राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गर्न रोस्टमबाट आग्रह गरेका हुन् ।
`माननीय सदस्यहरू यहाँहरूले आफ्नो कुरा राखिराख्नुभएको छ । राष्ट्रले र सबैले यो सुनेको पनि छ, ´बैठकको सुरुमा एमाले सांसद कोमल वलीले संसद् चल्न नसक्ने बताएपछि उनले भने, `वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसद्लाई नियमित चल्न दिनु नै उपर्युक्त हुन्छ।´ राष्ट्रिय सभाको आजको बैठकले एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो ।