सात महिना धाउँदा पनि आएन डायलाइसिसको पालो

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण
सात महिना धाउँदा पनि आएन डायलाइसिसको पालो

नि:शुल्क डायलाइसिस सेवा लिन सर्लाहीका सरोजकुमार चौधरी पत्नी र काखे बालकसहित भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा जाँदै, उनी सात महिनादेखि यसरी नै धाइरहेका छन्, तर अहिलेसम्म डायलाइसिसको पालो पाएका छैनन्  । तस्बिर : सञ्जित परियार

देशभरका ७३ केन्द्रबाट ५५ सयले नि:शुल्क डायलाइसिस सेवा लिइरहेका छन्, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मात्रै ३५५ बिरामी पालो कुर्दै

- सर्लाहीका २५ वर्षीय सरोजकुमार चौधरीको मिर्गौला फेल भएको तीन वर्ष भयो । निःशुल्क डायलाइसिस सुविधा प्रदान गर्ने सरकारी अस्पतालमा पालो नपाएपछि उनी ऋणधन गरेर निजी अस्पताल जान बाध्य भए । यसबीचमा आफन्तबाट सापटी गरेको पाँच लाख मात्रै सकिएन, बैंकमा घर–जग्गा धितो राखेर निकालेको चार लाख पनि सकियो । गरिबीले अचेट्दै गएपछि उनी फेरि नि:शुल्क डायलाइसिसका लागि भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र धाउन थालेको सात महिना भयो, तर अझै पालो पाएका छैनन् । अहिले भक्तपुरकै मध्यपुर थिमिस्थित निजी अस्पताल समिटमा पैसा तिरेर सातामा तीनपटक डायलाइसिस गराइरहेका छन् । तर, त्यहाँ दिने पैसा जोहो गर्न असमर्थ हुँदै गएका उनी नि:शुल्क डायलाइसिस सुविधा पाइन्छ कि भनेर अंग प्रत्यारोपण केन्द्र पनि धाइरहेका छन् । त्यसका लागि सल्लाघारीमै डेरा लिएर बसेका छन् । 

‘एकचोटि डायलाइसिस गराउँदा अस्पताल शुल्क चार हजार, रगत फिल्टर गरेको नौ सय बुझाउनुपर्छ । हप्तामा तीनपटक नियमित डायलाइसिस र औषधिको जोड्दा १८ देखि २० हजारसम्म खर्च भइरहेको छ,’ डायलाइसिसको पालो मिलाइदिन भन्दै मानव अंग प्रत्यारोपण केन्द्र पुगेका सरोजकुमारले भने, ‘अब त आफन्तले पनि ऋण दिन छाडिसके ।’

- काभ्रेको धुलिखेलकी ७५ वर्षीया गोकुलमाया श्रेष्ठ पनि चार महिनादेखि निःशुल्क डायलाइसिस पाउने आसमा मानव अंग प्रत्यारोपण केन्द्रमै नियमित धाइरहेकी छिन् । एक वर्षअघि दुवै मिर्गौला फेल भएपछि उनले डायलाइसिसका लागि नाम टिपाएकी थिइन् । वृद्धावस्थाका कारण शल्यक्रिया सफल हुने सम्भावना न्यून भएको भन्दै परिवारले बाँचुन्जेलसम्म डायलाइसिस गराउने निष्कर्ष निकालेका छन् । तर, निजी अस्पतालमा एक सातामै डायलाइसिसको खर्च मात्रै १५ हजारभन्दा बढी हुने भएपछि निःशुल्क सेवाका लागि पालो कुरिरहेका छन् । 

- मिर्गौलारोगी दाङकी ५५ वर्षीया गायत्री बस्नेतले तीन वर्षदेखि तुल्सीपुरमा डायलाइसिस गराउँदै आएकी थिइन् । तर, यही समस्याबीच उनलाई हेपाटाइटिस बी पजिटिभ देखियो । अब तुल्सीपुरमा उनको डायलाइसिस हुन नसक्ने भयो र काठमाडौं रिफर गरियो । हेपाटाइटिस बी, सी र एचआइभी संक्रमितका लागि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र राष्ट्रिय मिर्गौला केन्द्रमा मात्रै डायलाइसिस सेवा उपलब्ध छ । तर, मानव अंग प्रत्यारोपण केन्द्र आएकी उनले डायलाइसिसका लागि ‘जटिल स्वास्थ्य समस्या’ कुर्नुपर्ने भएको छ । अर्थात् उनलाई इमर्जेन्सी अवस्थामा मात्रै यो सुविधा दिने भनिएको छ । संक्रमितका लागि डायलाइसिस मेसिन उपलब्ध भएको अस्पतालमा पालो नपाएपछि उनी एक महिनादेखि नियमित डायलाइसिसबाटै वञ्चित भएकी छिन् । 

