पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मंसिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार ३० अर्ब रुपैयाँबराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो।

विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न ६ वटा शीर्षकअन्तर्गत उक्त उद्योग दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ। सो क्षेत्रका ३५ उद्योगमा मात्रै १५ अर्ब ९५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो।

यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चारवटा लगानी प्रतिबद्धता आएको छ। प्रतिउद्योगमा १५ करोड रुपैयाँका दरले चार उद्योगमा साठी  करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ। ऊर्जामूलक उद्योगमा नेदरल्यान्डबाट एक उद्योगमा पाँच करोड ६० लाख रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड रुपैयाँ लगानी आएको छ। 

उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा तीन अर्ब २४ करोड रुपैयाँ र पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा नौ अर्ब ५५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ। नयाँ व्यवस्थाअनुसार पाँच करोड रुपैयाँभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन।

विभागले सार्वजनिक गरेको पाँच महिनाको विदेशी लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव चीनबाट आएको पाइएको छ। तथ्यांकअनुसार पाँच महिनामा कुल प्रतिबद्धताको करिब ८० प्रतिशत चीनबाट आएको छ। चीनबाट १०२ उद्योगमा २३ अर्ब ६४ लाख रुपैयाँ बढीको प्रतिबद्धता आएको छ। रासस

सुझावित समाचार