नयाँ पत्रिकाकर्मी मञ्जु टेलर पुरस्कृत भएकी छिन्। विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उनलाई पुरस्कृत गरिएको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले उनलाई खादासहित सम्मानपत्र र पुरस्कारबापतको पाँच हजार राशि प्रदान गरे। मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान र मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रले आयोजना गरेको ‘असमान विश्वमा मानसिक स्वास्थ्य विषयक अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा’ मा उक्त पुरस्कार प्रदान गरिएको हो।
पत्रकारिताको माध्यमबाट मानसिक स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानबापत उनलाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा टेलरसहित प्राध्यापक डा. अजय रिसाल, प्राडा उषकिरण सुब्बा, डा. जिबी सुनुवारसहितलाई सम्मानित गरिएको थियो। जनप्रतिनिधि तथा पत्रकारिता क्षेत्रबाट पनि विभिन्न व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो। मानसिक रोग ‘सर्भाइबर’का साथै मानसिक स्वास्थ्यका क्षेत्रमा योगदान दिएको भन्दै विभिन्न क्षेत्रमा संलग्नलाई आयोजकले सम्मानित गरेका थिए।