यस सिजनको युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एक–आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियन्स लिग इतिहासमा सोमबार दोस्रोपटक प्रिक्वार्टरफाइनलको ड्र निकाल्दा रियलले पिएसजीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । यसअघि पहिलोपटक ड्र निकालिँदा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्ने तय भएको थियो ।
यो ड्रअनुसार वर्तमान फुटबलकै उत्कृष्ट खेलाडीद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको प्रिक्वार्टरफाइनलमा भिडन्त हुने पक्कापक्की भइसकेको थियो । साथसाथै च्याम्पियन्स लिगको अन्तिम १६ बाट मेसी वा रोनाल्डो बाहिरिने समीकरण बनेको थियो । तर, युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले प्राविधिक कारणले पहिलोपटकको अन्तिम १६ को ड्र गलत भएको जनायो ।
त्यसपछि फेरि सोमबारै दोस्रो ड्र निकालिएको हो । युइएफएले दोस्रोपटक निकालेको ड्रअनुसार च्याम्पियन्स लिगको साबिक विजेता चेल्सीले फ्रेन्च क्लब लिलेसँग प्रतिस्पर्धा गर्ने भएको छ । इंग्लिस क्लब लिभरपुलले सिरिए क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै साबिक उपविजेता म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्बनविरुद्ध खेल्नेछ ।
जर्मन क्लब बायर्न म्युनिखले दोस्रोपटकको ड्रमा सहज प्रतिद्वन्द्वी पाएको छ । बायर्नले क्वार्टरफाइनलमा स्थान बनाउन अस्ट्रियाको आरबी साल्जवर्गसँग खेल्नेछ । यसअघिको पहिलोपटकको ड्रमा बायर्नले एट्लेटिको म्याड्रिड प्रतिद्वन्द्वीका रूपमा पाएको थियो । यता इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले भने एट्लेटिको म्याड्रिडविरुद्ध अन्तिम १६ मा भिड्नेछ । युभेन्टसले स्पेनिस क्लब भिल्ला रियलको सामना गर्नेछ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा हुनेछ । दोस्रो लेग ८, ९, १५ र १६ मार्चमा हुने युइएफले जनाएको छ ।