डोल्पाको स्थानीय धानमा दाना लागेन

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

डोल्पाका दुई स्थानीय तहमा लगाइएको धानबालीमा दाना नलागेपछि कृषकहरू चिन्तित बनेका छन् । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न ठाउँमा लगाइएको धानबाली भित्र्याउने समयमा दाना नभएपछि कृषकहरू चिन्तित बनेका हुन् । परम्परागत रूपमा लगाउँदै आएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको कृषकहरूको भनाइ छ । धानबालीको सम्भावना रहेको ठूलीभेरी नगरपालिका वडा नं ९ मा पर्ने मोतीपुर, डाँगीबाडालगायतका गाउँबस्तीमा लगाइएको स्थानीय जातको धानमा यस्तो समस्या देखिएको मोतीपुरका कृषकको भनाइ छ । वडा नं ३ को दुनैमा खेती गरिएको धानबालीमा पनि यस्तो समस्या देखिएको छ ।

मोतीपुरमा लगाइएको अन्य जातको धान राम्रो भए पनि स्थानीय जातको धानमा भने दाना पनि नलाग्ने र खुम्चिने समस्या देखिएको कृषक गम्मर कठायतले बताइन् । उनले भनिन्, ‘धान लगाउने समयमा एउटै घरको २० देखि २५ हजार खर्च हुन्छ, यसपटक मोतीपुरका झन्डै २० घरधुरीले लगाएको धानमा दाना नै लागेको छैन, कसरी वर्षभरि गुजारा गर्ने भन्ने पिर परेको छ ।’

धान भित्र्याएर नयाँ भात खाने समयमा एउटै घरको चार–पाँच रोपनीमा लगाइएको धानमा दाना नलागेपछि धान काट्नेभन्दा खेतमै आगो लगाएर जलाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । कृषक विजयकुमारी कठायतले २० हजार खर्च गरेर लगाएको ५–६ रोपनी खेतमा लगाइएको धानमा पनि दाना नलाग्ने समस्या देखिएको बताइन् । वर्षभरि के खाने भन्ने चिन्ता बढेको कठायतको दुखेसो छ । 

 त्रिपुरासुन्दरी नगरपालिकामा पनि समस्या
धानको पकेट क्षेत्रका रूपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा पनि धानमा दाना नलाग्ने समस्या देखिएको छ । त्रिपुराकोट, गल्लीलगायतका ठाउँमा लगाइएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको हो । आफूले सातवटा खेतमा लगाएको धानमा बाला नलागेको कृषक यज्ञप्रसाद उपाध्यायले बताए । अघिल्ला वर्षमा राम्रो उत्पादन हुने स्थानीय जातको धान यसपटक भने दाना नलाग्ने रोगले सखाप नै पारेको उनको दुखेसो छ । 

 ब्लास्ट रोग भएको दाबी
डोल्पामा पटक–पटक देखिँदै आएको यो रोग ब्लास्ट रोग भएको कृषि प्राविधिक आदित्य न्यौपानेले जानकारी दिए । उनले भने, ‘यो रोग लागेमा धानमा बाला लाग्दैन, लागेको दाना पनि सुक्ने गर्छ, काट्नै नमिल्ने गरी धान खुम्चिन्छ ।’ यो रोग बिउबाट सर्ने तथा तापक्रम नमिल्दा धानमा यस्तो रोग देखिने न्यौपानेले बताए । 

 पिरमर्का बुझ्न कोही आएनन्
कति क्षेत्रफलमा लगाइएको धानबालीमा दाना नलाग्ने समस्या देखिएको हो, यकिन तथ्यांक संकलन गरिएको छैन । आफूहरूले धानमा देखिएको समस्याका बारेमा जानकारी गराउँदा पनि कृषकको पिरमर्का बुझ्न कुनै निकायबाट प्राविधिकहरू नआएको मोतीपुरका कृषकहरूले गुनासो गरे । सम्बन्धित क्षेत्रमा स्थलगत अनुगमन गरी क्षतिको आधार राहत उपलब्ध गराइदिन कृषि विकास कार्यालय र ठूलीभेरी नगरपालिका कृषि शाखालाई कृषकहरूले आग्रह गरेका छन् ।

धानबालीमा देखिएको समस्याका विषयमा दुनैका कृषकहरू कृषि विकास कार्यालयलाई जानकारी गराएपछि अनुगमन गरेको कार्यालय प्रमुख शरद लामाले जानकारी दिए । दुनैका कृषकले जानकारी गराए पनि अन्य ठाउँका कृषकबाट गुनासो नआएको उनको भनाइ छ । उनले भने, ‘भित्र्याउने समयमा धानमा दाना नलागेको विषयमा कृषकहरूबाट जानकारी पाएका छौँ, अनुगमन गर्दा ब्लास्ट रोगजस्तो देखिएको छ, तर यही नै रोग भनेर यकिन गर्न सकिएको छैन ।’ कति धानबालीमा क्षति भयो, त्यो पनि तथ्यांक निकालिनसकेको उनको भनाइ छ । कृषकले कृषि बिमा गर्न अटेरी गरेको र अहिले कार्यालयसँग पनि रकम नभएकाले राहत तथा क्षतिपूर्तिका लागि तथ्यांक निकालेर संघ प्रदेशमा पठाउने लामाले बताए । 

सुझावित समाचार