कोठामा भेन्टिलेसन नहुँदा जीवन समाप्त

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

सहरी क्षेत्रमै लाखौँ–करोडौँ खर्चेर बनाइएका अधिकांश पक्की घरमा भेन्टिलेसन छैनन्, देख्दा सानो लाग्ने संरचनागत त्रुटिले ठूलो मानवीय क्षति पुर्‍याइरहेको छ

सहरी क्षेत्रमै लाखौँ–करोडौँ खर्चेर बनाइएका अधिकांश पक्की घरमा भेन्टिलेसन छैनन् । देख्दा सानो लाग्ने संरचनागत त्रुटिले ठूलो मानवीय क्षति निम्त्याउने गरेको छ । प्रहरी तथ्यांकअनुसार हरेक जाडो मौसममा कोठामा हिटर, कोइला बालेर सुत्दा अक्सिजन कम भएर बर्सेनि १० देखि १५ व्यक्तिको मृत्यु हुने गरेको छ । प्रहरीमा नआएका यस्ता घटना अझ धेरै छन् । खासगरी सहरी क्षेत्रकै घरका भेन्टिलेसन नभएका कोठामा नै ती दुर्घटना भएको तथ्यांकले देखाउँछ । आगो बालेपछि तातो र सुरक्षाका लागि झ्यालढोका बन्द गरे पनि भेन्टिलेसन भएको कोठा भए निसास्सिएर ज्यान जाने खतरा कम हुन्छ । तर, भेन्टिलेसन नभएको कोठामा झ्यालढोका बन्द गर्दा अक्सिजनको कमीले मानवीय क्षति हुन्छ । 

पछिल्लो समय घर निर्माणको इन्जिनियरिङमै त्रुटि भएकाले यस्ता घटना बढेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । ‘पहिला घर निर्माण गर्दा झ्यालढोका मात्रै होइन, छानाको ठीक तल ‘पिजन होल’ (परेवा आउजाउ गर्न सक्ने प्वाल) राखिएका हुन्थे । घरको चारैतर्फ टुँडाल राखिन्थ्यो । जहाँबाट हावा सजिलै वारपार हुन्थ्यो । घरभित्र २४सै घन्टा आगो बाले पनि निसास्सिएर कोही मर्दैनथे,’ मरासिनी भन्छन्, ‘अचेल आधुनिकताका नाममा सकेसम्म हावा नछिरोस् भनेर घर निर्माण गरिएका छन् । भेन्टिलेसन नै हुँदैन । यस्ता कोठामा झ्याल, ढोका बन्द गरी आगो बालेर सुत्दा अक्सिजन कम भएर ज्यान जान्छ । त्यसैले भवन विभागले प्रत्येक घरमा भेन्टिलेसन हुनैपर्ने नियम लागू गर्नुपर्छ ।’

झ्यालढोका बन्द गरेर हिटर, गुइँठा, दाउरा, कोइला बाल्दा कोठाको तल्लो तहको अक्सिजन तातेर सिलिङतिर जान्छ । तलको खाली ठाउँमा कार्बनडाइअक्साइड भरिन्छ । अक्सिजन कम भएपछि निसास्सिएर ज्यान जान्छ । सहरी क्षेत्रमा मात्रै होइन, भूकम्पपछि त गाउँमा पुनर्निर्माण गरिएका घर पनि भेन्टिलेसनविनाका छन् । यो गम्भीर पाटोमा चासो नदिने हो भने निसास्सिएर मर्नेको संख्या प्रत्येक वर्ष बढ्दै जान्छ ।

प्रहरी तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा देशभर कोठामा निसास्सिएर ३८ जनाको मृत्यु भएको छ । भेन्टिलेसन नभएका होटेल र बाथरुममा पनि केहीको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । भेन्टिलेसन नभएका कोठामा आगो बाल्दा झ्यालढोका पूरै नलगाउन उनको सुझाव छ । झ्यालढोका लगाउनैपर्ने भए केहीबेर कोठा तातो बनाएर आगो बाहिर राख्न पनि उनले आग्रह गरेका छन् । स्थानीय तहसँग समन्वय गरेर यस्तो सन्देश सर्वसाधारणसम्म पुर्‍याउन मातहतका सबै प्रहरी युनिटलाई निर्देशन भएको पनि उनले बताए । 

राज्यले झ्यालढोका बन्द गरेर कोठामा आगो नबाल्न अनुरोध गर्ने गरेको छ । तर, अन्य बाहिरी सुरक्षाका कारण पनि झ्यालढोका बन्द गर्नुपर्ने बाध्यतालाई नजरअन्दाज गर्दै राज्यले प्रत्येक घरका हरेक कोठामा अनिवार्य भेन्टिलेसन राख्नुपर्ने सचेतानातर्फ कुनै ध्यान दिएको देखिँदैन । 

कोठामा भेन्टिलेसन नहुँदा जसले अनाहकमा ज्यान गुमाए
- पाँच दिनकी सुत्केरी श्रीमती र शिशुलाई न्यानो गराउन दोलखाको तामाकोसी गाउँपालिका– २ झुलेका २७ वर्षीय श्याम तामाङले कोठाभित्रै कराइमा दाउरा बाले । भुंग्रो बनेपछि झ्यालढोका बन्द गरे । त्यसपछि खाना खाएर सुते । भोलिपल्ट अबेरसम्म ढोका नखुलेपछि छिमेकीले प्रहरी बोलाए । ढोका फोडेर हेर्दा तीनैजना मृत भेटिए । कोइलासहितको कराइ कोठामा भेटिएकाले आगो बाल्दा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको अनुसन्धानमा खटिएका डिएसपी भेषराज रिजालले बताए । उनका अनुसार कोठामा हावा आउजाउ हुने भेन्टिलेसन थिएन । घटनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । 

