कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई राहत : पर्यटकीय क्षेत्रमा चौबिसै घन्टा व्यवसाय गर्न दिने गृहको निर्णय

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

पर्यटकीय क्षेत्रमा अब २४सै घन्टा व्यवसाय गर्न पाइने भएको छ । गृह मन्त्रालयले बुधबार यस्तो निर्णय गरी देशभरिका जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गर्दै कार्यान्वयन गर्न भनेको छ । 

फणीन्द्रमणि पोखरेल सहसचिव, गृह मन्त्रालय

सबै जिल्ला प्रशासनलाई हामीले मापदण्ड पालना गरेर २४सै घन्टा सञ्चालन गर्न दिन भनेर परिपत्र गरेका छौँ । यसले पर्यटन क्षेत्रलाई राहत हुन्छ भन्ने हाम्रो विश्वास छ ।

मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा बनेको कार्यदलको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो । पर्यटन क्षेत्रलाई माथि उठाउने उद्देश्यले यस्तो निर्णय गरिएको सहसचिव पोखरेलले बताए । उनका अनुसार २४सै घन्टा व्यवसाय सञ्चालन गर्न विभिन्न मापदण्ड तोकिएका छन् । ‘सबै जिल्ला प्रशासनलाई हामीले मापदण्ड पालना गरेर २४सै घन्टा सञ्चालन गर्न दिन भनेर परिपत्र गरेका छौँ,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रलाई राहत हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ 

पोखरेलका अनुसार देशभरिका सहरी क्षेत्रका पर्यटकीय गन्तव्यलाई लक्षित गरी यस्तो निर्णय गरिएको हो । काठमाडौंका ठमेल तथा दरबारमार्ग, कास्कीको पोखरालगायतका ठाउँमा तत्कालै २४सै घन्टा व्यवसाय खुलाउन लागिएको हो । अन्य सम्भावित क्षेत्रमा पनि जिल्ला प्रशासनसँग समन्वय गरी २४सै घन्टा व्यवसाय गर्न सकिने पोखरेलले बताए । 

व्यवसाय गर्ने ठाउँभित्रको सम्पूर्ण सुरक्षा व्यवस्था सञ्चालकले नै हेर्नुपर्ने, सिसिक्यामेरा जडान गर्नुपर्ने, कोरोना प्रोटोकल लागू हुनुपर्ने, दुई सिफ्टमा व्यवसाय सञ्चालन गर्न सक्ने गरी जनशक्ति व्यवस्थापन गर्नुपर्नेलगायतका प्रावधान मापदण्डमा राखिएको छ । डिस्को, रेस्टुरेन्ट, डान्सबार, होटेल, दोहोरी साँझलगायतलाई केन्द्रित गरी मापदण्ड बनाइएको हो । 

एक प्रहरी अधिकारी भने यसका लागि प्रहरीलाई थप जनशक्ति र स्रोतसाधन आवश्यक हुने बताउँछन् । ‘अहिले नै जनशक्ति कम छन्, अब रातभरि ती क्षेत्रमा ड्युटी गर्नुपर्ने भएपछि थप प्रहरी आवश्यक हुन्छ,’ ती अधिकारी भन्छन्, ‘जनशक्ति र स्रोतसाधनको व्यवस्था गरेर मात्र यस्तो निर्णय गरेको भए कार्यान्वयन सहज हुन्थ्यो ।’ 

पर्यटकीय क्षेत्रहरू २४सै घन्टा खुलाउन पटक–पटक पहल हुँदै आएको थियो । तर, सुरक्षा दिन नसकिने भन्दै कार्यान्वयन हुन सकेको थिएन । जसकारण काठमाडौंमा कतिपयले अदालतमा मुद्दा हालेर बिहान २ बजेसम्म सञ्चालन गर्ने अनुमित लिएर व्यवसाय गर्दै आएका थिए । 

सरकारले राम्रो निर्णय गरेको छ : विनायक शाह, वरिष्ठ उपाध्यक्ष होटेल संघ नेपाल
पर्यटकको गुनासो हुने गर्थ्यो– नेपालमा रात्रिकालीन गतिविधि भएनन्, चाँडै बन्द भयो भनेर । ठमेल पनि चाँडै सुनसान हुन्थ्यो । सरकारले राम्रो निर्णय गरेको छ । व्यवसायीले पनि व्यवस्थित ढंगले आफ्नो व्यवसाय गर्नुपर्छ ।

रात्रिकालीन व्यवसाय देशभर चौबिसै घन्टा खुल्दा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ । पर्यटक रातभर निष्फिक्री रमाउन पाउनेछन् । विदेशतिर पनि रात्रिकालीन व्यवसाय रातभरि नै खुल्ने गर्छ । व्यवसायीले मर्यादित ढंगले रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्छ, यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।
 
सरकारको यो निर्णयले पर्यटन व्यवसायले फस्टाउने मौका पाउनेछ : रविन श्रेष्ठ, सञ्चालक एलओडी क्लब, ठमेल
भर्खर पर्यटकीय सिजन पनि सुरु हुँदै छ । कोभिड महामारी पनि हराउँदै गइरहेको छ । कोभिडपछि पर्यटन क्षेत्र रिबाउन्स हुन खोजिरहेका वेलामा सरकारले चौबिसै घन्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेर धेरै राम्रो गरेको छ ।

कोभिडमा सबैभन्दा बढी मारमा रात्रिकालीन व्यवसाय नै परेका थिए । अब यो व्यवसायले पनि फस्टाउने मौका पाउनेछ । नेपाल घुम्न आउने पर्यटकले आफ्नो तरिकाले रमाइलो गर्न पाउने भए । समयको परिधिभित्र बस्नुपरेन । आन्तरिक तथा बाह्य सबै पर्यटकलाई राम्रो भयो ।

यस्तो छ मापदण्ड

  • व्यवसाय गर्ने ठाउँभित्रको सम्पूर्ण सुरक्षा व्यवस्था सञ्चालकले नै हेर्नुपर्ने
  •  सिसिक्यामेरा जडान गर्नुपर्ने
  •  कोरोना प्रोटोकल लागू हुनुपर्ने
  •  दुई सिफ्टमा व्यवसाय सञ्चालन गर्न सक्ने गरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने

सुझावित समाचार