सेयर बजार बढे पनि कारोबार रकम अझै बढ्न सकेन

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले  बढ्दो ब्याजदरलाई रोक लगाइदिएपछि  आइतबार सेयर बजार  सकारात्मक  बनेको छ।   लगानीकर्ताहरू अझै प्यानिक अवस्था रहँदा बढेको बजारमा  नाफा बुक गर्ने प्रतिस्पर्धाले  सेयर खरिद–बिक्रीमा कमी आएको हो।  लगानीकर्ताहरू अबको  बजार कता  जान्छ भनेर  मूल्यांकन  गर्नका लागि अझै  केही दिनको कारोबारलाई पनि  हेर्नुपर्ने बताउँछन्।   केही दिन बजार सकारात्मक हुन सकेमा नाफा बुक गर्ने प्रतिस्पर्धा कम हुनेछ जसको कारण सेयर खरिद–बिक्रीमा सुधार आउने र बजारकाे गति पनि स्पष्ट हुने  केही ठूला लगानीकर्ताहरू बताउँछन्।  

आइतबार कारोबारमा आएका दुई सय २५ कम्पनीको  ५८ लाख कित्ता ( इकाइ) सेयर खरिद बिक्री हुँदा दुई अर्ब ७७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  सर्वाधिक कारोबार हुने कम्पनीमा आइसिएफसी फाइनान्स  कम्पनी रहेको छ।  कम्पनीको सो दिन १५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबारमा रहेर एनआइसी एसिया बैंक रहेको छ।  बैंकको सो दिन नाै करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।  अरुण भ्याली हाइड्रो पावर कम्पनी, युनाइटेड मोदी हाइड्रो पावर, नबिल बैंक,अपि पावर कम्पनी, सिद्धार्थ बैंक लिमिटेडको रिद्धि हाइड्रो पावर कम्पनीको आठ करोडदेखि ६ करोड  रुपैयाँसम्मको कारोबार भएको छ। 

साताको पहिलो कारोबार नेप्से सूचक २७ दशमलव ५१ अंकले बढेर दुई   हजार पाँच सय ८४ दशमलव ५२ बिन्दुमा पुगेर  बन्द भएको छ।   त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स सात दशमलव २४ अंकले बढेर चार सय ९० दशमलव ६८ बिन्दुमा पुगेर बन्द भएको छ। बढेको बजारमा दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ।  बेस्ट फाइनान्स कम्पनी, रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीको  १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ।  बरुण हाइड्रो पावर कम्पनी, रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रो पावर, मानुषी  लघुवित्त वित्तीय संस्थाको  आठ प्रतिशतले बढेर यी कम्पनीका लगानीकर्ताहरूले नाफा आर्जन गर्न सफल  भएका छन्।   त्यस्तै, मेरो माइक्रो फाइनान्सको १० प्रतिशतले घटेको छ भने सानिमा बैंक, रुरु जलविद्युत् परियोजनाको तीन प्रतिशतले गिरावट आएको छ।  

सुझावित समाचार