- काठमाडौं गोकर्णेश्वर– २ नयाँ पाटी बस्ने ३२ वर्षीय डोचे शेर्पाले गत वर्ष मंसिर दोस्रो साता सुत्केरी श्रीमती र महिना दिनकी छोरीलाई न्यानो बनाउन कोठाबाहिर मकलमा आगो सल्काए । धुवाँ आउन छाडेपछि कोठाभित्र मकल लगेर छोरीलाई सेकाए । कोठा अझै न्यानो नभएपछि हिटर पनि बाले । झ्यालढोका बन्द गरेर न्यानो कोठामा सुते । भोलिपल्ट बिहान उनीहरू ब्युँझिएनन् । हावा आसपास नहुँदा अक्सिजनको कमी भएर उनीहरू तीनैजनाको ज्यान गयो । 

- काठमाडौं कीर्तिपुर– ८ सुन्दरबस्तीमा डेरा गरेर बस्ने धादिङ नौबिसे– ९ रूपाकोटका ४५ वर्षीय नवराज रञ्जितकारले ३० मंसिर ०७६ मा दुई महिनाकी सुत्केरी श्रीमतीलाई न्यानो बनाउन कोठाभित्र कोइला बाले । कोठा अझ न्यानो बनाउन झ्यालढोका बन्द गरे । हावा चल्ने भेन्टिलेसन नभएको कोठामा रातभर निसास्सिएर उनीहरूको ज्यान गयो । 

- गत वर्ष २६ फागुनको साँझ बैतडी शिवनाथ गाउँपालिका– ३ पुडिलका ३५ वर्षीय राजसिंह साउदले कोठा तालो बनाउन हिटर बाले । झ्यालढोका पनि बन्द गरे । ओछ्यानमा पल्टिएका उनी मस्त निदाए, तर भोलिपल्ट ब्युँझेनन् । छिमेकी र प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत भेटिए । त्यही कोठामा सुतेकी भतिजी २० वर्षीया सरिता बेहोस अवस्थामा भेटिइन् । कोठामा भेन्टिलेसन नहुँदा अक्सिजनको कमी भएर साउदको मृत्यु भएको प्रहरीले निष्कर्ष निकाल्यो । 

- ७ माघ ०७६ मा मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा निसास्सिएर आठजना भारतीय पर्यटकको मृत्यु भयो । केरलाबाट आएका उनीहरू ग्यासहिटर बालेर झ्यालढोका बन्द गरी सुतेका थिए । पर्यटन विभागले तोकेबमोजिम मापदण्डको नभएको भन्दै छानबिन समितिको सिफारिसमा सरकारले तीन महिनाका लागि रिसोर्टलाई निलम्बन गरेको थियो । 

- ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टेल बस्ने पर्सा जगन्नाथपुर– ४ की १९ वर्षीया जेनेथ चौहान १९ पुस ०७६ मा नुहाउन बाथरुम छिरिन् । तातोपानीका लागि ग्यासगिजर खोलिन् । बाथरुमको ढोका बन्द गरिन् । तातोपानीले बाथटब भरिन् र नुहाउन थालिन् । तर, उनी पनि बाथरुमबाट बाहिर निस्किन सकिनन् । निसास्सिएर उनको त्यहीँ ज्यान गयो । 

पाँच वर्षमा ३८ जनाले ज्यान गुमाए

प्रहरी तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा देशभर कोठामा निसास्सिएर ३८ जनाको मृत्यु भएको छ । भेन्टिलेसन नभएका होटेल र बाथरुममा पनि केहीको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । भेन्टिलेसन नभएका कोठामा आगो बाल्दा झ्यालढोका पूरै नलगाउन उनको सुझाव छ । झ्यालढोका लगाउनैपर्ने भए केहीबेर कोठा तातो बनाएर आगो बाहिर राख्न पनि उनले आग्रह गरेका छन् । स्थानीय तहसँग समन्वय गरेर यस्तो सन्देश सर्वसाधारणसम्म पुर्‍याउन मातहतका सबै प्रहरी युनिटलाई निर्देशन भएको पनि उनले बताए । 

इन्जिनियरिङमै त्रुटि छ, प्रत्येक घरमा भेन्टिलेसन हुनैपर्ने नियम लागू गर्नुपर्छ  : डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद्

पहिला घर निर्माण गर्दा झ्यालढोका मात्रै होइन, छानाको ठीक तल ‘पिजन होल’ (परेवा आउजाउ गर्न सक्ने प्वाल) राखिएका हुन्थे । घरको चारैतर्फ टुँडाल राखिन्थ्यो । जहाँबाट हावा सजिलै वारपार हुन्थ्यो ।

घरभित्र २४सै घन्टा आगो बाले पनि निसास्सिएर कोही मर्दैनथे । अचेल आधुनिकताका नाममा सकेसम्म हावा नछिरोस् भनेर घर निर्माण गरिएका छन् । भेन्टिलेसन नै हुँदैन । सहरी क्षेत्रमा मात्रै होइन, भूकम्पपछि त गाउँमा पुनर्निर्माण गरिएका घर पनि भेन्टिलेसनविनाका छन् ।

यस्ता कोठामा झ्यालढोका बन्द गरी आगो बालेर सुत्दा अक्सिजन कम भएर ज्यान जान्छ । यो गम्भीर पाटोमा चासो नदिने हो भने निसास्सिएर मर्नेको संख्या प्रत्येक वर्ष बढ्दै जान्छ । त्यसैले भवन विभागले प्रत्येक घरमा भेन्टिलेसन हुनैपर्ने नियम लागू गर्नुपर्छ । 

सुझावित समाचार