नबिलद्वारा दिगो बैंकिङका लागि साझेदारी

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

नबिल बैंकले धादिङको गल्छी गाउँपालिकासँग दिगो बैंकिङका लागि साझेदारी गर्ने सम्झौता गरेको छ । बैंकले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको हो ।  

सम्झौतामा बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष  कृष्णहरि श्रेष्ठले हस्ताक्षर  गरेको जनाइएको छ । साझेदारीमार्फत स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम–तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न नियमअनुसार कर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्ता कार्यक्रम–तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने बैंकले जनाएको छ ।

बैंकका बागमती प्रदेश प्रमुख श्रेष्ठले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने अपेक्षा व्यक्त गरेका थिए । वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउँपालिकाको विकासमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए । 

बैंकले असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको थियो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले विपन्न वर्गलाई लक्षात  गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । 

सुझावित समाचार