गायत्रीको श्वासप्रश्वासमा जटिल समस्या भएपछि इमर्जेन्सी डायलाइसिसका लागि आइतबार केन्द्र पुगेको उनका श्रीमान् बमबहादुरले गुनासो गरे, ‘तुल्सीपुरमा उपचार सम्भव नभएपछि यहाँ आउनुको विकल्प रहेन । निकै गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल ल्याएको हुँ । तर, डायलाइसिसको पालो आएको छैन । एक महिनादेखि राम्ररी डायलाइसिस हुन सकेको छैन । ’ उनका अनुसार गायत्रीको उपचारमा १५ लाखभन्दा बढी खर्च भइसकेको छ । काठमाडौंमा महँगो खर्च गरेर उनीहरू होटेलमा बस्न बाध्य छन् । ‘नियमित डायलाइसिस हुन सकेको छैन । तर, पालो पाउने आसमा होटेलमा बस्नुपरेको छ । उपचारको ऋणले थलिएका वेला सधैँ होटेलमा चर्को खर्च गरेर कसरी धान्नु ?’ उनले भने, ‘डायलाइसिसको टुंगो लागे काठमाडौंमै कोठा भाडामा लिएर बस्ने सोच छ । तर, पालो पाउनै मुस्किल भयो ।’ 

- काभ्रेकी जमुना ढुंगानाको मिर्गौला सुन्निएर अस्पताल धाउन थालेको चार महिना पुग्यो । शरीर पूरै सुन्निएर समस्या भएपछि उनलाई आइतबार उपचारका लागि मानव अंग प्रत्यारोपण ल्याइएको थियो । मिर्गौला फेल हुने अवस्थामा पुगेको भन्दै उनलाई अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिए पनि वार्ड खाली नहुँदा भर्ना पाइनन् । अस्पतालले गम्भीर समस्या भएकालाई इमर्जेन्सीमा राखेर सेवा दिए पनि नियमित डायलाइसिसका लागि पालो नपाउँदा अधिकांश बिरामी गम्भीर स्वास्थ्य समस्या कुरेर बस्न बाध्य छन् । 

...                                                   ...

यि प्रतिनिधि पात्र मात्र हुन् । मानव अंग प्रत्यारोपण केन्द्रमा मात्रै उनीजस्ता तीन सय ५५ मिर्गौलारोगी डायलाइसिसको पालो नपाएर हैरान छन् । ३५ वटा मात्रै डायलाइसिस मेसिन सञ्चालनमा रहेको केन्द्रले अहिले दैनिक तीन ‘सिफ्ट’मा ९० जनाको डायलाइसिस गराउन सक्छ । बिरामीको हप्तामा दुईदेखि तीनपटकसम्म डायलाइसिस गर्नुपर्ने भएकाले करिब दुई सय ५० बिरामीको मात्रै डायलाइसिस गराउँदै आएको छ । यसमा पनि कतिपयले पालो नपाएर एकपटक मात्रै डायलाइसिस गरेर चित्त बुझाउनुपरेको छ । 

‘अस्पतालमा ३५ वटा मात्रै डायलाइसिस मेसिन छन् । दैनिक तीन सिफ्टमा ९० भन्दा बढी बिरामीको डायलाइसिस भइरहेको छ । सातामा अढाई सय बिरामीले यो सेवा लिइरहेका छन्,’ नेफ्रोलोजी विभाग प्रमुख कल्पना श्रेष्ठले भनिन्, ‘कोभिड संक्रमणको समयमा प्रत्यारोपण नहुँदा अहिले बिरामीको चाप बढिरहेको छ । अन्य अस्पतालको तुलनामा यो संख्या मानव अंग प्रत्यारोपण केन्द्रमा बढी छ ।’ 

