स्मार्ट लाइसेन्सको पर्खाइमा ११ लाख ४० हजार चालक

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

ट्रायल पास गरेका चार लाख ५० हजार, अनलाइन फर्म भरेर ट्रायलको पालो पर्खेर बसेका पाँच लाख, परीक्षणकालीन कार्ड लिएका ४० हजार र कागजी लाइसेन्स नवीकरण गर्ने एक लाख ५० हजार

  •  फ्रान्सदेखि नयाँ १४ लाख स्मार्ट कार्ड आइपुग्यो, तर अझै प्रिन्ट थालिएन 
  •  अहिलेसम्म देशभर २१ लाख स्मार्ट कार्ड प्रिन्ट 
  •  अहिलेसम्म ३२ लाख लाइसेन्स वितरण
  •  देशभर ४४ लाख सवारीसाधन दर्ता 

देशभर विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को पर्खाइमा बस्ने चालकको संख्या ११ लाख ४० हजार पुगेको छ । त्यसमध्ये चार लाख ५० हजार जनाले स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गरिसकेका छन् । त्यसमध्ये दुई लाख ४१ हजार बागमती प्रदेशका मात्र छन् । त्यस्तै, चार लाख ५० हजारजना लाइसेन्स पाउन अनलाइन परीक्षा फाराम बुझाएर बसेका छन् । त्यस्तै, एक लाख ५० हजार पुरानो कागजी लाइसेन्सको म्याद सकिएर नवीकरणसँगै स्मार्ट लाइसेन्स लिन चाहने हुन् । 

तर, यातायात व्यवस्था विभागमा भदौ ०७७ देखि आकस्मिकबाहेक अन्यलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बन्द छ । यो विडम्बना किन भएको छ भने यातायात व्यवस्था विभागको स्टोरमा अहिले १५ हजार मात्र स्मार्ट कार्ड रहेका छन् । आकस्मिकअन्तर्गत सम्बन्धित निकायको सिफारिसमा प्रहरी, सेनाको शान्ति मिसन, कूटनीतिक नियोगका अधिकारी, वैदेशिक रोजगारमा ड्राइभिङ पेसामा जानेहरूका लागि दैनिक औसतमा एक सय १० संख्यामा प्रिन्ट र वितरण गरिन्छ । 

१४ लाख कार्ड डेलिभरी भयो, पुसदेखि प्रिन्ट थाल्ने तयारी 
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार नयाँ १४ लाख स्मार्ट लाइसेन्स कार्ड विभागमा आइसकेको छ । ती कार्ड १६ मसिरमा काठमाडौं ल्याइएको हो । यसअघि साउनमा विभागले एक महिनाभित्र नै उपलब्ध गराउने गरी फ्रेन्च ठेकेदार कम्पनीसँग कुरा भइरहेको जानकारी दिएको थियो । तर, कोभिडका कारण ढिलाइ भएको उनको भनाइ छ ।  

अहिलेको ठेक्का नयाँ कम्पनीसँग भएकाले ल्याएको कार्ड प्रयोग गर्नुअघि गुणस्तर परीक्षण गर्नुपर्नेछ । त्यसैअनुसार अहिले परीक्षण गर्ने काम भइरहेको विभागले जानकारी दिएको छ । ‘पुस पहिलो हप्तादेखि नै प्रिन्ट थाल्ने तयारीमा छौँ,’ उनले भने । यसअघि नयाँ कार्डलाई विभागको प्रिन्टिङ प्रणालीसँग इन्टिग्रेसन गर्ने काम सम्पन्न भइसकेको छ । यसपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत फ्रान्सेली कम्पनी सेल्प (स्मार्ट कार्ड एन्ड सोलुसन)ले स्मार्ट कार्ड उपलब्ध गराउँदै छ । विभागका महानिर्देशक नमराज घिमिरेले परीक्षणपछि तीन सिफ्टमा २४ घन्टा नै कार्ड प्रिन्ट गर्ने र तीन महिनामै प्रिन्ट र वितरण गरिसक्ने योजना रहेको बताए । 

दैनिक ६ देखि आठ हजार प्रिन्ट गर्ने कार्ड प्रिन्टर छन्, तर कार्ड छैनन्
यातायात व्यवस्था विभागसँग दुई वर्षअघिसम्म विद्युतीय स्मार्ट लाइसेन्स कार्ड प्रशस्त हुने, तर प्रिन्टरको अभाव हुने गरेको थियो । प्रिन्ट नभएकै कारण उपभोक्ताले दुई वर्षसम्म पालो कुरेर बस्नुपथ्र्यो । तर, २६ मंसिर ०७६ देखि भने मास प्रिन्टरमार्फत कार्ड प्रिन्ट गर्न थालियो । त्यसपछि बिस्तारै यो समस्या समाधान हुँदै गयो । अहिले  विभागसँग दैनिक ६ देखि आठ लाख कार्ड प्रिन्ट गर्न सक्ने क्षमता छ । अहिले विभागसँग मास प्रिन्टरबाहेक चारवटा साना प्रिन्टर पनि छन् । मास प्रिन्टरले एक घन्टामा चार सय ५० र अन्यले उही समयमा अधिकतम ६० वटा कार्ड प्रिन्ट गर्न सक्छन् । यसअनुसार लगातार आठ घन्टा सबै प्रिन्टर सञ्चालन गर्ने हो भने पाँच हजारदेखि ५५ सय २० स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने क्षमता छ । 

