धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई हटाउने तयारी

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुअगावै छोरीको नामबाट सेयर खरिद गरिएका कारण निलम्बनमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई सरकारले पदबाट हटाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका प्रवक्ता महेशकुमार आचार्यले बताए ।

‘स्पष्टीकरणमा सरकारलाई चित्त बुझेमा उनले निरन्तरता पाउनेछन् भने नबुझेमा उनी पदमुक्त हुनेछन्,’ प्रवक्ता आचार्यले भने । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष ढुंगानामाथि छानबिनका क्रममा यसअघि नै उनलाई १६ भदौमा निलम्बन गरिएको थियो । बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाका नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए । ढुंगानाका अन्य नातेदारका नाममा पनि सेयर खरिद भएको खुलेको थियो । 

धितोपत्र बोर्डका अध्यक्षको छानबिन न्यायिक समितिबाट हुनुपर्ने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । अर्थ मन्त्रालयले समेत यसअघि छानबिन समिति बनाएर अध्ययन गरिरहेको थियो । पूर्वन्यायाधीशको संयोजकत्वमा बनेको समितिले समेत प्रतिवेदन पेस गरिसकेको छ । 

स्रोतका अनुसार ढुंगानाले सर्वोत्तमको सेयर खरिद गर्नुलाई पदीय दायित्वभन्दा बाहिर गएर गल्ती गरेको प्रतिवेदनले उल्लेख गरेको छ । ढुंगानासँग स्पष्टीकरण सोधिए पनि सरकारले उनलाई हटाउने तयारी गरेको स्रोतले उल्लेख गरेको छ । 

सुझावित समाचार