३२ वटा पोखरीको संरक्षण गर्दै भक्तपुर नगरपालिका

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

वेलावेलामा हुने विभिन्न प्राकृतिक विपत्ति टार्न भक्तपुर नगरपालिकाले नगरभित्रको पोखरी संरक्षण थालेको छ । नगरपालिकाले नगरभित्र रहेका ३२ वटा पोखरीमध्ये केही संरक्षण गरिसकेको छ । केहीको संरक्षण अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । भक्तपुरभित्र रहेको रानीपोखरी, भाजुपोखरी, सिद्धपोखरी, ठूलो ब्यासी पोखरीलगायत संरक्षण गरिसकेको छ । भूमाफियाले अतिक्रमण गरेर खेतमा परिणत गरेको कमलपोखरीलाई नगरपालिकामातहत ल्याएर पहिलाजस्तै बनाएर संरक्षण थालेको छ । नगरपालिकाअन्तर्गत सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठका अनुसार जनप्रतिनिधि निर्वाचित भएर आउनेबित्तिकै पोखरी संरक्षण गर्ने नीतिअनुसार नै पोखरी संरक्षण गर्न लागिएको हो ।

उनले पोखरीका कारण आगलागीबाट मानवीय क्षति हुन जोगिएको भन्दै विभिन्न खालका प्राकृतिक विपत्ति टार्नसमेत पोखरीले सहयोग गर्ने बताए । ‘पोखरीको महत्व धेरै नै छ । यसले वातावरणलाई सन्तुलनमा राख्छ । पोखरी नभएको ठाउँमा धेरै गर्मी हुन्छ । भक्तपुरमा अन्यत्रभन्दा शीतल हुन्छ,’ श्रेष्ठले भने, ‘आगलागी भयो भने पानीको स्रोतको रूपमा यहाँ नदी, खोला नजिक छैन । टाढाबाट ल्याउन गाह्रो हुन्छ । पाइपलाइनको समस्या हुन्छ । पोखरी भयो भने त्यस्ता विपत्तिबाट हुने जोखिमलाई कम गर्ने भयो ।’

नगरपालिकाभित्र रानी पुखु अर्थात् पोखरी, सिद्धि पुखु, भाज्या पुखु, न पुखु, काल ढचा, टेखा पुखु, भन (भन्दारखाल) पुखु, नाग पुखु, मंगल कुण्ड, देगमना पुखु, लैंको पुखु, मेलुखेल पुखु, कुमारी पुखु, ब्यासी–१ पुखु, ब्यासी–२ पुखुको संरक्षण गरेर पहिलाकै अवस्थामा फर्काइएको छ । यसैगरी, भोलाछें पुखु, क्वाठण्डौ पुखु, अंचा पुखु, नाग पुखु, बेखाल पुखु, याता पुखु, कमल पुखु, लामगाल पुखु, खंचा पुखु, चोर्चा पुखु, संला गणेश पुखु, जेला पुखु, गोङ्ग पुखु, कमलपोखरी पुखु, च्याम्हासिंह पुखुको पनि संरक्षण गरेर पहिलाकै अवस्थामा ल्याएर संरक्षण गरिरहेको नगरपालिकाले जनाएको छ । योबाहेक सम्पदा शाखाले भक्तपुर दरबार क्षेत्रभित्र रहेका सम्पदाको लगभग पुनर्निर्माण सकेको छ । नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रभित्रका भूकम्पले क्षति पुर्याएका एक सय १६ मठ, मन्दिर, पाटीपौवामध्ये एक सय १५ को पुनर्निर्माण सकिएको हो । 

See More On

सुझावित समाचार