नौ क्यासिनोलाई लाइसेन्स

चालू आर्थिक वर्ष ०७८/७९ मा मात्रै आठवटा क्यासिनोले लाइसेन्स पाएका छन्, जसमध्ये दुईवटा ठूला क्यासिनो र ६ वटा मिनी क्यासिनो हुन्

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

कोभिड–१९ महामारीकै बीच नौवटा कम्पनीले क्यासिनो सञ्चालन गर्न अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा ठूला र सातवटा साना क्यासिनोलाई इजाजत दिएको हो । यससँगै देशभरि क्यासिनो सञ्चालन गर्न इजाजत पाउने कम्पनीको संख्या २४ पुगेको छ ।

चालू आर्थिक वर्षमा मात्रै पर्यटन मन्त्रालयले आठवटा क्यासिनोलाई लाइसेन्स वितरण गरेको छ, जसमध्ये दुईवटा ठूला रहेका छन् । एउटा क्यासिनोलाई पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका वेला प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले स्वीकृति दिएका हुन् । सातवटा क्यासिनोलाई २२ असोज ०७८ मा पर्यटनमन्त्री नियुक्ति भएपछि प्रेमबहादुर आलेले लाइसेन्स दिएका हुन् । 

क्यासिनो नियमावली, २०७० अनुसार फुल क्यासिनो सञ्चालनका लागि कम्तीमा पाँचतारे होटेल वा सोसरहको डिलक्स रिसोर्टको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति चाहिन्छ । तर, आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेल (मिनी क्यासिना)को हकमा कम्तीमा चारतारे होटेल सञ्चालकको लिखित सहमति चाहिने उल्लेख छ । कोभिड महामारीले पर्यटन उद्योग धरमराए पनि देशभर होटेल र क्यासिनो सञ्चालनको लहर चलेको छ । यही वेला दर्जनभन्दा बढी तारे होटेल निर्माणाधीन अवस्थामा रहेका छन्, जुन होटेलमा क्यासिनो पनि सञ्चालन गर्ने लक्ष्य छ ।

पर्यटन मन्त्रालयले कोभिडपछि बाँकेको नेपालगन्जमा मात्रै क्यासिनो सञ्चालन गर्न चारवटा कम्पनीलाई लाइसेन्स दिएको छ । ९ कात्तिकमा नेपालगन्जको होटेल स्नेहमा क्यासिनो सञ्चालन गर्न ‘बेलिज इन्टरटेनमेन्ट’ले लाइसेन्स पाएको छ । नेपालगन्जकै होटेल स्टारलाइटमा क्यासिनो सञ्चालन गर्न ‘भेन्यु रिक्रिएसन’ले १२ कात्तिकमा लाइसेन्स दिइएको छ । नेपालगन्जकै होटेल सिटी प्यालेसको क्यासिनो ‘सोपियर इन्टरटेनमेन्ट टेक्नोलोजी’ले १४ पुसमा लाइसेन्स पाएको छ । १६ पुसमा नेपालगन्जकै कल्पतरु होटेलमा क्यासिनो सञ्चालन गर्न ‘ओम क्रयम्बकम् इन्टरटेनमेन्ट’लाई लाइसेन्स दिइएको छ । 

यो अवधिमा भैरहवामा क्यासिनो सञ्चालनका लागि दुईवटा कम्पनीलाई लाइसेन्स दिइएको छ । निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालिलाई भैरहवाको होटेल निर्वाणमा र १६ असोजमा सिद्धार्थ गेमिङ जोन प्रालिलाई भैरहवाकै होटेल नान्समा क्यासिनो सञ्चालनका लागि इजाजत दिइएको छ ।कात्तिक २ गते झापाको मेची नगरस्थित होटेल मेची क्राउनमा क्यासिनो सञ्चालनका लागि भेगास रिक्रिएसनले लाइसेन्स पाएको छ । यो अवैध सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका बलराम सापकोटा (बले)को क्यासिनो हो । यस्तै, १३ माघमा होटेल अलफ्टमा क्यासिनो सञ्चालन गर्न वाल्डो डाइनेस्टीलाई अनुमति दिएको पर्यटन विभागले जनाएको छ । सबैभन्दा पछि गोल्डेन फिंगर गेमिङ जोनलाई वीरगन्जको हिमाल वाटर पार्क एन्ड भिलेज होटेलमा क्यासिनो सञ्चालनका लागि इजाजत दिइएको छ ।

कोभिडअघि १९ पुस ०७६ मा डेल्टइनले नक्सालको म्यारियट होटेलमा क्यासिनो सञ्चालन गर्न इजाजत पाएको थियो भने ३० भदौ ०७६ मा इम्पेरियल इन्टरटेनमेन्टले नेपालगन्जको सोल्टी वेस्टेन्डमा र ११ मंसिर ०७६ मा ज्याकपेट गेमिङले भैरहवाको होटेल भ्यूमा क्यासिनो सञ्चालन गर्न इजाजतपत्र पाएका थिए । यीमध्ये म्यारियट र सोल्टीमा पूर्ण क्षमताको ठूलो र होटेल भ्यूमा मिनी क्यासिनो सञ्चालनमा आएका छन् । तीनवटै क्यासिनोले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईका पालामा लाइसेन्स पाएका हुन् ।

कोभिडपछि लाइसेन्स पाउनेमा भेगास रिक्रिएसन (होटेल मेची क्राउन, झापा) र वाल्डो डाइनेस्टी (होटेल अलफ्ट, ठमेल) ठूला क्यासिनो कम्पनी हुन् भने बाँकी सबै आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेल (मिनी क्यासिनो) हुन् । अहिले देशभर पूर्ण क्षमताका ठूला क्यासिनोको संख्या १२ रहेको छ, जुन पाँचतारे होटेलमा मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।  दुईवटा ठूला क्यासिनो उपत्यकाबाहिर नेपालगन्जको सोल्टी वेस्टेन्ड र भैरहवाको टाइगर प्यालेस रिसोर्टमा सञ्चालनमा छन् । बाँकी, १० वटा ठूला क्यासिनो काठमाडौं उपत्यकाभित्र रहेका पाँचतारे होटेलमा सञ्चालनमा छन् ।

सुझावित समाचार