२१ लाख स्मार्ट लाइसेन्स प्रिन्ट    
सरकारले यातायात व्यवस्था विभाग र अन्तर्गतका कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण सुरु भएपछि अहिलेसम्म नवीकरण र नयाँ गरी २१ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरिसकेको छ । प्रिन्ट गरेका सबै कार्ड देशका २४ वटा कार्यालयबाट वितरण भइरहेको छ । सरकारले १४ मंसिर ०७२ देखि स्मार्ट कार्ड वितरण थालेको हो । विभागका अनुसार देशभर कति कागजी लाइसेन्स वितरण गरिएको छ, तथ्यांक छैन । तर, अहिलेसम्म कागजी र स्मार्ट गरी अन्दाजी ३२ लाख लाइसेन्स वितरण भएका छन् । पछिल्लो विवरणअनुसार देशमा अहिले ४४ लाख तीन हजार पाँच सय २९ वटा सवारीसाधन दर्ता छन् । 

स्मार्ट लाइसेन्स वितरण ढिलाइको कारण : दुई कम्पनीको टकराव
स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ हुनुमा कोभिड–१९ लाई दोष दिइए पनि भित्री कारण अर्कै छ । यातायात व्यवस्था विभागको व्यवस्थापन यसमा जिम्मेवार देखिन्छ । सबैभन्दा पहिलो विषय समयमा ठेक्का भएन । कार्ड बाँकी हुँदै ठेक्का लगाएको भए यस्तो यो समस्या नआउन सक्थ्यो । 

त्योभन्दा पनि ठूलो समस्या विद्युतीय स्मार्ट लाइसेन्सको काम गर्ने विश्वस्तरीय दुई कम्पनीको प्रतिस्पर्धा र एकले अर्कोलाई गरेको असहयोगले नेपाली चालकहरू पीडित भएको देखिन्छ । पछिल्लो (०७७ मंसिर) ठेक्का फ्रान्सेली कम्पनी सेल्पले पाएपछि ढिलाइ झन् बढ्न थाल्यो ।  

पछिल्लो ठेक्कामा बाहेक यसअघि नेपालले आह्वान गरेका स्मार्ट कार्डका सबै ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले पाउने गरेको थियो । त्यसैअनुसार स्मार्ट लाइसेन्सका लागि विभागमा भारतीय कम्पनीकै जिम्मामा उसकै स्मार्ट कार्ड, सफ्टवेयर, प्रिन्टर र प्रिन्टरसँग कार्डलाई इडिएल, भिआरएस सिस्टम जडान भएको थियो । तर, पछिल्लो स्मार्ट लाइसेन्सको ठेक्का फ्रान्सेली कम्पनीले पाएपछि प्रणाली एउटाको भयो, त्यसमा प्रयोग हुने कार्ड अर्को कम्पनीको । 

यसपछि फ्रान्सेली कम्पनीले तयार गरेको कार्ड भारतीय कम्पनीको प्रणालीसँग ‘इन्टिगे्रसन र कम्प्याक्टिबल’ बनाउनुपर्ने अवस्था सिर्जना भयो । त्यसरी प्रणालीसँग कम्प्याक्टिबल बनाउने कामलाई ‘पर्सनलाइजेसन’ भनिन्छ । त्यसपछि भारतीय कम्पनी र फ्रान्सेली कम्पनीबीच यो काम कसले गर्ने भन्ने विवाद सुरु भयो । जबकि विभागले ठेक्का निकाल्दा पर्सनलाइजेसन गर्ने विषयमा कुनै विचार नै नगरेको देखियो । ‘यहाँ विभाग चुकेको हो,’ महानिर्देशक घिमिरेले भने ।   

यो विवाद किन पनि सुरु भयो भने ठेक्का मद्रास कम्पनीको भन्दा न्यून मूल्यमा फ्रान्सेली कम्पनीले पाएको थियो । त्यही कम्पनीलाई सहयोग गर्न भारतीय कम्पनी चाहँदैनथ्यो । यसले नेपालमा स्मार्ट लाइसेन्स र त्यसको प्रणालीको सञ्चालनबाट पनि मद्रास कम्पनी बाहिरिनुपर्ने अवस्थामा पुगेको थियो । त्यसपछि ०७७ मंसिरमा ठेक्का लागेको १४ लाख कार्ड सप्लाइए एकाएक रोकियो ।  मद्रास कम्पनीले पनि आफूले ठेक्का नपाएको रिस पोख्न फ्रान्सेली कम्पनीले तयार गर्ने स्मार्ट कार्ड इन्टिग्रेसन गर्ने काममा ढिलाइ गरिदियो । त्यति मात्र होइन, फ्रान्सेली कम्पनीले दिएको कार्डको केही फिचर संशोधन र थप गर्नुपर्ने भयो । यसले गर्दा पनि समय लाग्यो । 

