विमान थप्ने प्रतिस्पर्धामा वायुसेवा कम्पनीहरू

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण
  • कोभिड महामारीकै बीचमा बुद्ध, यती र सौर्यले नयाँ जहाज थपिसकेका छन्, बुद्ध, यती र श्रीका नयाँ जहाजहरू ल्याउने तयारी 
  • नौवटा आन्तरिक वायुसेवाले विभिन्न गन्तव्यमा उडान गर्दै आइरहेका छन्

कोभिड–१९ का कारण भएको लकडाउन तथा लकडाउन केही खुकुलो भइसक्दा पनि हवाई यात्रामा लागेको प्रतिबन्धका कारण धराशायी हुने चिन्ता पालेर बसेका वायुसेवा सञ्चालकहरू पछिल्लो समय फुरुङ्ङ छन् । सरकारले आन्तरिक उडान खुला गर्नेबित्तिकै सबै जहाजहरू दुईतर्फी भरिभराउ यात्रु बोकेर उडिरहेका छन् । 

कोभिड महामारीका बीचमा जहाजबाट यात्रा गर्ने आन्तरिक यात्रुहरूको संख्या उल्लेख्य बढेको छ । सुरक्षित, सजिलो र छिटो यात्रा हुने भएकैले पनि हवाई यात्रु बढेको वायुसेवा कम्पनीहरू बताउँछन् । सडकको नाजुक अवस्थाले पनि यात्रुलाई महँगो टिकट काटेर हवाई यात्रा रोज्न बाध्य बनाएको छ ।

अहिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससहित नौवटा आन्तरिक वायुसेवाले विभिन्न गन्तव्यमा उडान गर्दै आइरहेका छन् । नेपाल एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयर, सौर्य एयर, गुण एयर, सीता एयर, तारा एयर र समिट एयरले आन्तरिक हवाई सेवा दिइरहेका छन् । बुद्ध, यती, श्री, सौर्य र गुणले सुगम (टंक) रुटमा उडान गरिरहेका छन् भने सीता, तारा, समिट एयरले दुर्गम (स्टल) रुटमा उडान गर्दै आइरहेका छन् । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका लागि दुईवटा एमए ६०, चारवटा वाई १२ ई जहाज र दुईवटा ट्विनअटर जहाज रहे पनि सञ्चालनमा भने दुईवटा ट्विनअटर मात्र छन् । निगमले ६ वटा चिनियाँ जहाजको उडान बन्द गरेको छ ।

निषेधाज्ञा खुल्नेबित्तिकै हवाई यात्रुहरू बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू नयाँ जहाज थप्ने प्रतिस्पर्धामा उत्रिएका छन् । लकडाउन र निषेधाज्ञाले संकटमा परेका वायुसेवा कम्पनीहरू अवस्था सहज हुँदै गएसँगै हवाई यात्रुहरू पनि बढेपछि उत्साहित भएका हुन् । कोभिड महामारीकै बीचमा बुद्ध, यती र सौर्यले नयाँ जहाज थपिसकेका छन् । आन्तरिक उडानमा वर्चस्व राखिरहेका बुद्ध, यती र श्रीका अझै नयाँ जहाजहरू आउँदै छन् । 

बुद्ध एयरको एटिआर ७२ जहाज सन् २०१९ कै डिसेम्बरभित्र आउँदै छ । नयाँ जहाज ल्याउन सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी गराए । नयाँ जहाज आएपछि बुद्धसँग एटिआर ७२ जहाज ११ पुग्नेछन् । यस्तै, तीनवटा एटिआर ४२ र दुईवटा बिचक्राफ्ट जहाज पनि बुद्धसँग छन् । 

यती एयरले पनि एटिआर ७२ जहाज ल्याउँदै छ । अहिले यतीले पाँचवटा एटिआर ७२ जहाजबाट उडान गरिरहेको छ । यतीले आफूसँग भएका पाँचवटा साना जहाज गुण एयरलाइन्सलाई बिक्री गरिसकेको छ । पछिल्लो समय यती एयरलाइन्सले ठूला जहाजको हवाई सेवालाई प्राथमिकता दिइरहेको छ । यस्तै, श्री एयरले ८० सिट क्षमताका दुईवटा क्यू फोर हन्ड्रेड जहाज थप्ने तयारीमा छ । जहाज थप्नका लागि श्रीले नियामक निकायबाट स्वीकृति पाइसकेको छ । ‘हामीले जहाज किन्ने प्रक्रिया अगाडि बढाइसकेका छौँ, सम्भवतः तिहारको आसपासमा नयाँ जहाज आउँछन्,’ श्रीका प्रवक्ता अनिल मानन्धरले भने, ‘नयाँ जहाज आएपछि उडान थपिनेछन् ।’ अहिले श्रीसँग ६ वटा जहाजले यात्रुलाई हवाई सेवा दिइरहेको उनको भनाइ छ । हालै मात्र गुण एयरलाइन्सले आन्तरिक उडान सुरु गरेको छ । 

