राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले आफ्नो चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिँदा अर्को खेलमा श्री भगवती क्लबले सामाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले सामाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दा सन्तोष केसीले ३५औँ, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औँ मिनेटमा गोल गरेका थिए । यता समाजिक युथ क्लबका लागि विकास टिटुङले ५०औँ र वसन्तबहादुर रानाले ६०औँ मिनेटमा एक/एक गोल फर्काएका थिए । रोमाञ्चक जितपछि भगवतीले तालिकामा ४ खेलबाट १० अंक जोडेको छ । समान ४ खेलबाट तेस्रो हार भोगेको सामाजिकको १ अंक छ । सामाजिक युथ क्लब तालिकाको पुछारमा छ ।
लिगअन्तर्गत दिनको दोस्रो खेलमा सरस्वतीले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो । सरस्वतीको जितमा अनिस परियार र अर्जुन गुरुङले एक–एक गोल गर्दा खुमलटारका लागि एक मात्र गोल सविन केसीले गरेर अन्तर घटाएका थिए । खुमलटारले २७औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिए पनि कायम राख्न असफल भएको थियो । पहिलो हाफमा पछि परेको सरस्वतीले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै जित उल्टाएको हो । अनिसले ४९औँ मिनेटमा सरस्वतीका लागि पहिलो गोल गर्दा ८५औँ मिनेटमा अर्जुनले टोलीका लागि दोस्रो गोल गर्दै जित निश्चित गरेका थिए ।
यससँगै सरस्वतीले चार खेलमा दोस्रो जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ । सरस्वतीले चार खेलबाट ८ अंक जोडेको छ । यता खुमलटारले भने दोस्रो पराजय भोगेको छ । दुई खेलमा जित हात पारेको खुमलटारकाे ६ अंक छ ।
लिगअन्तर्गत दिनको पहिलो खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ ले पराजित गर्यो । नयाँबस्तीको जितमा सुमन योंग्य, रोशन आङ्देम्बे र सोम थापाले एक–एक गोल गर्दा ब्वाइज युनियनका लागि विनोद राई र दिवस मास्केले एक–एक गोल गरे । जितसँगै नयाँबस्तीले चार खेलबाट ६ अंक जोडेको छ । यता तालिकामा ३ अंक जोडेको ब्वाइज युनियनको चार खेलबाट यो तेस्रो पराजय हो ।
लिगमा शनिबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल बाँसबारी क्लब र मध्यपुर युथ एसोसियसन, दोस्रो खेल वीरगन्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा अन्तिम खेल चर्चब्वाइज युनाइटेड र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।