डायलाइसिस र प्रत्यारोपणको पालो मिलाइदिन भन्दै दैनिक सय बिरामी अस्पतालको हेल्प डेस्कमा आउने गरेको स्वयंसेवामा खटिएका केदार पुडासैनीले बताए । उनी पनि मिर्गौलारोगी नै हुन् । वीर अस्पतालमा डायलाइसिस गराउँदै आएका उनी नियमित डायलाइसिस गराउँदाबाहेकको समयमा अन्य मिर्गौलापीडितको सहयोगका लागि भन्दै अंग प्रत्यारोण केन्द्रको हेल्प डेस्कमा बस्ने गरेका छन् । 

‘डायलाइसिस र प्रत्यारोपणका लागि पालो मिलाइदिन भन्दै हात जोडेर रुँदै आउनेहरू पनि छन्,’ पुडासैनीले भने, ‘सीमित उपकरण र जनशक्तिका कारण अस्पतालले उनीहरूलाई समयमै सेवा दिन सकेको छैन ।’ 

देशभर ७३ डायलाइसिस केन्द्रमा साढे पाँच हजारले नि:शुल्क सेवा लिँदै, २५ सयको प्रत्यारोपण

देशभर ७३ डायलाइसिस केन्द्रबाट मात्रै नि:शुल्क डायलाइसिस तथा प्रत्यारोपणको सुविधा छ । दुई हजार पाँच सयको मिर्गौला प्रत्यारोपण भएको छ भने पाँच हजार पाँच सयले डायलाइसिस गराइरहेका छन् । मिर्गौला फेल भएपछि अन्तिम उपचार प्रत्यारोपण नै हो । प्रत्यारोपण नहुँदासम्मको अवधिमा डायलाइसिस गराउनुपर्छ । निजी अस्पतालमा डायलाइसिस गराइरहेका मिर्गौलारोगीको तथ्यांक भने छैन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अहिलेसम्म ३० लाख मानिसले मिर्गौलाको सामान्यदेखि जटिल समस्या भोगेको र बर्सेनि तीन हजारको मिर्गौला फेल हुने गरेको छ । 

मिर्गौला दाता पाए पनि रगत समूह नमिल्दा प्रत्यारोपणबाट वञ्चित 
दाता उपलब्ध भए पनि रगत समूह नमिल्दा कतिपय बिरामी प्रत्यारोपणबाट वञ्चित हुनुपरेको छ । एधक उदाहरण हुन् भक्तपुरकी ५४ वर्षीया सुनिता पुडासैनी । उनी दुई वर्षदेखि रगत समूह ‘ओ पजिटिभ’ रहेको मिर्गौला साटफेर गर्ने व्यक्तिको खोजीमा छिन् । उनका ३१ वर्षीय छोरा मिर्गौला दिन तयार भए पनि उनको ‘बी पजिटिभ’ रगत समूह भएको मिर्गौला लिने बिरामी नभेटिँदा समस्या भोग्नुपरेको पुडासैनीले बताइन् । आफन्तबाहेक अन्य व्यक्तिसँग साटफेर गरेर मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । तर, सामान्य अवस्थामा आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने भएकाले अधिकांश बिरामी दाताको अभावमा वर्षौँसम्म डायलाइसिसको भरमा बाँच्न बाध्य छन् । 

वनस्थलीको यो टहरामुनि डायलाइसिस गर्नुपर्ने १२ बिरामी

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

बिरामीहरूको पीडा : उपचार गर्दागर्दै घरखेत गयो, थप उपचारका लागि खर्च छैन

जस्ताले छाएको टहरामुनि साँघुरो कोठा । तापक्रम बढेसँगै हपहपी गर्मी । कोठाको छेउमा रहेको सानो खाटमा पल्टिएका गणेश मल्ल पानीको प्यासले छटपटाइरहेका थिए । छोरा प्यासले छटपटिएको हेरिरहँदा छेवैमा रहेकी आमा मीना मल्लको आँखाभरि आँसु टिलपिलाएको थियो । 

गणेशले धित मरुन्जेल पानी पिउन नपाएको पाँच वर्ष भयो । छोरालाई धित मरुन्जेलसम्म पानी पिउन दिने ठूलो रहर छ मीनालाई । तर, मिर्गौला फेल भएर नियमित डायलाइसिस गराइरहेका गणेशलाई स्वास्थ्य अवस्थाका कारण धेरै पानी पिउन मिल्दैन । पाँच वर्षअघि छोराको मिर्गौला प्रत्यारोपण गर्न भन्दै काठमाडौं पसेकी मीनाले उपचारका लागि घरखेत बेचिसकेकी छिन्, तर छोराको अवस्था ज्युँकात्युँ छ । 

वनस्थलीमा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रको पछाडिबाट दायाँतर्फ लगभग तीन सय मिटरको दूरीमा जस्ताको ठूलो गेट देखिन्छ । वरिपरि जस्ताकै बार छ । भित्र पनि जस्ताले नै छाएका टहरा छन्, जसलाई ‘मिर्गौला बिरामीको घर’को नामले चिनिन्छ । मिर्गौला फेल भएर वर्षौँदेखि डायलाइसिस गर्दै आएका १२ बिरामी यही टहरोमा भाडामा बस्दै आएका छन्, कोही परिवारसँग, कोही एक्लै । राष्ट्रिय मिर्गौला उपचार केन्द्रसम्म पुग्न सजिलो हुने भएकाले वर्षौँदेखि उनीहरू एउटै घरमा बस्दै आएका छन् । 

यहीँ एउटा सानो कोठामा पाँच वर्षदेखि दुई छोरा र श्रीमान्सँग बस्दै आएकी छिन् मीना पनि । १२ वर्षको उमेरमा छोराको मिर्गौला फेल भएको थाहा भएपछि रुकुमबाट खेत बन्धकी राखेर त्रिवि शिक्षण अस्पताल आएकी थिइन् उनी । छोरालाई आफ्नै मिर्गौला दिन तयार भएपछि स्वास्थ्य परीक्षण गरियो । तर, गणेशको शल्यक्रियाका लागि रगत नियमित फिल्टर गर्नुपर्ने भएकाले १५ लाख खर्च लाग्ने अस्पतालले जनायो । त्यतिवेलासम्म उनले घरखेत बन्धकी राखेर १४ लाख खर्च गरिसकेकी थिइन् । प्रत्यारोपणका लागि खर्च नपुगेपछि शल्यक्रिया रोकियो । गणेशले हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा हप्ताको तीनपटकसम्म डायलाइसिस गराइरहेका छन् । 

छोराको उपचारका लागि घरखेत बेचेर भाडामा बस्दै आएकी मीना भन्छिन्, ‘म छोरालाई मिर्गौला दिन तयार छु, तर प्रत्यारोपण गर्दा लाग्ने पैसा छैन । अब त नियमित औषधि र रगतका लागि नै खर्च जुटाउन मुस्किल भइसक्यो । प्रत्यारोपणका लागि पैसा कहाँबाट जुटाउनु ?’

राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा डायलाइसिस निःशुल्क गराउँदै आए पनि रगत बढाउने इन्जेक्सन र औषधिका लागि मात्रै महिनामा कम्तीमा ३० हजार खर्च हुने बताउँछिन् उनी । भन्छिन्, ‘गाउँ फर्किउँ भने बस्नका लागि घर छैन । छोराको उपचार गर्न पनि सम्भव छैन, श्रीमान्ले दैनिक मजदुरी गरेर ल्याएको पैसाले खानु कि घरभाडा तिर्नु ?’

उही टहरोमा बस्दै आएकी खुसमाया घलेको पनि पीडा उस्तै छ । झट्ट हेर्दा ५० कटेजस्तो देखिने उनी भर्खर ३५ वर्षकी भइन् । नियमित डायलाइसिस र औषधिका कारण गाला चाउरिसकेका छन् । सुईले गर्दा हातका नसामा गाँठाहरू प्रशस्तै देखिन्छन् । चार वर्षअघि मिर्गौला दिन तयार रहेकी आमाको मिर्गौलामै फोका देखिएपछि उनले प्रत्यारोपणको आस मारेकी छिन् । श्रीमान्ले मजदुरी गरेर ल्याएको पैसाले घर खर्च जेनतेन चलेको छ । कहिलेकाहीँ राति एक्कासि गाह्रो हुँदा निजी अस्पताल गएर डायलाइसिस गर्दा लाग्ने रगत र औषधिको खर्च धान्न मुस्किल परेको समस्या उनले सुनाइन् । ‘प्रत्यारोपणका लागि मिर्गौला पाइएला कि भन्ने आस त अब छैन, तर उपचारमै आर्थिक अभाव छ,’ उनले भनिन्, ‘यहाँ (राष्ट्रिय मिर्गौला उपचार केन्द्र) राति खुल्दैन, त्यसैले कहिलेकाहीँ निकै गाह्रो भएका वेला सुमेरु अस्पताल जानुपर्छ । तर, खर्च जुटाउन समस्या परिरहेको छ ।’ 

