नेपालगन्ज उपमहानगरपालिका– १ का २१ वर्षीय हिमाल बुढाको हत्या गरी फरार सोही उपमहानगरपालिका– १० का ३३ वर्षीय सौभाग्य मल्ल ११ वर्षपछि पक्राउ परेका छन्। मल्ललाई शुक्रबार गोरखा नगरपालिका– ६ पाटेचौरबाट पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए।
बुढाको हत्या गरी फरार रहेका उनलाई गोरखामा रहेको मामाघर आएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी दाहालले जानकारी दिए। बाँकेको नेपालगन्जबाट ०६७ माघ ०३ मा बुढालाई मल्लसहितको टोलीले अपहरण गरी फिरौती माग गरेको थियो। तर, रकम प्राप्त नभएपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ। डिएसपी दाहालका अनुसार ०६७ माघ १४ बाँकेको नौबस्ता– ४ स्थित एक स्थानीयको घरमा बुढाको शव फेला परेको थियो।
उनलाई बाँके जिल्ला अदालत र पुनरावेदन अदालतबाट अपहरण गरी कर्तव्यज्यान मुद्दामा दोषी ठहर गरी २९ वर्ष कैद सजाय तोकिएकोमा पछि सर्वोच्च अदालतबाट २० वर्ष कैद कायम भएको थियो।
शुक्रबार गोरखाबाट पक्राउ परेका मल्ल लामो समयदेखि भारतमा लुकिछुपी बस्दै आइरहेका थिए। नेपालमा पनि आफ्नो परिचय परिवर्तन गरी जगदीश सिंहको परिचय बनाई लुकिछुपी बस्दै आएको खुल्न आएको दाहालले बताए। पक्राउ परेका मल्ललाई आवश्यक न्यायिक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरी शनिबार नै बाँकेबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको डिएसपी दाहालले जानकारी दिए।