रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेकाे जनाइएको छ। रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकले सोमबार युक्रेनका पाँचसदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुस पुगेका बताएको छ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बिहान छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए। टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए।
रुसले आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन्। संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय युएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन्।
स्थिति थप खराब बनेको खण्डमा युएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ। पोल्यान्ड, रोमानिया, हंगेरी र माल्दोभामा युक्रेनी नागरिकले शरण लिएकाे प्रारम्भिक सूचना छ। रासस/सिन्ह्वा