साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५४औँ वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । साधारणसभाले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले कर्पोरेसनले तयार पारेको ५४औँ वार्षिक प्रतिवेदनका साथै २०७७ साल आषाढ मसान्तसम्मको कर्पोरेसनको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेसनले गरेको विभिन्न क्रियाकलापका बारेमा छलफल एवं समीक्षा गरी अनुमोदन गरेको जनाइएको छ ।
कर्पोरेसनको नुन, रासायनिक मललगायत व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको जनाइएको छ । अघिल्लो आवमा उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरूको सरल र सहज आपूर्ति गरी नौ अर्ब ७४ करोड रुपैयाँ कारोबार गरेको जनाइएको छ । कर्पोरेसनको कुल मुनाफा एक अर्ब सात करोड रुपैयाँ रहेको छ ।
कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले कोभिड–१९ को कठिन संक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजारसमेत यथावत् नै रहेको कठिन परिस्थितिमा पनि कर्पोरेसनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्याउँदै आफ्नो कारोेबारमा सकारात्मक सुधार गरेको बताए । लकडाउनमा समेत कर्पोरेसनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रूपमा होस् भन्ने हेतुले आफ्ना बिक्री कक्षमार्फत आमउपभोक्ताको घरदैलोसम्म सेवा पुर्याउँदै आएको उनको भनाइ थियो ।