जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज मंगलबारदेखि कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन थालेको छ। साउनदेखि असोज महिनासम्म एस्ट्राजेनेका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए। उनका अनुसार काठमाडौं जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो।
काठमाडौं महानगरपालिकाको वडाबाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइनेछ। करिब ८६ हजार एक सय ४२ जनालाई यस चरणमा खोप प्रदान गर्न थालिएको हो।