दसैँ नजिक आएपछि आन्तरिक उडानहरू भरिभराउ हुन थालेका छन् । सुगम र दुर्गम गन्तव्यतर्फका उडानमा यात्रु खचाखच रहेको वायुसेवा कम्पनीले बताए । काठमाडौंबाट बाहिर जाने मात्र होइन, काठमाडौं भित्रिने यात्रु पनि उत्तिकै रहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । दसैँ नजिक आएर मात्र होइन, सडकको अवस्था नाजुक भएपछि उडान सुचारु हुनेबित्तिकै आन्तरिक उडानमा करिब ९५ प्रतिशत अकुपेन्सी थियो । दसैँ नजिक आएपछि अहिले फुल अकुपेन्सीमा उडान भइरहेको सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिले बताए । अहिले सुगम गन्तव्यहरूमा ८० सिट, ७२ सिट, ५० सिट, ४२ सिट क्षमताका जहाजले उडान गरिरहेका छन् ।
अहिले नेपालमा बुद्ध एयर, यती एयर, तारा एयर, गुण एयर, समिट एयर, सौर्य एयर र श्री एयरले आन्तरिक उडान गर्दै आइरहेका छन् । पछिल्लो समय आन्तरिक उडानमै ठूला जहाजको संख्या बढेपछि पहिलाजस्तो टिकटको अभाव नहुने बताइन्छ । बुद्ध एयरले अहिले दैनिक ७१ उडान गरिरहेको छ, जुन उडानबाट दैनिक ७५ सयदेखि आठ हजार यात्रु बोकिरहेको प्रवक्ता कर्णले बताए । बुद्ध पोखरालाई बेस बनाएर सिमरा, भैरहवा, भरतपुर र नेपालगन्जमा पनि १८ सिटे जहाजबाट उडान गरिरहेको छ । ती उडान पनि भरिभराउ रहेको उनले बताए । दसैँको सप्तमीदेखि तीन दिनका लागि करिब ७५ देखि ८० प्रतिशत टिकट बुकिङ भएको कर्णले बताए । ‘सबै टिकट बुकिङ भएपछि कुन गन्तव्यमा कति उडान थप्नुपर्छ सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेर उडान थप्नेछौँ,’ उनले भने ।
यती एयरलाइन्समा दसैँको सप्तमी, अष्टमी र नवमीका लागि ९० प्रतिशत टिकट बुकिङ भइसकेको छ । ‘अहिले हामीले दैनिक २४ उडान गरिरहेका छौँ र दैनिक ३२ सयभन्दा बढी यात्रु बोकिरहेका छौँ,’ यतीका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘हामीले अहिले उडान थप्न सक्ने अवस्था छैन, बढीमा एउटासम्म उडान थप्न सकिएला । अहिलेसम्म दुईतर्फी रूपमै यात्रुको चाप रहेकोमा बिस्तारै काठमाडौं आउनेको चाप कम हुन थालेको उनले बताए । अहिले काठमाडौंबाट बाहिर जाने टिकट फुल फेयरका मात्र छन् । यात्रुको चाप घटेपछि बाहिरबाट काठमाडौं फर्किने टिकटको मूल्य सस्तो हुन थालिसकेको छ ।
अहिले श्री एयरलाइन्सले फुल अकुपेन्सीमा दैनिक १६ वटा उडान गरिरहेको छ । दसैँका लागि पनि सप्तमी, अष्टमी र नवमीका लागि टिकट फुल बुकिङ भइसकेको श्रीका प्रवक्ता अनिल मानन्धरले बताए । ‘अहिले नै दसैँका लागि यति नै उडान थप गर्ने भनेर योजना बनिसकेको छैन,’ उनले भने, ‘यात्रुको चाप बढेमा भैरहवा, नेपालगन्ज, विराटनगरलगायत गन्तव्यमा एक–एक उडान थप्न सकिन्छ ।’