गाईघाट बजारमा जडान गरिएका सिसिक्यामेरा मर्मत नहुँदा प्रयोगविहीन

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा आपराधिक गतिविधिप्रति निगरानीका लागि जडान गरिएका सिसिक्यामेरा मर्मत–सम्भार नहुँदा प्रयोगविहीन भएका छन् । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा गाईघाट बजार क्षेत्र र आसपासमा हुन सक्ने आपराधिक गतिविधि निगरानीको उद्देश्यले सिसिक्यामेरा जडान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेदप्रसाद गौतमले मर्मतकै अभावमा बजार क्षेत्रमा जडान गरिएका सिसिक्यामेरा अभावमा प्रयोगविहीन भएकाले शान्ति सुरक्षामा समस्या आइपरेको बताए । ‘सडक मर्मत गर्ने क्रममा पोलहरू सार्दा झिकिएका सिसिक्यामेराहरू अझै जडान भएको छैन, बिग्रेको ठाउँमा पनि अझै नबनाइएकाले नागरिकको सुरक्षाका लागि समस्या छ ।

हामी स्थानीय तहलगायतसँग समन्वय गरिरहेका छौँ,’ उनले भने । ०७५ र ०७६ मा गरी ३३ वटा सिसिक्यामेरा जडान गरिएको थियो । त्यसमध्ये हाल सातवटा मात्र चालू अवस्थामा छन् । बाँकी सबै बिग्रेका छन् । दुई आर्थिक वर्षमा त्रियुगा नगरपालिकाको सात लाख ५० हजार, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको दुई लाख ५० हजार गरी कुल १० लाखको लगानीमा सिसिक्यामेरा जडान गरिएको थियो ।

सुझावित समाचार