गुणले आठ वर्षपछि आफ्नो नियमित उडान सुरु गरेको हो । पहिलो उठान काठमाडौंबाट पोखरा र भरतपुर गरेको गुणले असोज २३ देखि ३० सिट क्षमताको जेटस्ट्रिज जहाजमार्फत काठमाडौं–नेपालगन्ज नियमित उडान सुरु गरेको छ । गुणले काठमाडौंबाट भरतपुर, पोखरा, तुम्लिङटार र भैरहवा उडान सुरु गरिसकेको छ । तत्कालै सिमरा, सुर्खेत, जनकपुर र विराटनगर पनि उडान गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आन्तरिक उडानमा आक्रामक बनेको गुणले दुई वर्षभित्र दुईवटा ट्विनअटर सिरिजका जहाज थपेर नौ जहाजमार्फत सेवा दिने व्यावसायिक योजना बनाएको छ । 

कुन कम्पनीसँग कति जहाज ? कहाँ–कहाँ उडान ?
आन्तरिक उडानमा सबैभन्दा अग्रणी बुद्ध एयर हो, जससँग १५ वटा जहाज रहेका छन् । बुद्धसँग १० वटा एटिआर ७२, तीनवटा एटिआर ४२ र दुईवटा बिचक्राफ्ट जहाज छन् । बुद्धले बिचक्राफ्ट जहाजमार्फत पोखरालाई बेस बनाएर सिमरा, भरतपुर, भैरहवा, नेपालगन्जमा दैनिक उडान गरिरहेको छ । प्रवक्ता दीपेन्द्र कर्णका अनुसार अन्तरप्रादेशिक उडानमा पनि फुल अकुपेन्सी रहेको छ । बुद्धले निकट भविष्यमा पोखराबाट पूर्वी नेपालमा पनि उडान गर्ने तयारी गरिरहेको छ ।

यती एयरलाइन्ससँग पाँचवटा एटिआर जहाज रहेका छन् । यतीले आफ्ना पाँचवटा साना जहाज भने गुणलाई बिक्री गरिसकेको छ । यस्तै, श्री एयरसँग ८० सिटका दुईवटा, ७० सिटका दुईवटा र ५० सिटका दुईवटा जहाज छन् । सौर्य एयरलाइन्ससँग ५० सिट क्षमताका तीनवटा जहाज पुगिसकेका छन् । दुर्गम गन्तव्यमा उडान गरिरहेको सीता एयरसँग चार, तारासँग चार र समिटसँग पाँचवटा जहाज छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका लागि दुईवटा एमए ६०, चारवटा वाई १२ ई जहाज र दुईवटा ट्विनअटर जहाज रहे पनि सञ्चालनमा भने दुईवटा ट्विनअटर मात्र छन् । निगमले ६ वटा चिनियाँ जहाजको उडान बन्द गरेको छ ।  

अहिले बुद्धले १३ गन्तव्यमा उडान गर्दै आइरहेको छ । श्रीले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज र धनगढी उडान गर्दै आइरहेको छ । सीताले लुक्ला, तुम्लिङटार, पोखरा, नेपालगन्ज, सुर्खेत, सिमिकोट, रारा, जुम्ला, बाजुरा, डोल्पालगायत गन्तव्यमा उडान गर्छ । यतीले काठमाडौंबाट पोखरा, भैरहवा, जनकपुर, भरतपुर, नेपालगन्ज, तुम्लिङटार, भद्रपुर, विराटनगरमा उडान गर्दै आइरहेको छ ।

ताराले काठमाडौं, पोखरा र नेपालगन्जलाई बेस बनाएर मुगु, जोमसोम, फाप्लु, लुक्ला, हुम्ला, रामेछाप, जुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यमा उडान गर्दै आइरहेको छ । समिट एयरले काठमाडौं, पोखरा र नेपालगन्जलाई बेस बनाएर लुक्ला, जोमसोम, डोल्पा, रारा, सिमिकोट, रामेछाप, फाप्लुमा उडान गर्छ । सौर्य एयरले पनि सुगम गन्तव्यमा उडान गर्दै आइरहेको छ ।

सुझावित समाचार