हप्तामा दुईपटक डायलाइसिस गराउँदै आएका चन्द्रबहादुर घर्तीलाई उठ्न–बस्नै अर्काको सहारा चाहिन्छ । दुई वर्षयता थला परेका घर्तीको सहयोगका लागि श्रीमती दुर्गा मगर उनीसँगै बस्दै आएकी छिन् । श्रीमान्को उपचारका लागि दाङ तुल्सीपुरमा रहेको १० कट्ठा जमिन र घर बेचेको बताउँछिन् उनी । भन्छिन्, ‘जमिन बेचेको पैसा उपचारमै सकियो । खर्च जुटाउन नसकेपछि सानो छोरालाई छोरीको जिम्मा लगाएका छौँ । कोरोना आउनुभन्दा अगाडि अर्काको घरमा काम गर्थेँ, अहिले त काम पनि पाएको छैन ।’

धादिङकी टीकाकुमारी गुरुङ त मिर्गौलाको उपचारका लागि परिवारबाट छुट्टिएर वनस्थलीको टहरोमा बस्न थालेको चार वर्ष पुग्यो । कोठामा एक्लै बस्दा उनलाई हरेक रात स्वास्थ्य बिग्रिने हो कि भन्ने चिन्ताले सताउँछ । ‘कुनै दिन त बिहान उठ्दा मरेको अवस्थामा भेट्छन् कि भन्ने डर लाग्छ,’ उनले पीडा पोखिन्, ‘घरमा साना बच्चाहरू छोडेर आएकी छु, घर गएँ भने बिरामी हुन्छु र अस्पताल आउन भ्याइँदैन भन्ने डरले बच्चाहरू भेट्न जान पाएकी छैन ।’

एकै टहरोमुनि रहेका हरेक बिरामी र तिनका परिवारको आफ्नै व्यथा छ । रातको समयमा समस्या परेमा अस्पताल जान सजिलोका लागि अस्पतालनजिकै बसेका उनीहरू सबैलाई खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । हप्तामा दुईदेखि तीनपटकसम्म डायलाइसिस गर्नुपर्छ । बीचबीचमा देखिने स्वास्थ्य समस्याका कारण उनीहरू काम गर्न पनि सक्दैनन् । वर्षौँसम्मको उपचारमा अधिकांशले घरखेत बेचिसकेका छन्, अब ऋण नलिएका आफन्त पनि बाँकी छैनन् । पसलेहरूले उधारो दिन छाडिसकेका छन् । कसैले प्रत्यारोपणका लागि मिर्गौला पाएर पनि अप्रेसनका लागि लाग्ने खर्च जुटाउन सकेका छैनन्, कसैले मिर्गौलादाता नै भेटेका छैनन् । यी बिरामीको दुःखमा सरकारको उपस्थिति छैन । 

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका मिर्गौलापीडित पनि अस्पतालनजिकै भाडाका घरमा समूहमा बस्दै आएका छन् । कामदार भिसामा दुबई जाँदा मिर्गौला फेल भएर फर्केका श्यामनारायण श्रेष्ठ भन्छन्, ‘बाँचुन्जेलसम्म उपचार नै गर्नुपर्छ, काम गर्न शरीरले धान्दैन । सरकारले बाँचुन्जेलसम्म अस्पतालनजिक बस्ने टहरा मात्रै बनाइदियो भने धेरै राहत हुन्थ्यो । हामीसँग अब रगतका लागि समेत खर्च छैन ।’ आठ वर्षदेखि प्रत्यारोपणका लागि कुरिरहेका श्रेष्ठको मिर्गौला क्रसम्याच नमिल्दा शल्यक्रिया हुन सकेको छैन । अधिकांश समय अस्पतालको बेडमा समय बिताउनुपर्ने बाध्यतामा रहेका उनी सरकारले बाँच्नका लागि भए पनि भत्ताको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् । मिर्गौलापीडितका लागि सरकारले ०७४ पुसमै पाँच हजार भत्ता दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सुझावित समाचार