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार प्रणाली (प्रिन्टर र सफ्टवेयर)मा फ्रान्सेली कम्पनीको स्मार्ट कार्डलाई कम्याक्टिबल बनाउन देखिएको समस्या पहिचान गर्ने र समस्या समाधान गर्र्ने क्रम थालियो । दुई कम्पनीबीच समन्वय गरेर विभागले अहिले मद्रास सेक्युरिटीले प्रिन्टरमार्फत सफ्टवेयर पर्सनलाइजेसन गर्ने काम सकेको छ । त्यसलाई सफ्टवेयरमा अपलोड गर्ने काम पनि भइसकेको र फ्रान्सेली कम्पनीले तयार गरेको नयाँ कार्डलाई परीक्षण गर्ने काम लगभग सकिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । 

बागमती प्रदेश सरकार छिटो स्मार्ट लाइसेन्स वितरण गर्ने तयारीमा 
बागमती प्रदेश सरकारले स्मार्ट लाइसेन्स वितरणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जतिसक्दो छिटो लाइसेन्स वितरणको आवश्यक व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । लाइसेन्स पर्खेर बस्नेमा बागमती प्रदेशका अत्यधिक छन् । ट्रायल पास गरेकालाई छिटो लाइसेन्स उपलब्ध गराउने र अनलाइन फर्म भरेर ट्रायलको पालो पर्खेर बसेकाको हकमा ट्रायल दिने ठाउँको संख्या वृद्धि गरेर काम गर्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिएको सचिवालयले जानकारी दिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले पनि संघीय व्यवस्थाअनुसार स्मार्ट लाइसेन्स प्रिन्ट र वितरणको काम प्रदेश सरकारअन्तर्गत हुने भएकाले क्रमशः उसैले जिम्मा लिनुपर्ने बताए । 

प्रक्रिया पुर्‍याएका सबैले तीन महिनाभित्र लाइसेन्स पाउँछन्  : राजेन्द्र पाण्डे, मुख्यमन्त्री, बागमती प्रदेश 

तपाईंले तीन महिनाभित्र लाइसेन्सको समस्या समाधान गर्छु भन्नुभएछ । कसरी सम्भव होला ? 
शुक्रबार मात्र यस विषयमा हेटौँडामा प्रारम्भिक बैठक बस्यो । तीन वर्ष हुँदासम्म पनि लाइसेन्स नपाउने अवस्था छ । अब तीन महिनामा प्रक्रिया पुर्‍याएका सबैले लाइसेन्स पाउँछन् । प्रदेश सरकारका सबै मन्त्रालय, सडक विभाग, प्रहरीलगायत सबैको उपस्थितिमा यसलाई छिटो बनाउन केही मेसिन, केही जनशक्ति हुनेबित्तिकै छिटो बनाउन सकिन्छ भन्ने निष्कर्ष निस्किएको छ । त्यसैअनुसार समाधान गर्छौँ । अब एक हप्ताभित्र नै दोस्रो बैठक बसेर थप गर्नुपर्ने काम निश्चित गरिनेछ । 

स्मार्ट लाइसेन्स संघीय सरकारले प्रिन्ट गरेर दिएपछि मात्र प्रदेशले वितरण गर्न सक्छ । यो समग्र प्रणालीलाई नै कसरी द्रुततर बनाउनुहुन्छ ? 
संघीय सरकारअन्तर्गत यातायात व्यवस्था विभागले कार्ड प्रिन्ट गरेर पठाउने र प्रदेशले वितरण गर्ने काम भइरहेको छ । तर, स्मार्ट लाइसेन्स वितरणका लागि ट्रायल लिने, परीक्षा लिने, जाँच गर्ने सम्पूर्ण काम प्रदेशअन्तर्गत छ । यसकारण प्रदेशको आफ्नो काम समयमा नै सकेर बसेपछि संघले ढिला गर्न नै पाएन नि । नयाँ प्रणाली स्थापना गर्नेभन्दा पनि भएकोलाई द्रुततर कार्यान्वयनमा लैजानेछु ।

पाँच लाख मानिसहरू अनलाइनबाट फर्म भरेर ट्रायलको पालो पर्खेर बसेका छन् । त्यसमध्ये सबैभन्दा धेरै बागमतीका छन् । छिटो पालो आउन अहिलेको व्यवस्थाले सम्भव छैन । यसमा के योजना छ ? 
धादिङ, रसुवा र नुवाकोटलाई समेटेर एउटा, चितवनमा एउटा र काठमाडौं, भक्तपुर र ललितपुरलाई आवश्यकता हेरेर तीनवटा ट्रायल सेन्टर थप्ने योजना छ । आवश्यकता हेरेर एक महिनाभित्र करिब २० वटा ट्रायल सेन्टर थप्छु । प्रदेश सरकारलाई कुनै समस्या छैन ।
  
तीन महिनामै सक्नुहोला त ?
म गरेर देखाउँछु । केही दिनभित्रै यसको थप प्रक्रिया कहाँ पुग्यो, के–कति प्रगति भयो भनेर तपाईंलाई फेरि बोलाउँछु । 

सुझावित समाचार