नेप्से सूचक ५५ अंकले बढेर २८ सयको बिन्दुमा

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

सेयर बजार दुई हजार आठ सय ३७ बिन्दुसम्म पुगेको छ। आइतबार ५५ दशमलव ५० अंकले बढेर नेप्से सो  बिन्दुमा पुगेको हो। अघिल्लो साताबाट बढेको नेप्सेले २५ सयको बिन्दुबाट उकालो यात्रा तय गरेको छ।  सेयर खरिद बिक्री रकम पनि सकारात्मक रूपले बढेको छ।

धितोपत्र  र ऋणपत्र गरी कारोबारमा आएका  दुई सय ३२ कम्पनीको एक करोड ३८ लाख कित्ता सेयर खरिद बिक्री हुँदा सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार हुन पुगेको छ। निरन्तर सेयर बढेकाले नाफा बुक गर्ने लगानीकर्ताको संख्यामा पनि कमी आएको छ।  आइतबारको मितिसम्म १५ वटा वाणिज्य बैंकहरूले  लाभांश घोषणा गरेका छन् भने अझै कम्पनीहरूले एकपछि अर्को गर्दै लाभांश घोषणा गरिरहेका छन्।

यस दिन सर्वाधिक कारोबार आँखु खोला जलविद्युत् कम्पनीको भएको छ। कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने दोस्रो कारोबार  हुने कम्पनीमा नबिल बैंक रहेको छ। बैंकको २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। आज ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४६ अंकले बढेर पाँच सय ३० दशमलव ४६ बिन्दुमा पुगेको छ।

कारोबारमा आएका वाणिज्य बैंक समूहको सूचकबाहेक अन्य १२ वटा  समूहको सूचक सकारात्मक बनेको छ। सर्वाधिक  बढ्ने कम्पनीमा विकास बैंक, हाइड्रोपावर, होटेल तथा पर्यटन र फाइनान्स समूह रहेको छ। धेरैजसो कम्पनीहरूको सूचक बढ्दा आठवटा कम्पनीको सेयर मूल्य सर्किट मूल्यमा कारोबार भएको छ। युनाइटेड इस्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर  कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस ऊर्जा  लिमिटेड, रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको  १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो।

आइतबार एभरेस्ट बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ। बैंकले १० प्रतिशत लाभांश घोषण गरे पनि लगानीकर्ताहरूले उक्त लाभांशप्रति चित्त बुझाएको देखिएन । बैंकको  सेयर मूल्य यस दिन ६ प्रतिशतले घटेको छ।

सुझावित समाचार