बजारमा दसैँको रौनक

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण
बजारमा दसैँको रौनक

बिहीबार राजधानीको असनबजारमा देखिएको भिड । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

अघिल्लो सालको दसैँ–तिहारमा कोरोना महामारीको उच्च संक्रमणका कारण आर्थिक गतिविधिहरू सुस्त बने । यो वर्ष दसैँका वेला बजारमा स्वाभाविक चहलपहल भएको छ । लत्ताकपडा र खाद्यान्नदेखि बस र हवाई कम्पनीहरूसमेत दसैँको चहलपहलले लाभान्वित बनेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बिक्री गर्ने खसी–बोका काठमाडौं ल्याएको छ । कम्पनीका सहायक महाप्रबन्धक श्रीमणि खनालका अनुसार बिहीबार साँझ दाङबाट एक ट्रक (एक सय ९० वटा) खसी–बोका ल्याइएको हो । ‘दाङबाट कुल आठ सय खसी–बोका खरिद भएका छन् । त्यसमध्ये पहिलो खेप आएको हो । अब क्रमशः आउन थाल्छन्,’ उनले भने । त्यस्तै, मकवानपुरबाट एक हजार दुई सय खसी–बोका खरिद गरेको र शुक्रबार बिहानबाट आउन सुरु हुने उनले बताए ।

खाद्यले शुक्रबारबाट खसी–बोका बिक्री थाल्ने योजना बनाएको थियो, तर मूल्य निर्धारण गर्न ढिलाइ भएकाले शनिबारबाट बिक्री गर्ने तयारी छ । खाद्य कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा मूल्य निर्धारण गर्नेछ । बिहीबार कलंकीस्थित खसी बजारमा जिउँदो खसी–बोकाको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो आसपासमा खरिद–बिक्री भएको छ । खाद्यले यही मूल्यलाई आधार मानेर मूल्य निर्धारण गर्ने तयारी गरेको छ ।

खाद्यले दाङका किसानबाट प्रतिकिलो पाँच सय ४५ देखि पाँच सय ६५ रुपैयाँ प्रतिकिलोका दरले खसी–बोका खरिद गरेको छ । त्यस्तै, मकवानपुरबाट पाँच सय ७० रुपैयाँ प्रतिकिलोसम्ममा खरिद गरेको खनालले बताए । ‘हाम्रो लागत मूल्यभन्दा माथि र बजार मूल्यभन्दा कम दरमा मूल्य निर्धारण गर्ने योजनामा छौँ,’ उनले भने ।

व्यवसायीले पनि दसैँ नजिकिँदै गरेपछि खसी–बोका आयात बढाएका छन् । सामान्य अवस्थामा हप्तामा दुई दिन (आइतबार र बिहीबार) तीन–चार ट्रकका दरले खसी–बोका ल्याउने गरेकोमा घटस्थापनादेखि नियमित रूपमा ट्रकमा खसी–बोका ल्याउने चौपाया खरिद–बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले बताए । उनका अनुसार यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसी–बोका उपत्यकामा खपत हुने गरी आपूर्तिको तयारी गरिएको छ । यसमध्ये भारतबाट ४० प्रतिशत र स्वदेशी ६० प्रतिशत खसी–बोका उपलब्ध हुनेछन् । व्यवसायीले च्यांग्रासमेत ल्याएका छन् । जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय रुपैयाँसम्म तोकिएको छ ।

न्युरोड क्षेत्रमा भिड, व्यवसायीमा उत्साह
प्रमुख व्यापारिक केन्द्र न्युरोडमा एक सातायता विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको भिड बढेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले पछिल्लो दुई वर्ष किनमेलमा कडाइ गरेका कारण यो वर्ष उपभोक्ता दसैँको भिड अस्वाभाविक रूपमा बढेको हो । भिड बढेर किनमेल बढेपछि व्यवसायीमा उत्साह जागेको छ । न्युरोड क्षेत्रका थोक तथा खुद्रा व्यवसायी दसैँको बाहुल्य रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले चाडपर्वमा किनमेल गर्ने संस्कृति फर्किएको र व्यवसायीमा उत्साह जागेको बताए । ‘यो दुई वर्षमा कोरोनाका कारण व्यवसाय छाडेका धेरै छन् । धैर्य गरेर जो–जो बसेका छौँ, ती सबैमा यो वर्ष उत्साह जागेको छ,’ कटुवालले भने, ‘हामीले पनि सकेसम्म उपभोक्ताले खोजेका हरेक सामान उपलब्ध गराउने प्रयास गरेका छौँ ।’ उनले देशभरका पसल दसैँमा नयाँ उत्पादन खोज्ने उपभोक्तालाई नयाँ सामान नै उपलब्ध गराउने प्रयास भइरहेको बताए ।
 

See More On

सुझावित समाचार