मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। कारोबार अवधिभर लगानीकर्ताको नाफा बुक गर्ने होडबीच अन्त्यमा बजार सकारात्मक रहेर बन्द भएको हो। आज नेप्से सूचक २३.७६ अंकले बढेर दुई हजार आठ सय ४३.६२ बिन्दुमा पुगेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २.४८ अंकले बढेको छ।
यस दिन कारोबारमा आएका १३ समूहको सूचकमध्ये हाइड्रोपावर, फाइनान्स, जीवन बिमालगायत समूहको सूचक सकारात्मक बनेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही गिरावट आएको छ। सोमबार सात अर्बको कारोबार भएकोमा आज ६ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ। बैंकको यस दिन ४६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसैगरी दोस्रो कारोबार हुने कम्पनीमा कामना सेवा विकास बैंक रहेको छ। बैंकको सो दिन २२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्स, नबिल बैंक, लुम्बिनी विकास बैंकको २१ करोडदेखि २० करोड रुपैयाँसम्मको कारोबार भएको छ।
आज साहस ऊर्जा, गुडविल फाइनान्स, नेपाल रिइन्स्योरेन्स, कालिका पावर कम्पनी र रिडी हाइड्रोपावर कम्पनीको सेयर आठदेखि १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ।