नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिलाई भेटेर निष्पक्ष चुनाव गराउन ध्यानाकर्षण गराउने भएको छ। पौडेल समूहले केन्द्रीय निर्वाचन समितिलाई भेटेर ध्यानाकर्षण गराउने भएको हो।
पौडेलनिकट केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार उनीहरूले आज बिहीबार दिउँसो २ बजे समितिका सदस्यलाई भेट्न लागेका हुन्। निर्वाचन समितिलाई डडेल्धुरामा पुनः निर्वाचन गराउन, सार्वजनिक भएको क्रियाशील सदस्यतामा देखिएको समस्या र बाँकी निर्वाचनलाई निष्पक्ष बनाउन अनुरोध गर्न लागिएको केसीले नयाँ पत्रिकालाई जानकारी दिए।
‘वरिष्ठ नेता पौडेलको नेतृत्वमा काठमाडौंमा उपलब्ध नेताहरूले समितिका सदस्यलाई भेट्न लागेका हुन्,’ उनले भने, ‘डडेल्धुरा चुनाव हामीले नमान्ने भनिसकेका छौँ। त्यहाँ फेरि चुनाव गराउन र बाँकी ठाउँमा निष्पक्ष चुनाव होस् भन्ने विषयमा ध्यानाकर्षण गराउन लागेका हौँ।’