प्रसारण लाइनको पूर्वाधार निर्माण र विद्युत् व्यापार मुख्य एजेन्डा
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालक समितिको (ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी)को नवौँ बैठक ११ र १२ फागुनमा हुने भएको छ । कोभिड संक्रमण पनि घट्दै गएकाले दुई देशबीच भौतिक रूपमै बैठक बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए । यसअघि २०७७ मंसिरमा आठौँ बैठक कोभिडका कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो ।
नवौँ बैठकको एजेन्डामा विद्युत् व्यापार, नेपालमा उत्पादित विद्युत्लाई बंगलादेशसम्मको पहुँच र दुई देशबीच प्रसारण लाइन र विद्युत् आदान–प्रदानका विषय रहने मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका सहसचिव चटौतले भने एजेन्डाका बारेमा प्रारम्भिक छलफल भए पनि अन्तिम नभइसकेको बताए ।
परराष्ट्र र अन्य सरोकारवाला मन्त्रालयसहित बिहीबार बैठक बसेर एजेन्डालाई अन्तिम रूप दिने मन्त्रालयको तयारी छ । मन्त्रालयको तयारीअनुसार ११ फागुनमा सहसचिवस्तरको र १२ फागुनमा सचिवस्तरीय बैठक बस्नेछ । विशेष गरी, नेपाल भारतबीच प्रसारण लाइन निर्माणको विषयमा छलफल हुनेछ । बुटवल गोरखपुर प्रसारण लाइन, उत्तर प्रदेश जोड्ने नौतनवा प्रसारणलाइन, यसबाहेक दुई देशबीच थप विद्युत् प्रसारण लाइनको संरचना निर्माण गर्नुपर्ने आवश्यकतामा नेपाली पक्षले जोड दिने तयारी छ । यसबाहेक नेपालले भारतलाई बिक्री गर्न प्रस्ताव गरेको विद्युत्का बारेमा पनि छलफल हुनेछ ।
नेपाल–भारत संयुक्त सञ्चालक समितिको आउँदो बैठक चितवनको सौराहामा हुने तय भइसकेको भए पनि अहिले काठमाडौंमा गर्ने तयारी भएको छ । यसअघि सचिव देवेन्द्र कार्कीले २०२१ को डिसेम्बर वा २०२२ को जनवरीसम्ममा बैठक हुने सम्भावना रहेको बताएका थिए । तर, ढिलो गरी फेब्रुअरीमा हुन लागेको हो ।
यसअघि गत मंसिरमा ऊर्जासचिव देवेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय टोलीले भारतीय ऊर्जासचिव आलोक कुमारबीच द्विपक्षीय छलफल गरेको थियो । छलफलको क्रममा नवाँै बैठक चाँडै गर्र्ने विषय छलफल भएको र त्यसका लागि आमन्त्रण गरिएको थियो । नेपाल र भारतका ऊर्जासचिवबीच द्विपक्षीय ऊर्जा सहकार्य वृद्धि गर्नेबारे छलफल भएको थियो ।