् १९७० देखि १९८० को दशकसम्म पोलपोट नेतृत्वको खमेरुज शासनकालमा आमनरसंहार भोगेको विपन्न कम्बोडिया पर्यटन क्षेत्रमा उत्साहजनक फड्को मार्ने मुलुकमा पर्छ । कम्बोडियाको पर्यटन क्षेत्रको जिडिपीमा योगदान गत दुई दशकमा साढे तीन सय प्रतिशतभन्दा धेरैले वृद्धि भएको देखिन्छ । पर्यटकको आगमनको संख्यामा पनि दुई दशकमा दश गुणाभन्दा धेरैले वृद्धि भएको छ । यो मुलुकले सन् २०१८ मा ६० लाख विदेशी पर्यटक भित्र्याएको थियो । रोजगारीमा पर्यटन क्षेत्रको योगदान साढे ३० प्रतिशतभन्दा बढी छ । पर्यटन क्षेत्रले मात्रै २५ लाखलाई रोजगारी दिएको छ । ।
थाइल्यान्ड

दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै पर्यटक भित्र्याउने मुलुकमा पर्छ थाइल्यान्ड । पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास अघि बढाउने मुलुकमा थाइल्यान्ड पनि पर्छ । यहाँको जिडिपीमा पर्यटन क्षेत्रको योगदान २२ प्रतिशतभन्दा बढी रहेको छ । थाइल्यान्डको जिडिपीको आकार पाँच खर्ब १८ अर्ब डलरबराबरको छ । अर्थात् पर्यटनले यहाँको जिडिपीमा एक खर्ब ४० अर्ब डलरभन्दा धेरै योगदान गरेको छ । थाइल्यान्ड प्रसिद्ध फुकेट बिच, भव्य बौद्ध मन्दिरहरू र खानपिनका लागि प्रख्यात छ । थाइल्यान्डले आफ्ना प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूलाई पर्यटनका लागि भरपूर उपयोग गरेको देखिन्छ । यहाँका १४ सयभन्दा धेरै टापु, मोहक सामुद्रिक किनार, धार्मिक उत्सव एवं ध्यानकेन्द्र उसका पर्यटक भित्र्याउने माध्यम भएका छन् । पर्यटनमैत्री नीति र निजी क्षेत्रको सक्रियतामा नै थाइल्यान्डको पर्यटन फस्टाएको हो ।